‘नेतृत्व तयार भएपछि पार्टी एकता सुरु’

लक्की चौधरी

bamdev gautamकाठमाडौं, पुस २८ गते । नेकपा (एमाले)का कार्यबाहक अध्यक्ष वामदेव गौतमले नेतृत्वकर्ता तयार भएकाले पार्टी एकता हुन लागेको बताउनुभएको छ । अध्यक्ष ओली स्वास्थ्य परीक्षणका लागि बैंकक जानुभएपछि पार्टीको कार्यबाहक अध्यक्षको जिम्मेवारी पाउनुभएका गौतमले विहिबार केही पत्रकारसँग संक्षिप्त कुरा गर्नुहुँदै सो कुरा बताउनुभयो । कम्युनिष्ट पार्टीहरुलाई एक हुन नदिन विगतमा अनेक षडयन्त्र भए पनि त्यो अब त्यस्तो हुन नसक्ने बताउँदै कार्यबाहक अध्यक्ष गौतमले भन्नुभयो, “करिब १३ वर्षको प्रयासपछि परिणाम नजिक पुगेका छौं । ” माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पार्टी एकताको प्रस्ताव राखेपछि उहाँ तयार देखिनुभएपछि एमाले अध्यक्ष ओलीसँग सो प्रस्ताव आफूले राखेको उहाँले खुलासा गर्नुभयो ।
“दुवै अध्यक्षले पार्टी एकताको प्रस्तावमा पछिल्लो समय सकारात्मक भएपछि मेरै प्रस्ताव र प्रयासअनुरुप पार्टी एकताको प्रक्रियाले मूर्तरुप लिने तयारीमा छ । यसलाई कुनै हालतमा पूरा गराएरै छाड्ने मेरो दृढता छ” उहाँले भन्नुभयो ।
दोस्रो जनआन्दोलन २०६२÷०६३ पछि कम्युनिष्ट पार्टी एकताको प्रयास शुरु गरिए पनि राजनीतिक खिचातानी र बदलिदो परिस्थितिले सो एकता प्रक्रियाले गति लिन नसकेको उहाँले स्मरण गर्नुभयो । “२०६३ सालमा अध्यक्ष प्रचण्डसँग तोरीबारीमा भेटभएको थियो । त्यहीबेला पार्टी एकताको प्रस्ताव राखेको थिएँ । उहाँ सकारात्मक देखिनुभएपछि तत्कालिन एमाले महासचिव माधवकुमार नेपालसँग कुरा गरी केन्द्रीय कमिटीबाट पार्टी एकताको प्रस्ताव पारित गराउन लगाएको थिएँ” गौतमले भन्नुभयो । एमाले अध्यक्ष ओली नेतृत्वको सरकार गठन हुँदा अध्यक्ष प्रचण्ड उच्चस्तरीय समितिको संयोजक हुने सहमति गरेर पार्टी एकताको प्रयास गरिएको पनि उहाँले बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds