• ७ वैशाख २०८१, शुक्रबार

रोगले रित्तिन थाले बङ्गुर फार्म

blog

बेनी समाचारदाता

म्याग्दी (बेनी), पुस १७ गते । अफ्रिकन स्वाइन फिभर सङ्क्रमणका कारण बङ्गुर मर्न थालेपछि म्याग्दीका फार्महरू रित्तिन थालेका छन् । एक सातायता बङ्गुर फार्महरूमा स्वाइन फिभरको सङ्क्रमण फैलिएको छ । 

सदरमुकाम बेनी तथा ग्रामीण क्षेत्रमा किसानले पालेका बङ्गुरमा सङ्क्रमण देखिएपछि हालसम्म तीन सयभन्दा बढी बङ्गुर मरेको भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र म्याग्दीले जनाएको छ । व्यावसायिक रूपमै पालिएका बङ्गुर मर्न थालेपछि विज्ञ केन्द्रको टोलीले गरेको अनुगमन तथा केही फार्मबाट लिइएको नमुनामा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको विज्ञ केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले बताउनुभयो । 

पहिलो पटक पोखराबाट ल्याइएको उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, नौलीबगरको बङ्गुरमा पशुपन्छी अन्वेषण प्रयोगशाला परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभरको पुष्टि भएको थियो । नौलीबगरमा ४० भन्दा बढी बङ्गुर मरेपछि केन्द्र र गाउँपालिकाको पशुसेवा शाखासहितको टोलीले अनुगमन गरेको थियो । बङ्गुर फार्मबाट लैजाने मासु पसलसहित जोखिमपूर्ण मानिएका स्थानमा उच्च निगरानी राखिएको छ । 

बेनी नगरपालिका–७, मङ्गलाघाटमा साढे दुई सय बङ्गुर मरेको अवस्थामा भेटिएको बेनी नगरको पशु शाखाले जनाएको छ । “फिभर देखिएकाले अहिले रोकथाम र नियन्त्रणका विधि प्रयोगमा केन्द्रित छौँ,” पशु प्राविधिक प्रदीप गौतमले भन्नुभयो, “यहाँबाट अन्यत्र पनि सङ्क्रमण फैलिएको आशङ्कामा केही ठाउँमा परीक्षण गरिएको छ ।” 

बेनीका रनबहादुर बुढाथोकीको ४२, श्यामकुमार गोतामेको ४०, बिना गोतामेको पाँच, टकबहादुर बुढाथोकीको ६५, टीका रोकाका २६ र पूर्वराज घर्तीको सातवटा बङ्गुर मरेको विवरण सङ्कलन भएको गौतमले बताउनुभयो । समयमै नियन्त्रणमा सतर्कता नअपनाए यो रोगबाट म्याग्दीमा करोडौँको क्षति हुने भन्दै बङ्गुरपालक किसान चिन्तित भएका छन् ।