• ७ वैशाख २०८१, शुक्रबार

इस्वी नयाँ वर्ष

कन्याम र अन्तु भरिभराउ

blog

प्रेम अधिकारी

पशुपतिनगर (इलाम), पुस १८ गते । इसाको मरणकालपछि चलेको संवत्को नयाँ वर्ष २०२३ मनाउने पर्यटकले इलामका चर्चित पर्यटकीय स्थल कन्याम र अन्तु भरिभराउ भएका छन्। सधैँजसो पर्यटकले भरिभराउ हुने कन्याम र अन्तुमा यो नयाँ वर्ष मनाउन पर्यटक उल्लेखनीय सङ्ख्यामा आउँदा यी दुई पर्यटकीय स्थल भरिभराउ भएका हुन्। यहाँ पर्यटकले होटल तथा होमस्टे अग्रिम बुकिङ गरे। नेपालका विभिन्न जिल्ला र विशेष गरी भारतीय पर्यटकले यस पटक अग्रिम रूपमा होटल, होमस्टे बुकिङ गरे। 

सधैँ भीड हुने यी क्षेत्रमा अङ्ग्रेजी नयाँ वर्षमा पर्यटकको चाप बढ्ने भएर कोठा नपाइने भएपछि पर्यटकले अग्रिम बुकिङ गरेको अन्तुका होमस्टे सञ्चालक रुद्र घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुासर अन्तुका सबैजसो होटल, होमस्टे शुक्रबारदेखि आइतबारका लागि बुकिङ भए। घिमिरेले भन्नुभयो, “अङ्ग्रेजी नयाँ वर्ष मनाउन यस पटक भारतीय पर्यटकको ओइरो लागेको छ।”

भारतको सिक्किम, विहार, सिलीगुडी, दार्जीलिङ र पश्चिम बङ्गालका पर्यटकले होटल अग्रिम बुक गरे। अन्तुमा ६४ भन्दा बढी सामुदायिक र निजी होमस्टे अनि ५० भन्दा बढी होटल तथा कटेज सञ्चालनमा छन्।

अन्तुमा पर्यटक झुल्केघामको दृश्यावलोकन गर्न आउने गरेका छन्। यस्तै अन्तु पोखरीमा डुङ्गा सयर गर्न र घोडचढी गरी चिया बगान डुल्न पर्यटक रुचाउँछन्। झिसमिसेमै बङ्गालको खाडीबाट लालघामको झुल्कोले सेताम्मे कञ्चनजङ्घा र कुम्भकर्ण हिमाल रङ्गाउँदै अन्तुडाँडालाई चुम्बन गर्दा पर्यटक फुरुङ्ग बन्छन्। चियाबारी, फूलबारीभित्र चिटिक्कै सजाइएका काठेघर अनि स्थानीय उत्पादनको स्वाद चखाउँदै चलाइएका होमस्टेले पर्यटकलाई तान्ने गरेको अन्तु आउनुभएका आन्तरिक पर्यटक विकास ओलीले बताउनुभयो।  कन्याम पनि नयाँ वर्ष मनाउने पर्यटकले खचाखच छ। पर्यटकले आइतबारसम्मका लागि सबै होटल बुक गरे। कन्यामका होटल व्यवसायी टेकराज गिरीका अनुसार ढिलो गर्दा बास पाइँदैन भनेर पर्यटकले अग्रिम बुकिङ गरेका हुन्। 

नेपाल र भारतका पर्यटकले कन्याममा नयाँ वर्ष मनाउने योजना बनाएको उहाँले बताउनुभयो। “विगत तीन– चार वर्षदेखि अङ्ग्रेजी नयाँ वर्ष पर्वकै रूपमा यहाँ मनाउन थालिएको छ,” गिरीले भन्नुभयो। 

भारतको दार्जीलिङबाट अङ्ग्रेजी नयाँ वर्ष मनाउन केही दिन अघिदेखि अन्तुमा बसिरहनुभएका पुस्कर भण्डारी जति आए पनि अन्तु र कन्याम आइरहुँ लाग्ने बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “हामीलाई यति नजिकै रहेका अन्तु र कन्यामले हरेक वर्ष नयाँ वर्षमा तान्न थालेका छन्।” “साँच्चै प्रकृतिसँग रमाउने भए कन्याम र अन्तु आए पुग्छ,” भण्डारीले भन्नुभयो। कन्यामका चियाबारीमा रमाउने पर्यटक बढी भेटिन्छन्। विभिन्न जातजातिको वेशभूषामा सजिएर तस्बिर खिचाउनेदेखि चियाको स्वाद चाख्नसम्म पर्यटक आउने गरेका छन्। 

सूर्योदय नगरपालिकाले कन्याममा पर्यटकलाई लक्षित गरी सेल्फी पार्क, टिकटक पार्क र निजी लगानीमा स्काई वल्कसमेत निर्माण गरिएको छ। पर्यटक राति अबेरसम्म कन्याममा रमाउने गरेका छन्। सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले दुई देशबीचको सामिप्य अङ्ग्रेजी नयाँ वर्षले बढाएको बताउनुभयो। उहाँले भारतीय पर्यटक अन्तु र कन्याम आउन रुचाउने गरेको पनि बताउनुभयो। नयाँ वर्ष मनाउने पर्यटकले इलामको पानीटार, सन्दकपुरलगायतका क्षेत्रसमेत खचाखच छन्।