शिक्षणमा आधुनिक विधि

devi p acharyaडा. देवीप्रसाद आचार्य


सिकाइलाई वातावरणको उपज हो, भनिन्छ । विश्व प्रख्यात वैज्ञानिक आइन्सटाइनले मैले विद्यार्थीलाई पढाउँदिन, केवल पढ्ने वातावरणको सिर्जना गरिदिन्छु भनेका छन् । एकातिर हाम्रो देशको शिक्षा प्रणाली समयसापेक्ष बन्न नसकेको बहस छ भने अर्कोतिर हाम्रा गुरुजनहरू समयअनुसार शिक्षण सीपमा अपडेट हुन नसकेको अवस्था छ । शिक्षकहरू सिङ्गो शैक्षिक नीति र प्रणालीका कार्यान्वयनकर्ता हुन् । यो जनशक्तिले समाजमा भएका सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक, वैज्ञानिक, प्राविधिक, शैक्षणिकलगायतका ज्ञान तथा परिवर्तनसँग जानकारी राख्न सक्ने क्षमता राख्नुपर्छ । गुरुजनहरू समयको गति र आधुनिक शिक्षण विधिसंँग अपडेट हुन नसक्दा हाम्रा शिक्षालयमा गुणस्तरीय शिक्षण हुन नसकेको प्राज्ञिक बुझाई छ ।
हाम्रो देशको शिक्षण शैली परम्परागत प्रवचनमा आधारित न्यारेसन सिक्नेस (वर्णनात्मक शैली)बाट ग्रस्त भएको विज्ञको गुनासो छ । परम्परागत शिक्षण शैलीमा शिक्षण केवल विषयवस्तुको वर्णन गर्ने, कण्ठस्थ गर्न लगाउने, घोकाउने जस्ता विधिबाट प्रभावित हुने भएकोले हाम्रो देशका शिक्षालयमा स्तरीय पठनपाठन हुन नसकेको जानकार बताउँछन् । शिक्षाविद् इग्न्यासियो न्याचोले यदि शिक्षकले पढाएको तरिकाले विद्यार्थीले बुझेनन् भने शिक्षण विधिलाई उनीहरूले बुझ्ने तरिकामा बदल्नुपर्छ भन्ने धारणा राखेका छन् ।
आधुनिक शिक्षण पद्धतिले सहभागितामूलक बालकेन्द्रित शिक्षण सिकाइमा जोड दिन्छ । यस विधिमा शिक्षकले विद्यार्थीको उमेर, पूर्वयोग्यता, अभिरुचि, मनोविज्ञानलगायतका सिकाइलाई प्रभाव पार्ने तŒवको आधारमा शिक्षण गरिन्छ । शिक्षाशास्त्री रोवट फोस्टरका विचारमा शिक्षण आफूमा भएको ज्ञानलाई सिकारुमा स्थानान्तरण गर्ने कला हो । यो कलालाई शिक्षाशास्त्री विलियम अथरले शिक्षणको स्तरको वर्गीकरण गर्दै साधारण शिक्षकले विद्यार्थीलाई विषयवस्तु भन्छन् राम्रा शिक्षकले व्याख्या गर्छन्, उत्कृष्ट शिक्षकले डेमोस्ट्रेट गर्छन् भने महान् शिक्षकले प्रेरित गर्छन् भनेका छन् ।
योग्यशिक्षकले शिक्षार्थीलाई नैतिकवान्, सिर्जनशील, सक्षम, कर्मशील र रचनात्मक बनाउन सक्छन् । विद्वान् हाईम् गिनोटले शिक्षार्थी भिजेको सिमेन्ट जस्ता हुन्छन्, जसलाई कालीगढरूपी शिक्षकले जस्तो बनायो त्यस्तै बन्छन् भनेका छन् । कुमालेले काँचो माटोका भाँडालाई चाहेको आकारप्रकारमा ढालेजस्तै शिक्षकले विद्यार्थीमा भएको आन्तरिक क्षमतालाई उजागर गरी भविष्य निर्माणको बाटोमा हिँडाउन सक्छन् ।
शिक्षकलाई व्यक्ति एक व्यक्तित्व अनेकका रूपमा हेरिन्छ । शिक्षकहरू पे्ररणाका स्रोतव्यक्ति, भविष्यको मार्गदर्शक, नैतिकताको प्रतिमूर्ति र ज्ञानका शोधकर्ता हुन् । शिक्षकमा शिष्ट भाषाशैली, शालीन व्यक्तित्व तथा शिक्षण कलामा निपूर्ण जस्ता गुणहरू अपरिहार्य मानिन्छ । विद्यार्थीको सिकाइ क्षमतामा एकरूपता पाइँदैन । हरेक व्यक्तिको रुचि र प्रतिभा फरक हुने भएकोले व्यक्तिको सिकाइमा भिन्नता हुनु स्वाभाविक ठानिन्छ । यस सन्दर्भमा विविध उमेर, समूह र क्षमताका विद्यार्थीमा ज्ञान स्थानान्तरण गर्नका लागि शिक्षकले आधुनिक शिक्षण विधिलाई प्रयोगमा ल्याउन आवश्यक हुन्छ ।
