• ७ वैशाख २०८१, शुक्रबार

दैनिकरूपमा राजस्व सङ्कलनमा उल्लेखनीय सुधार आउनुपर्छ : अर्थमन्त्री पौडेल

blog

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल आन्तरिक राजस्व र भन्सार विभागका प्रमुखहरुलाई निर्देशन दिनुहुँदै । तस्बिर : अर्थ मन्त्रालय

गोरखापत्र अनलाइन

काठमाडौं, पु्स १७ गते । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दैनिकरूपमा राजस्व सङ्कलनमा उल्लेखनीय सुधार आउनुपर्नेमा जोड दिनुभएको छ । 

राजस्व संकलनको वर्तमान अवस्था एवम् तोकिए बमोजिमको राजस्व संकलनको लक्ष्य हासिल गर्न चाल्नुपर्ने कदमका सम्न्धबमा उहाँले आज आन्तरिक राजस्व विभाग र भन्सार विभाग अन्तर्गतका सबै कार्यालयका प्रमुख एवम् कर्मचारीलाई यस्तो निर्देशन दिनुभएको हो । 

अर्थमन्त्री पौडेलले राजस्वको लक्ष्य र संकलनको अन्तर ठूलो रहेको हुँदा लक्ष्य बमोजिमको राजस्व संकलन गर्न राजस्व प्रशासनमा कार्यरत सबैको साझा प्रतिबद्धताका लागि बैठकको आयोजना गरिएको बताउँदै सबैलाई आ–आफ्नो परिभाषित जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभयो।

आजैदेखि दैनिकरुपमा राजस्व संकलनमा उल्लेखनीय सुधार आउनुपर्ने बताउँदै उहाँले हालसम्मको राजस्वको न्यूनतम पूरा गरी लक्ष्य अनुसार राजस्व संकलन गर्न सोहीबमोजिमको कार्ययोजना तयार गरी कार्य सम्पादन गर्न निर्देशन दिनुभयो।

उहाँले राजस्व परिचालनका लागि विभाग तथा कार्यालयहरुलाई मन्त्रालयबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण हुने उल्लेख गर्दै कर कानूनको परिपालना गराउँदा गल्ती गर्नेलाई छुट नदिन तथा निर्दोषलाई त्रसित नपार्नसमेत निर्देशन दिनुभयो।  

उहाँले स्थानीय प्रशासन र सुरक्षा निकायसँगको समन्वयमा सीमा नाकाबाट हुने चोरी पैठारी नियन्त्रण गर्न र व्यापार सहजीकरण गर्दै भन्सार जाँचपासलाई वास्तविक र यथार्थपरक बनाउन निर्देशन दिनुभयो। 

त्यस्तै, कार्यालयहरुका लागि तोकिएको कार्यगत सूचकहरु प्राप्तिमा केन्द्रित हुन र करदातालाई कर तिर्ने सहज वातावरण सिर्जना गरी कर परिपालना बढाउन निर्देशन दिनुभयो। 

उहाँले सुशासन, सदाचारिता, नैतिकता, इमान्दारिता र व्यावसायिकतालाई मूलमन्त्र मानी कार्य गर्नसमेत निर्देशन दिनुभयो।

भर्चुअल माध्यमबाट आयोजना गरिएको उक्त कार्यक्रममा अर्थ सचिव, राजस्व सचिव, मन्त्रालयका महाशाखा प्रमुख, विभागीय प्रमुखहरुलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशकले तोकिए बमोजिमको राजस्व लक्ष्य हासिल गर्न प्रतिबद्धता जनाउनु भएको जानकारी अर्थ मन्त्रालयका प्रवक्ता एवम् सहसचिव आनन्द काफ्लेले दिनुभयो ।