• १२ वैशाख २०८१, बुधबार

चिसोले जनजीवन प्रभावित, दाउराको माग बढ्यो

blog

चिसो बढेपछि कार्यालय परिसरमै आगो ताप्दै अपिहिमाल गाउँपालिकाका कर्मचारी । तस्बिर : लोकेन्द्र जोशी

लोकेन्द्र जोशी

दार्चुला, पुस १७ गते । हिमाली जिल्ला दार्चुलामा अत्यधिक चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ । केही दिन यता ह्वात्तै बढेको चिसोले जिल्लाको जनजीवन प्रभावित भएको स्थानीयले बताएका छन् । चिसोबाट जोगिन दिनभरि आगो तापेर बस्नुपरेकाले दाउराको माग बढेको स्थानीय कलावती रोकायले बताउनुभयो ।  

व्यास, अपिहिमाल, दुहुँ, लेकम, नौगाड, मार्मालगायत सबै स्थानीय तहमा चिसोले जनजीवन प्रभावित बनेको स्थानीयको भनाइ छ । विद्यालयको पठनपाठन प्रभावित हुनुका साथै विभिन्न कार्यालयको सेवा प्रवाहमा समेत समस्या भइरहेको छ । कठ्याङ्ग्रिँदो चिसोबाट बच्न अपिहिमाल गाउँपालिकाका कर्मचारीहरूले कार्यालय परिसरमै दाउरा बालेर आगो ताप्दै काम गर्ने गरेका छन् । 

राम्रोसँग घाम लागेको छैन, अपिहिमाल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका निमित्त प्रमुख मदनराज जोशीले भन्नुभयो, “चिसोका कारण कोठाभित्र बसेर निरन्तर काम गर्न कठिन हुनेभएकोले छिनछिनमा बाहिर आगो ताप्ने गरेका छौँ ।” चिसोबाट जोगिन गाउँतर्फ दाउराको आगो र बजार क्षेत्रमा हिटर बालेर स्थानीयहरू बसेको बताएका छन् । दिउँसोको समयमा समेत चिसो हावा चलिरहेकाले घरबाहिर निस्कन समस्या भएको अपिहिमालका अर्का स्थानीय दमन कार्कीले बताउनुभयो ।

हिमाली क्षेत्रमा घाम लागेको दिन विद्यार्थीले घाममा बसेर पठनपाठन गर्ने गरेकोमा घाम नलागेको दिन विद्यालयमै आगो बाल्नुपर्ने अवस्था सिर्जना भएको छ । हिमपात हुने क्षेत्रमा हिउँ परेका बेला विद्यालय बिदा हुनेगरेका छन् । विभिन्न विश्वविद्यालय अन्तर्गतका क्याम्पसले हिउँदे बिदा दिए पनि पठनपाठन प्रभावित हुने भन्दै माध्यमिक तहसम्मका विद्यालय सञ्चालनमा छन् । विद्यालय खुले पनि चिसोका कारण विद्यार्थीको उपस्थिति न्यून रहेको विद्यालयका शिक्षकको भनाइ छ ।  

चिसो बढेपछि अस्पतालमा बिरामीको सङ्ख्या पनि बढेको छ । चिसोकै कारण यहाँका स्वास्थ्य केन्द्रमा रुघाखोकी, दमलगायत रोगका बिरामीको सङ्ख्या बढेको छ । लगातार बढ्दैगएको जाडोबाट बालबालिका, वृद्धबृद्धा र सुत्केरी महिला बढी प्रभावित भएका छन् । बालबालिका, वृद्ध वृद्धा र सुत्केरी महिलामा रुघाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिने गरेकाले सतर्कता अपनाउन स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले अनुरोध गर्नुभयो । जाडोले विद्यार्थी, बालबालिका, गरिब असहाय, मजदुर र ज्येष्ठ नागरिक बढी प्रभावित हुनेगरेको उहाँको भनाइ छ । 

बिहान–बेलुकी समयमा धेरै चिसो हुनेगरेको छ, लेकमका स्थानीय केशव जोशीले भन्नुभयो, “हिजोदेखि पारिलो घाम लाग्न छाडेको छ । बिहानको समय सडकमा सवारीसाधन समेत चल्न गाह्रो हुनेगरेको चालकहरू बताउँछन् । चिसोले घर बाहिर निस्किनै समस्या भएको छ, उहाँले भन्नुभयो, “जाडोमा सिमेन्ट, गिट्टी, बालुवाको काम गर्न समस्याले विकासे काम प्रभावित भएका छन् ।”