• १६ चैत २०८०, शुक्रबार

हिमाली जिल्लामा आवासीय विद्यालय आवश्यक

blog

रजनी योगी

सुर्खेत, पुस १७ गते । कर्णालीका हिमाली जिल्लामा मङ्सिरदेखि हिमपात तथा चिसोका कारण पठनपाठन प्रभावित हुन्छ। अत्यधिक हिउँ पर्ने, स्थानीय खेतीपातीमा व्यस्त हुनुपर्ने, जडीबुटी सङ्कलन गर्न जाने, विद्यालय जानुपर्ने बालबालिकालाई खर्क पठाउने तथा अभिभावकमा शिक्षाको कमीजस्ता कारण यो अवधिमा बालबालिका विद्यालयदेखि बाहिर हुन्छन्। 

हुम्ला जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख तिलकप्रसाद भट्टराईले प्रतिकूल मौसमका कारण बालबालिकाले पूरै समय अध्ययन गर्न नपाउने गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “मौसम सुहाउँदो विपत् प्रतिकार्य योजना बनाई घुम्ती विद्यालय सञ्चालन गर्नुपर्ने देखिन्छ। नियमित तथा गुणस्तरीय शिक्षण सिकाइका लागि हिमाली जिल्लामा आवासीय विद्यालय सञ्चालन गर्नु आवश्यक छ।” उहाँले विद्यालयको भौतिक संरचना निर्माण गर्दा उपयुक्त स्थान छनोटमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो। 

उच्च हिमपातका कारण माथिल्लो डोल्पामा छ महिना विद्यालय पूर्ण रूपमा बन्द हुन्छन्। सञ्चारको पहुँच नहुँदा वैकल्पिक शिक्षा शिक्षणको सम्भावना छैन। भौगोलिक कठिनाइका कारण बालबालिका तीन घण्टा पैदल हिँडेर विद्यालय पुग्नुपर्ने बाध्यता छ। हिमाली जिल्लाको भौगोलिक अवस्था अध्ययन गरेर विपत् पूर्वतयारी योजना बनाउनुपर्ने शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख दलबहादुर बस्नेतको सुझाव छ।

दक्ष जनशक्ति अभाव हुँदा गुणस्तरीय शिक्षा हासिल गर्न बालबालिकाले पाएका छैनन्। स्थानीय तहले शिक्षालाई प्राथमिकतामा नराख्नु, अत्यधिक हिउँ परेर चिसो हुनु, भौतिक संरचना कमजोर, सबै विद्यालयमा खानेपानीको असुविधा, पातलो बस्ती, स्थानीय शिक्षा योजना निर्माण नहुनु, स्थानीय पाठ्यक्रम निर्माण नहुनु, सूचना तथा सञ्चारको अभावजस्ता समस्या हिमाली जिल्लाका मुख्य समस्या हुन्।