• ११ वैशाख २०८१, मङ्गलबार

चितवनका होटल भरिभराउ

blog

चितवन समाचारदाता

सौराहा (चितवन), पुस १८ गते  । लामो समयदेखि सुस्ताएको चितवनको पर्यटन क्षेत्र अङ्गे्रजी नयाँ वर्षले जुर्मुराएको छ । पर्यटकको पर्खाइमा रहेका यहाँका होटल शुक्रबारदेखि भरिएका थिए । नयाँ वर्षको अघिल्लो दिन शनिबार पर्यटकीय क्षेत्र सौराहाका होटल आन्तरिक पर्यटकले भरिएका छन् । अन्य दिनको तुलनामा शनिबार यहाँका होटल भरिएको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिनुभयो । कोरोना, आर्थिक मन्दीका कारण सुस्ताएको पर्यटन क्षेत्रमा नयाँ वर्षले राहत दिएको उहाँले बताउनुभयो । शनिबार मात्रै ७० प्रतिशतभन्दा धेरै होटल भरिएको सङ्घले जनाएको छ । नयाँ वर्षको अवसरमा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । 

नयाँ वर्षको दिन परिवारसहित सौराहा घुम्न आएको नारायणगढका स्थानीय खोमकान्त रेग्मीले बताउनुभयो । अन्य दिन कामले व्यस्त भए पनि एक दिन परिवारसँग रमाउने उद्देश्यसहित सौराहा आएको उहाँले जानकारी दिनुभयो । 

चितवन आएका पर्यटकको रोजाइ सौराहा भए पनि जिल्लाका पटिहानी, मेघौलीलगायतका क्षेत्रका होटल पनि भरिएको पर्यटन व्यवसायीले बताएका छन् । पटिहानीस्थित सोल्टी होटलका निर्देशक ऋषि न्यौपानेका अनुसार पूर्वराजा ज्ञानेन्द्र र उहाँको परिवारले एक हप्ताका लागि होटल बुक गर्नु भएकाले अन्यलाई राख्न पाइएको छैन । पटिहानी र मेघौलीका दर्जनभन्दा धेरै होटल नयाँ वर्षमा भरिएको पश्चिम चितवनका पर्यटन व्यवसायीका अध्यक्ष सुबोध प्रधानले बताउनुभयो । पटिहानीदेखि मेघौलीसम्मका  होटल सबै भरिएका थिए । 

सौराहाका होटल व्यवसायी महेश खनालले एक हप्तादेखि आफ्नो होटल पार्क सफारी पर्यटकले भरिएको जानकारी दिनुभयो । सौराहामा आउने पर्यटक जङ्गल सफारीका लागि आउने गर्दछन् ।