• १२ वैशाख २०८१, बुधबार

‘गीत सङ्गीतमा नयाँ प्रयोग हुनुपर्छ’

blog

 मौलिक लोक शैलीका गीतमा छुट्टै परिचय बनाउनुभएकी गायिका लक्ष्मी आचार्य यो क्षेत्रमा प्रवेश गर्नुभएको १२ वर्ष भयो। आचार्यको करिब सयभन्दा बढी गीत बजारमा आइसकेका छन्। गायिका आचार्यसँग गीत सङ्गीतमा केन्द्रित रहेर गोरखापत्रका लागि सुकृत नेपालले गर्नुभएको कुराकानी : 

‘लाई हेल कालो टिको’ कस्तो खालको गीत हो ? 

‘लाई हेल कालो टिको’ गायक प्रकाश सपुत र मेरो आवाज रहेको गीत हो। यसमा हामी दुवैले अभिनय पनि गरेका छौँ। गीतले सुदूरपश्चिमको कला र सांस्कृतिक पक्ष समेटेको छ। नयाँ पुस्ता आफ्नो मौलिकता जोगाइराख्न जागरुक बनून् भनेर मैले यस्तो खालको गीत ल्याएकी हुँ।

गीत सङ्गीतको क्षेत्रमा लाग्दाको अनुभव र उपलब्धि ? 

हामीले गीत सङ्गीतमार्फत आफ्नो कला संस्कृति जोगाइरहेका छौँ र आफ्नो देशलाई चिनाउन अवसर पनि हामीले पाएका छौँ। यसमा के पाएँ र के गुमाएभन्दा पनि मैले देशका लागि के गरेँ भन्ने ठूलो कुरा हो। गीत सङ्गीतमा भइरहेका नयाँ प्रयोगका बारेमा जान्ने ठूलो अवसरका रूपमा पनि लिएकी छु। म आफैँ पनि गीत सङ्गीतमा नयाँ प्रयोग हुनुपर्छ भन्नेमा छु। हाम्रो मौलिक कुरालाई जुन रूपमा हामीले गीत सङ्गीतमा समेट्नुपर्ने थियो त्यो कम भएको हो की भन्ने लागेको थियो। अहिले पछिल्लो समयमा नयाँ आएका भाइ, बहिनीहरूले हाम्रा चालचलन रीतिरिवाजलाई गीत सङ्गीतमार्फत पस्कन खोजेका छन्। यो  हामी सबैको उपलब्धि हो। 

सुदूरपश्चिमको कला र सांस्कृतिक जोगाउन गीत सङ्गीतको माध्यमबाट विगतमा सीमित स्रोतसाधनका बीचमा काम गर्नुपर्दा र हालको आधुनिक प्रविधिका बीचको अनुभव कस्तो रह्यो ?

गीत सङ्गीतको जगेर्ना गर्दै जाँदा केही वर्षअघि धेरै गाह्रो थियो। अहिले काम गर्न प्रविधिले धेरै सजिलो भएको छ। अहिले गीत सङ्गीतमा आउने आधारहरू धेरै छन्। अहिलेभन्दा दस वर्षअघि कलाकार भएर यो क्षेत्रमा जम्न निकै गाह्रो थियो। गाउँ समाज परिवेश, फेरि त्यति धेरै प्राविधिक कुराहरू पनि थाहा हुँदैन थियो। अहिले जे खोज्यो त्यो सजिलै पाइन्छ। मैले धेरै सङ्घर्ष गरे र अझै गर्दैछु। सङ्घर्ष गरिरहँदा त्यसको फल पनि अवश्य नै मीठो हुन्छ। प्रविधिमा आएको तीव्र विकास, सामाजिक सञ्जालले पनि हाम्रा सिर्जनाहरूलाई धरैको माझ लैजान सजिलो र अवसर जुटाएको छ। 

तपाईंको आगामी योजनाहरू के छन्?

केही नयाँ गीतहरू सङ्कलन गर्दैछु। अहिले दर्शकमाझ पस्केका गीतहरूभन्दा अझै राम्रा गीत ल्याउने कोसिसमा छु। त्यसैले अब यसमा नै व्यस्त हुन्छु होला।