• ७ वैशाख २०८१, शुक्रबार

लेकमा चिसो बढेपछि बेँसी सार्दै भेडीगोठ

blog

हरिकृष्ण ऐडी 

मुगु, पुस १५ गते । मुगुको लेकमा चिसो बढेसँगै चरन अभाव हुन थालेपछि मुर्मागाउँका करिब ३७ घरधुरीले नौ हजार भेडाबाख्रा लिएर बेँसीतिर झरेका छन्। हिउँदयामको मौसममा गाउँमा हिमपातका कारणले घाँस नपाउने भएकाले मुर्मागाउँका भेडाबाख्रा पालक किसानले भेडाबाख्रालाई चरनका लागि बेँसीतिर झारेका हुन्।

छायाँनाथ रारा नगरपालिका–९ को मुर्मागाउँदेखि तल्लो मुर्मागाउँको जेउड्यासम्म झन्डै एक दर्जन बढीले पुख्र्यौली व्यवसायका रूपमा भेडाबाख्रापालन गर्दै आएका छन्। मुर्मागाउँका बाख्रापालक कृषक खुमबहादुर रोकायाका अनुसार गाउँमा हिउँदको समयमा भेडाबाख्रालाई चरन नभएको, हिउँदमा जोखिम र चरन क्षेत्रमा हिउँ जम्दा अत्यधिक चिसोबाट बचाउन भेडाबाख्रालाई बेँसी झारिएको हो।

समुद्री सतहदेखि करिब चार हजार दुई सय मिटरका लेकमा भेडाबाख्रापालन गरिँदै आएको छ। यसरी खर्कमा पालिएका भेडाबाख्रालाई हिउँदयामसँगै कात्तिकको दोस्रो सातादेखि न्यानोका लागि बेँसीको पारिलो स्थानमा झारिन्छ। भेडापालक कृषक नन्दलाल बुढाले गर्मीयामको समयमा वैशाखदेखि कात्तिकको पहिलो सातासम्म भेडाबाख्रालाई उच्च लेकको पाटनमा राख्ने र हिउँदेयामको मङ्सिरदेखि चैतको अन्तिमसम्म बस्तीनजिकको बेँसी झार्ने गरिएको बताउनुभयो।

मुर्मा गाउँमा हिउँदयामको मौसममा अत्यधिक चिसो र हिमपात हुने हुँदा चरन क्षेत्र हिउँले ढाकिने र अत्यधिक चिसोले भेडाबाख्रा गोठाला र पशुचौपायालाई सास्ती हुने हुँदा पशुचौपायालाई बस्तीनजिकका गाउँ झ्यारी र बौउँपानीमा प्रत्येक वर्ष हिउँदयाममा स्थानान्तरण गरिँदै आएको स्थानीय जयलाल रोकायाले बताउनुभयो। 

उहाँले बस्तीनजिकका बेँसीमा हिउँ परे पनि चाँडो पग्लिने, गोठाला तथा भेडाबाख्रालाई न्यानो हुने र पशुचौपायालाई आहारा दिन सजिलो हुने जनाउनुभयो।

जिल्ला पशु सेवा कार्यालयका कार्यालय प्रमुख भीमचन्द्र बुढाका अनुसार हिउँदको समयमा जिल्लाका भेडापालक कृषकले खर्कबाट भेडा बेँसी झार्ने गर्दछन्। भेडा बेँसी झार्ने अवधिमा धेरै बिरामी हुने भएकाले कृषकका भेडाबाख्रालाई बिरामी हुनबाट जोगाउन भ्याक्सिन खोप दिन बस्तीमा नै घुम्ती सेवा दिँदै आएको बुढाले बताउनुभयो।