• १४ वैशाख २०८१, शुक्रबार

मानवताका लागि नेपथ्यको न्यू इयर इभ कन्सर्ट

blog

काठमाडौँ, पुस १६ गते । नेपथ्य व्याण्डले आज काठमाडौँमा मानवता प्रवर्द्धनमा साथ दिँदै नेपथ्य लाइभ कन्सर्ट गर्दैछ । अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो दिन न्यू इयर इभका रुपमा नेपथ्यले आफ्नो अभियानको अन्तिम साङ्गीतिक प्रस्तुति दिन लागेको हो । 

 नेपथ्य ब्याण्डका मुख्य गायक अमृत गुरुङ तथा उहाँको व्याण्ड सदस्यहरुले यस अघि विभिन्न देशका नौ वटा मुख्य सहरमा नेपथ्य लाइभ कन्सर्टको आयोजना गरिसकेको छ । विभिन्न अभियानका साथ आफ्नो साङ्गीतिक प्रस्तुतिलाई जोड्दै अघि बढेकाे नेपथ्यले यस पटक नेपालमा मानवता प्रवर्द्धनका लागि आफ्नो साङ्गीतिक प्रस्तुति दिनुभएको हो । जसका लागि नेपथ्यले सडक मानवको उद्धार तथा रेखदेख गरिरहेको मानव सेवा आश्रमसँग सहकार्य गर्नुभएको बताउनुभयो । 

सडकमा अलपत्र वस्तुजस्तै छरिएका सडक मानव देख्दा आफ्नो मन सँधै विचलित हुने गरेको अनुभव उहाँको छ । उहाँले भन्नुभयो, उनीहरुका लागि कसैले केही गरिदिए हुन्थ्यो भन्ने सधैँ लागिरहन्थ्यो, मानव सेवा आश्रमले सुरु गरेको देखेपछि निकै खुशी लाग्यो । 

सांगितिक प्रस्तुती दिनुअघि उहाँले आफ्नो धारणा राख्दै उहाँले सङ्गीतमार्फत मानवता प्रवर्द्धन गरी सडक आश्रित बेसहारा व्यक्तिहरुलाई सडकको चिसो छिँडी र सडकपेटीहरुमा बस्नुपर्ने अवस्थाको अन्त्यका लागि सबैले सघाउनुपर्नेमा जोड दिनुभएको हो । काठमाडौँमा साङ्गीतिक प्रस्तुति दिनुअघि यहाँका दर्शक श्राेता तथा आश्रमका आश्रितसँग शुक्रबार भेटेर आफ्नो देशव्यापी अनुभव सुनाउनुभयो । अरुबेला पैसा तिरेर साङ्गितिक प्रस्तुति हेर्न र सुन्ने दर्शक श्राेता बढी हुन्थे । तर यसपटक सडक मानवका लागि साङ्गीतिक कार्यक्रम गरेकाले पनि आम समुदायले थप सहयोग सौहार्दता दिनुभएको गुरुङले बताउनुभयो । 

 काठमाडौँको भृकुटीमण्डपमा ‘नेपथ्य लाइभ कन्सर्ट’को सबै तयारी पूरा भएको आयोजक मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौँमा झण्डै ६ हजार दर्शकको सहभागिता रहने अपेक्षा गरिएको छ ।

देशका नौ शहरमा भव्यताका साथ सम्पन्न भएको अभियानको अन्तिम कार्यक्रम काठमाडौँमा हुन लागेको हो । मुलुकका विशिष्ट व्यक्तिसहित झण्डै ६ हजार दर्शक स्रोताको उपस्थिति रहने दाबी आयोजकले गरेको छ । आश्रमका प्रमुख संरक्षक डा. गोविन्द टण्डनले परोपकारी नेपालीहरुको साथ र सहयोगले नै नमुना काम गर्न सकिन्छ र विदेशीको बाटो हेरिरहनुपर्दैन भन्ने उदाहरण आश्रमले प्रस्तुत गरेको बताउनुभयो ।

आश्रमका संरक्षक तथा समाजसेवी राधिका शाक्यले आश्रमको भवन निर्माणका लागि नागार्जुनमा जग्गा प्राप्त भएको तर त्यसका लागि मन्त्रिपरिषदबाट निर्णय गराउनुपर्ने भन्ने सुनेकाले सरकार र सम्बद्ध निकायलाई सहयोगका लागि अनुरोध गर्नुभयो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव रामप्रसाद थपलियाले के गर्न सकिन्छ त्यस बिषयमा पहल गर्ने बताउनुभएको छ । महिनाव्यापी उक्त कार्यक्रमको सुरुवात मङ्सिर १६ गते विराटनटरको हाटखोला मैदानबाट भएको थियो । मङ्सिर १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशाला, २२ गते हेटौँडाको भुटनदेवी स्कुलचौर, २५ गते भरतपुरको क्याम्पाचौर, २९ गते नेपालगञ्जको रङ्गशाला, पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ मैदान र १२ गते पोखराको प्रदर्शनी केन्द्रमा कार्यक्रम भएको थियो । 

वि सं २०६९ सालमा स्थापना भइ सडकका असहाय तथा बेवारिसे नागरिकको उद्धार अभियान थालेको आश्रमले हालसम्म झण्डै आठ हजार नागरिकलाई सडकबाट उद्धार गरिसकेको छ । हाल १ हजार ६०० सडक आश्रित मानवहरु आश्रमका विभिन्न शाखामा संरक्षित छन् । झण्डै एक हजारलाई परिवारमा पुनर्मिलन गराइसकेको छ ।