जोखिमयुक्त बस्ती सार्न सुरु

काठमाडौँ, पुस २८ गते । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सिन्धुपाल्चोक जिल्लाका जोखिमयुक्त बस्ती सार्न सुरु गरेको छ । प्राधिकरणको पहलमा जिल्लामा पहिलो पटक प्रति लाभग्राही दुई लाख रुपियाँ अनुदान दिएर १८ लाभग्राहीले सुरक्षित स्थानमा घडेरी खरिद गरेको कार्यकारी सदस्य ध्रुवप्रसाद शर्माले बताउनुभयो । २०७२ सालको भूकम्पमा सबैभन्दा बढी मानवीय र भौतिक क्षति सिन्धुपाल्चोकमा नै भएको थियो । 

कार्यकारी सदस्य शर्माले भन्नुभयो, ‘जोखिमयुक्त बस्तीका रूपमा पहिचान भएको साबिकको गाती गाविसका १८ घरधुरी परिवारलाई बाह्रबिसे नगरपालिका–३ मा स्थानान्तरण गर्ने प्रयोजनका लागि जग्गा व्यवस्थापन गरिएको हो । ’
सरकारले अनुदानमा दिएको दुई लाख रुपियाँमा लाभग्राहीले रकम थप गरी कम्तीमा साढे दुई आनादेखि ८ आनासम्म घडेरी खरिद गरेका उहाँले बताउनुभयो । सुरक्षित स्थानमा जग्गा खरिद गरेपछि लाभग्राहीले निजी आवास पुनःनिर्माणको लागि पनि थप ३ लाख रुपियाँ पाउने व्यवस्था छ ।
जोखिमयुक्त बस्तीका लाभग्राहीका रूपमा पहिचान भएकाहरूले सरकारी अनुदानमा खरिद गरेको घडेरी १० वर्षसम्म बेचबिखन नगर्न नपाइने र तीन महिनाभित्र भूकम्प प्रतिरोधी मापदण्डअनुसार घर पुनःनिर्माण सरिसक्नुपर्ने शर्तमा जग्गा हस्तान्तरण गरिएको प्राधिरणका सचिव मधुसूदन अधिकारीले बताउनुभयो । प्राधिकरणको पहलमा यसअघि नुवाकोट, धादिङ, रसुवामा पनि जोखिमयुक्त बस्तीका लाभग्राहीलाई सुरक्षित स्थानमा सार्न जग्गा व्यवस्थापन गरिएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds