• १६ चैत २०८०, शुक्रबार

खेलकुद क्षेत्रलाई सरकारले हेर्नुपर्छ : एमाले अध्यक्ष ओली

blog

मदन भण्डारी स्पोर्टस् एकेडेमीको १४ औं स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेकपा (एमाले) अध्यक्ष केपी ओली । तस्बिर : एमाले अध्यक्ष ओलीको निजी सचिवालय

काठमाडौं, पुस १७ गते। सत्ता साझेदार दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले खेलकुद क्षेत्रलाई सरकारले प्रभावकारी रूपमा हेर्नुपर्ने बताउनुभएको छ। मदन भण्डारी स्पोर्टस् एकेडेमीको १४ औँ स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले आज भोलिदेखि नै अक्षयकोष स्थापना गर्न व्यक्तिगत तर्फबाट दुई लाख रुपियाँ सहयोगको घोषणा गर्नुभयो।

अध्यक्ष ओलीले भन्नुभयो, “अक्षय कोष स्थापना गर्ने कुरामा समय पर्खनुभयो भने, राम्रो समय पर्खँदा–पर्खँदा बुढो भइन्छ। म मेरो तलबबाट दुई लाख दिन्छु, काम थालिहाल्नुस्। सांसद छानिएको छु, मेरो पनि तलब आउँछ। सरकारले यस क्षेत्रमा हेर्दै नहेरेको होइन तर, हेर्नैपर्ने गरी जसरी राम्रोसँग हेरेन। खेलाडीको राम्ररी हेर भन्ने भनाइ म सरकारसँग पुर्‍याउँछु। अहिले खेलकुदमन्त्री छैन। मन्त्री जो भए पनि खेल क्षेत्रलाई सरकारले हेरोस्।”

उहाँले खेलमार्फत सुन्दर, सक्षम, शान्तिपूर्ण एवम् अनुशासित विकसित समाज बनाउने एकेडेमीको प्रयासको प्रशंसा गर्दै व्यावहारिक जीवनदेखि खेलकुद र राजनीतिमा फउल खेल्न नहुने तर्क गर्नुभयो।

सबै खेलको आ–आफ्नो नियम हुने बताउनुहुँदै त्यसले नियम र अनुशासनको पालना गर्दै सफल हुन सिकाउने बताउनुभयो।