• १६ चैत २०८०, शुक्रबार

चिसोले मुक्तिनाथका होटलहरु बन्द

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, पुस १४ गते । हिमालपारिको जिल्ला मुस्ताङको पवित्र धार्मिकस्थल मुक्तिनाथ क्षेत्रका होटलहरु अत्यधिक चिसोका कारण बन्द भएका छन् । मुक्तिनाथ क्षेत्रमा अहिले तापक्रम माइनस १५ सम्म पुगेका कारण जनजीवन प्रभावित भएसँगै होटल व्यवसायहरू बन्द भएका हुन् ।

मुस्ताङको माथिल्लो क्षेत्रमा तापक्रम सामान्यतया माइनसमै रहने भए पनि अहिले माइनस १५ भन्दा पनि कम भएको छ । सडक तथा धारामा पानी जमेको हुनाले होटल बन्द भएको मुक्तिनाथको रानीपौवा स्थित होटल अन्नपूर्ण इनका सञ्चालक अमृत सुवेदीले बताउनुभयो । सुवेदीले मङ्सिरसम्म होटल सञ्चालन गरेको भए पनि पुस ६ गते होटलका कर्मचारीलाई बिदा दिएर मूल ढोकामै ताला लगाएर बेसी झरेको बताउनुभयो । 


हिउँ बाक्लो परेमा चैत पहिलो साता फर्कन्छन्, हिउँ बाक्लो नपरेमा फागुनको दोस्रो हप्ता सम्ममा सबै स्थानीय आफ्नो क्षेत्र फर्कने व्यवसायी सुवेदीको भनाइ छ । बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका –१ का वडा सदस्य पेम्बा छिरिङ गुरुङका अनुसार मुक्तिनाथ क्षेत्रमा मात्रै करिब ४० वटा सुविधा सम्पन्न होटलहरु रहेका छन् । 

सबै होटलमा एट्याच बाथरुम सँगै वातावरण अनुकूलित कोठाहरू छन् । व्यवस्थित होटल भए पनि अत्यधिक चिसोले बस्नै कठिन हुने भएकाले कामदारलाई बिदा गरेर आफूहरू पनि होटल बन्द गरेर चिसो छल्नका लागि बेनी, बागलुङ, पोखरा, काठमाडौं झर्ने उहाँको भनाइ छ । पेम्बाले पनि आफ्नो व्यवसाय बन्द गरेर काठमाडौं झर्नुभएको छ । पुस ४ गतेदेखि उहाँले होटल तथा कोसेली घर बन्द गरेर बेसी झर्नुभएको हो ।


मुक्तिनाथस्थित होटल युरिकाका सञ्चालक सुर्जन तुलाचनले भने अहिले आफ्नो होटल चलाइरहनुभएको छ । मुक्तिनाथ क्षेत्रका धेरै होटल बन्द भए पनि आफूले भने सेवा दिइरहेको उहाँको भनाइ छ । 

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालका अनुसार मुस्ताङको माथिल्लो भेगका अधिकांश बासिन्दाहरू चिसो छल्नका लागि बेसी झरिसकेका छन् । अहिले जोमसोमकै तापक्रम माइनस ७ भन्दा कम भएको छ । माथिल्लो भेगमा अझै न्यून तापक्रम हुने भएकाले अधिकांश बासिन्दा चिसो छल्न न्यानो क्षेत्रतिर झरेको उहाँले बताउनुभयो । अब फागुनको तेस्रो सातादेखि मात्रै मुस्ताङका बासिन्दाहरू आफ्नो क्षेत्रमा फर्कने ढकालको भनाइ छ ।