आजको युगमा सिक्न सिकाउन र बुझ्न बुझाउनका लागि विविध प्रकारका सैद्धान्तिक, मनोवैज्ञानिक तथा प्रयोगात्मक विधि प्रतिपादन भएका छन् । शिक्षाका अग्रदूतले शिक्षण सिकाइका क्षेत्रमा विभिन्न सिद्धान्त र प्रयोग प्रतिपादन गरेका छन् । शिक्षाविद् पेस्तालोजीले सिकारु जबसम्म सिक्ने कुराप्रति जागरुक हुँदैन, तबसम्म सिकाइ सम्भव हुँदैन भनेका छन् । अर्का विद्वान् वान्दुराले शिक्षकहरू शिक्षार्थीका मोडेल हिरो हुने भएकोले उनीहरूको शिक्षण सीपका आधारमा विद्यार्थीले सिकाइको स्तर निर्धारण गर्छन् भनेका छन् । यसैगरी शिक्षा मनोविद् थोर्नडाइककाअनुसार विद्यार्थीहरूले भूल र प्रयत्नका आधारमा सिक्न सक्छन् भन्नेछ । यी विद्वान्का भनाइलाई आधार बनाएर हेर्दा भिन्न क्षमता, रुचि र प्रतिभा भएका विद्यार्थीलाई सिकाउने र सिक्ने विधिमा एकरूपता पाइँदैन । यसर्थ, शिक्षकहरूले विभिन्न उमेर र क्षमताका विद्यार्थी समूहसँग ज्ञान स्थानान्तरण गर्नुपर्ने भएकोले किताबी ज्ञान र परम्परागत शिक्षण शैलीलाई आधुनिक र सहज बनाउनुपर्ने देखिन्छ ।
एकातिर प्रचलनमा रहेका शिक्षणशैली कथाकथन, प्रश्नोत्तर, व्याख्यान, प्रवचन तथा सुगा रटान गराउने शैलीमा आधारित छ भने अर्कोतिर मूल्याङ्कन प्रणाली पाठ्यपुस्तकमा भएको विषयवस्तुलाई कण्ठस्थ गरेर उत्तरपुस्तिकामा लेख्नुपर्ने प्रकारका प्रश्नहरूको उत्तरको आधारमा विद्यार्थीको योग्यता परीक्षा मापन गर्ने र श्रेणी बढाइ उसलाई प्रमाणपत्रधारी बनाउने ढङ्गको भएकोले शिक्षा व्यावहारिक बन्न नसकेको अवस्था छ । त्यसो त कतिपय पुरानो शिक्षण शैलीलाई पूर्ण रूपमा असफल विधि हो भन्दा शैक्षिक न्याय नहुन सक्छ । तथापि, शिक्षण शैली र मूल्याङ्कन प्रणालीमा रूपान्तरण आजको आवश्यकता हो ।
शिक्षणको आधुनिक विधिअन्तर्गत शैक्षिक वातावरण, कक्षाकोठाको उचित व्यवस्थापन, शैक्षणिक सामग्रीको प्रयोग, सरल र अर्थपूर्ण प्रस्तुति, शिक्षक र विद्यार्थीबीचको मैत्रीपूर्ण व्यवहार, विद्यार्थीको पूर्वज्ञानको आधार, उमेर, सिकाइ क्षमता आदिलाई ध्यान दिएको पाइन्छ । आधुनिक शिक्षण विधिले पाठ्यवस्तुका निर्धारित उद्देश्य पूरा गराउनका लागि अभिनय, प्रदर्शन, अन्तरक्रिया, विद्यार्थी सहभागिता, सहपाठी अन्तरक्रियाका साथै प्रविधिमैत्री शिक्षण सिकाइलाई जोड दिन्छ । आधुनिक पठनपाठन विधिमा शिक्षकलाई मोडेल व्यक्तित्वको रूपमा हेरिन्छ । शिक्षकमा आकर्षक व्यक्तित्व, मीठो भाषिक अभिव्यक्ति, स्नेही स्वभाव, उच्च नैतिकता, आत्मविश्वास, नेतृत्व सीप, स्पष्ट वक्ता, सहयोगी, विनयशील, जिज्ञासुका साथै शिक्षण कला जस्ता गुण आवश्यक ठानिन्छ ।
शिक्षक हुन सजिलो होला तर असल शिक्षक बन्न सहज छैन । शिक्षाशास्त्री हेनरी फ्रेड्रिकले उचित सल्लाह दिन सक्ने कला नै उत्तम शिक्षण हो भनेका छन् । यसको अर्थ शिक्षकले विद्यार्थीलाई शिक्षण सिकाइका क्रममा उचित राय, सल्लाह, सुझाव र निर्देशन दिनुपर्छ भन्ने हो । शिक्षकहरू विद्यार्थीका जीवन निर्माणका मार्गदर्शक र ज्ञानआर्जनका माध्यम भएकोले उचित सल्लाह दिन सक्ने क्षमता आवश्यक ठानिन्छ । यसका लागि शिक्षकले देश, काल र परिस्थितिको सुझबुझका साथै स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ज्ञान र परिवर्तित वातावरणसंँग सुसूचीत हुन आवश्यक हुन्छ ।

 प्रकाशित मिति: २०७४/९/२८

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना