• १३ वैशाख २०८१, बिहिबार

पाँच महिनामा गाडी मर्मत खर्च बाह्र लाख

blog

सुजन काफ्ले                                                                  

चरीकोट, पुस १६ गते । स्थानीय तहको निर्वाचनका बेलामा जनतासँग भोट माग्दा आफू निर्वाचित भएपछि निजी स्वार्थमा नलागेर विकास, सुशासन र जनताको सेवामा केन्द्रित हुने वाचा गरेका स्थानीय तहका जनप्रतिनिधि सुविधाभोगी बन्दै गएको पाइएको छ । 

जिल्लाको तामाकोसी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष चढ्ने गाडीको मर्मत खर्च बढ्दै गएको पाइएको हो । गाउँपालिका अध्यक्ष प्रोणप्रताप केसी चढ्ने गाडी मर्मतमा चार लाख पाँच हजार र उपाध्यक्ष सिर्जना सुवेदी चढ्ने गाडी मर्मतमा तीन लाख रुपियाँ खर्च भएको तामाकोसी गाउँपालिकाका सूचना अधिकारी पवनराज फुँयालले बताउनुभयो । 

चालू आर्थिक वर्ष २०७९/८० को साउनदेखि मङ्सिरसम्म पाँच महिनामा अध्यक्ष र उपाध्यक्ष चढ्ने गाडी मर्मतमा मात्र सात लाख पाँच हजार रुपियाँ खर्च भएको हो । तामाकोसी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका लागि स्कार्पियो गाडी तथा गाउँपालिकाका कर्मचारी र वडाध्यक्षहरूका लागि २४ वटा मोटरसाइकल रहेका छन् ।

जनप्रतिनिधि र कर्मचारीले प्रयोग गर्ने 

सवारीसाधन मर्मतमा पाँच महिनामा १२ लाख रुपियाँभन्दा बढी खर्च भइसकेको तामाकोसी गाउँपालिकाले जनाएको छ । 

तामाकोसी गाउँपालिकाको सवारीसाधन कार्यकर्ता ओसारपसार र व्यक्तिगत प्रयोजनका लागि बढी प्रयोग भएकाले मर्मतमा खर्च धेरै आएको स्थानीय सुन्दर कार्कीको आरोप छ । तामाकोसी गाउँपालिकाका लेखा अधिकृत रामबहादुर कार्कीले गाडी धेरै चलेका कारणले मर्मतमा बढी खर्च आएको बताउनुभयो । 

तामाकोसी गाउँपालिका अध्यक्ष केसीले गाडी मर्मतमा बढी रकम खर्च भएको विषयबारे आफूले गाउँपालिकामा बुझ्ने बताउनुभयो । गाडी मर्मत गर्न पटक–पटक सदरमुकाम चरीकोट लैजाने गरेको बताउँदै खर्चको विषयमा आफूलाई सबै जानकारी नभएको अध्यक्ष केसीको भनाइ छ ।