च्याउखेतीमा रमाउँदै सुकुुम्बासी महिला

नेपालगञ्ज, पुस २७ गते । आम्दानी राम्रो हुन थालेपछि पछिल्लो समयमा बर्दियाका सुुकुम्बासी महिलाहरू च्याउ खेतीतर्फ आकर्षित भएका छन् । 

जिल्लाको बबई नगरपालिका–२ सेम्रहवा फाँटाका सुकुम्बासी महिला यतिखेर च्याउ खेतीमा जुटेका छन् । थोरै लगानीमा राम्रो कमाइ हुने भएपछि यहाँका सुकुम्बासी महिलाले घरैपच्छिे च्याउ खेती गर्न थालेका हुन् । विगतमा छिमेकमा गफ गरेर दिन बिताउने महिलाहरू अहिले च्याउ खेतीमा लागेर दिनभर सोही काममा समय बिताउन थालेका छन् । घरको कामसँगै उनीहरूले अहिले घरमै च्याउ खेती गरेर राम्रो कमाइ गरिरहेका छन् ।
पहिले बेकारमा समय बित्थ्यो । अहिले घरको कामसँगै च्याउ खेतीमा लागेपछि समयको सदुपयोगसँगै कमाइ पनि भएको छ, व्यावसायिक च्याउ खेतीमा लागेकी प्रेममोती थारूले भन्नुभयो ।
च्याउ खेतीका लागि छुट्टै जमिन पनि नचाहिने, लगानी र मिहिनेत पनि कम लाग्ने भएकाले यो खेतीमा लागेको सुकुम्बासी महिला बताउँछन् ।
च्याउ खेती गर्न थालेपछि घर खर्चको जोहो गर्न कुनै समस्या नभएको महिलाहरूले सुनाए । १३२ डल्लामा च्याउ रोप्नु भएकी प्रेममोतीले मासिक न्यूनतम १० देखि १२ हजार रुपियाँ कमाइ हुने गरेको बताउनुभयो । च्याउको कमाइले दैनिक घर खर्च चलाउन र छोराछोरीको पठनपाठनमासमेत निकै सहयोग पुगेको च्याउ खेतीमा लागेका महिलाहरूको भनाइ छ ।
सुकुम्बासी बस्तीका करिब २५ घरधुरीका महिला च्याउ खेतीमा लागेका छन् । उनीहरूले घरको एक कुनोमा च्याउ खेती गर्दै आएका छन् । जिल्लामा सञ्चालित गरिबी निवारण कार्यक्रमबाट सीप सिकेर महिलाहरू च्याउ खेतीमा लागेका हुन् । आफूहरूले उत्पादन गरेको च्याउ स्थानीयस्तरमै खपत भइरहेको व्यावसायिक च्याउ खेतीमा लागेकी प्रेममोतीले जनाउनुभयो । बस्तीमा च्याउ उत्पादन हुन थालेपछि ग्राहकहरू च्याउ किन्न घरमै आउने बिक्री गर्न बाहिर जानु नपरेको उहाँले बताउनुभयो । बढी उत्पादन भएको बेला बिक्रीका लागि बजार जाने गरेको च्याउ खेतीमा संलग्न कृष्णी थारूले बताउनुभयो ।
सो गाउँका महिलाहरूले फुटकरमा प्रतिकेजी दुई सय रुपियाँमा च्याउ बिक्री गर्ने गरेका छन् । स्थानीय तरकारी पसलेहरूले महिलाबाट च्याउ किनेर स्थानीय बजारमा समेत बिक्री गर्ने गरेका छन् ।
जिल्ला कृषि विकास कार्यालय बर्दियाले च्याउ खेतीमा सुकुम्बासी महिलाको आकर्षण हेरेर उनीहरूलाई प्राविधिक सहयोग गरिरहेको जनाएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds