• १३ वैशाख २०८१, बिहिबार

शीतलहरको उच्च सम्भावना

तीन दिन चिसो बढ्ने, सावधानी अपनाउन विज्ञको आग्रह

blog

उपत्यकामा जाडो बढेसँगै बाक्लो र न्यानो कपडा लगाएर आफ्नो गन्तव्यतर्फ जाँदै एक युवती । उपत्यकालगायत देश भरी नै जाडो बढेसँगै जनजीवन प्रभावित भएको छ । तस्बिर : सुजन गुरुङ

काठमाडौं, पुस १७ गते। आगामी तीन दिन देशभर चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल नगर्न विज्ञले सुझाव दिएका छन्। विज्ञले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकुल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन्। 

केही दिनयता देशभर बाक्लो हुस्सु लाग्ने चिसोको उतारचढाव भइरहेको छ। आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा शीतलहरको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विज्ञको सुझाव छ। 

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले पश्चिमी वायुका कारण चिसो बढिरहेको बताउनुभयो। उहाँले आइतबारदेखि तीन दिनसम्म देशको अधिकांश भागमा शीतलहरको सम्भावना रहेको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभयो। 

उहाँले अबका केही दिनमा चिसो अत्यधिक बढ्ने भन्दै बालबालिका, वृद्ध वृद्धा, दीर्घरोगी, मुटुका रोगीले बिहानको समयमा घरबाहिर निस्कनु उचित नहुने बताउनुभयो। उहाँले पश्चिम बङ्गालमा सिर्जना भएको न्यून चापीय अवस्था र पश्चिमी वायुको प्रभावका कारण तुवाँलो लाग्ने, चिसो बढ्ने, हिमपात हुने सम्भावना रहेको पनि बताउनुभयो। 

उहाँले मर्निङ हिँड्दा सकेसम्म चिसोको बेलामा नजाने, सकेसम्म कोठामा नै योगाभ्यास गर्नुपर्ने बताउनुभयो। उहाँले फोक्सोको क्यानसरदेखि श्वासप्रश्वासमा समस्या, मुटुका बिरामीमा समस्या र बालबालिका र वृद्ध वृद्धामा चिसोको असर बढी हुने बताउनुभयो। जलवायुविज्ञ उप्रेतीले जनवरी, फेब्रुअरी र मार्चमा न्यूनतम तापक्रम औसत भन्दा तल हुने र वर्षा पनि कम हुने बताउनुभयो। उहाँले हिउँदमा वर्षा कम र चिसो बढी भएको खण्डमा यसको सबैभन्दा बढी असर वायु प्रदूषणमा पर्ने जानकारी दिनुभयो। 

जलवायुविज्ञ डा. उप्रेतीले अहिले समुन्द्री सतहको तापक्रम औसत भन्दा कम रहेकाले चिसो बढिरहेको बताउनुभयो। उहाँले न्यूनतम तापक्रम घट्दै जाँदा चिसो र शीतलहर बढाउने भएकाले जनवरी ४ सम्म देशको पश्चिमी भागमा यसको असर पर्ने भन्दै सचेत रहन आग्रह गर्नुभएको हो। 

तापक्रममा हुने परिवर्तन र वायुमण्डलमा हुने परिवर्तनका कारण विश्वको तापक्रमलाई असर गर्ने भन्दै नेपालले पनि चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु जरुरी रहेको उहाँको भनाइ छ। 

हिउँद महिनामा पानी नपर्दा वायुमण्डलमा प्रदूषण बढ्ने भएकाले सचेत हुनुपर्ने बताउनुभयो।  गत वर्षको यो सिजनमा पानी परिसकेको भए पनि यसवर्ष भने पानी नपरेकाले झनै समस्या सिर्जना हुनसक्ने उहाँको भनाइ छ। उहाँले मौसम अनुकूल नहुँदा पश्चिम तराईका केही जिल्लामा चिसोका कारण बिरामी बढेको र आगामी दिनमा काठमाडौंसहित पहाडी जिल्लामा समेत यसको प्रभाव देखिने बताउनु भयो। 

डा. उप्रेतीले देशभर चिसो बढेकाले बिहानको समयमा बाहिर हिँडडुल नगर्ने वा घरभित्रै व्यायाम गर्ने, न्यानो लुगा लगाउने, पानीमा धेरै बेर नभिज्ने, बिहान बाहिर हिँड्नै परे मास्कको प्रयोग गर्ने, आगो ताप्दा झ्याल/ढोका खोलेर वा पर्याप्त हावा ओहोरदोहोर हुनेगरी मात्र हिटर ताप्ने, गाडी चलाउँदा गति सीमित हुनेगरी चलाउन आग्रह गर्नुभएको छ। उहाँले चिसो बढेकाले विद्यालयमा केही दिन बिदा दिने वा प्रविधिको प्रयोग गरेर सम्भव भएसम्म अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने सुझाव दिनुभएको छ।