• १२ वैशाख २०८१, बुधबार

सुत्केरीसँग उपाध्यक्ष कार्यक्रमले राहत

blog

सुत्केरी महिलालाई कोसेलीसहित सामग्री वितरण गर्नुहुँदै गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङ।

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस १७ गते। ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाका सुत्केरी महिलालाई राहत मिलेको छ। गाउँपालिकाले सञ्चालन गरेको ‘सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’ ले सुत्केरी महिलालाई राहत मिलेको हो। 

पाथीभरा याङ्वरक गाउँपालिकाभित्रका सुत्केरी महिला तथा आमाले पौष्टिक आहारसहितको कोसेलीसँगै न्यानो कपडा पाएका छन्। सुत्केरीसँग उपाध्यक्ष कार्यक्रममार्फत पौष्टिक आहार र शिशु तथा आमा दुवैले लगाउने न्यायो कपडा पाएपछि यहाँका सुत्केरी महिलालाई राहत मिलेको हो।

गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङ पौष्टिक आहारसहितको कोसेली बोकेर अहिले सुत्केरी महिलाको घर–घरमा पुग्दै आउनुभएको छ। कोसेली स्वरुप पौष्टिक आहारा र न्यानो कपडा वितरण गर्दै उपाध्यक्ष गुरुङले सुत्केरी आमाले निर्वाह गर्नुपर्ने भूमिका, स्वास्थ्य अवस्थालगायतका विषयमा प्रत्यक्ष साक्षात्कार पनि गर्दै आउनुभएको छ। 

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र लिम्बूका अनुसार सुत्केरी आमालाई पौष्टिक आहारा र न्यानो कपडासहितका सामग्री बितरण गर्ने योजनाका साथ गाउँपालिकाले ‘सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’ अघि सारेको हो। गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रमअनुसार स्वास्थ्य संस्थामा सुत्केरी (प्रसूति सेवा) गराएका महिलालाई यो सुविधा उपलब्ध हुँदै आएको शाखा प्रमुख लिम्बूले जानकारी दिनुभयो।

अहिले गाउँपालिकाका ६ वटै वडामा कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ। यस सुबिधा प्राप्त गर्नका लागि स्वास्थ्य संस्थामै सुत्केरी भएको हुनुपर्ने, नियमित गर्भ जाँच गराएको जस्ता प्रक्रिया पूरा गरेको हुनुपर्ने प्रावधान राखिएको छ। सुत्केरी महिला तथा नवजात शिशुको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम कार्यान्वयनमा ल्याएको गाउँपालिकाले जनाएको छ। 

गर्भवती महिलाले मापदण्डअनुसार गर्भ जाँच गराउने, स्वास्थ्य संस्थामा गएर प्रसूति गराउने जस्ता कार्यमा कार्यक्रम प्रभावकारी हुने विश्वास लिएको गाउँपालिकाका अध्यक्ष केशरकुमार सुब्बाले बताउनुभयो। कार्यक्रममार्फत सुत्केरीलाई कोसेली तथा उपहारसँगै गर्भवती र सुत्केरी अवस्थामा अपनाउनुपर्ने स्वास्थ्य संवेदनशीलताबारे अनुशिक्षण गराउने गरिएको गाउँपालिकाले जनाएको छ।