पाँच गाविसमा जीविकोपार्जन सुधार कार्यक्रम

पशुपतिनगर, चैत २१ गते । इलामको पाँच गाउँ विकास समितिमा जीविकोपार्जन सुधार कार्यक्रम शुरु भएको छ । गाविसको अतिविपन्न समुदायको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले चालु आर्थिक वर्ष २०७१÷०७२ देखि ती गाविसमा कार्यक्रम शुरु भएको हो ।
स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी) को लगानीमा साकफारा, बाँझो, इभाङ, सोयाक र जिर्मलेमा जीविकोपार्जन सुधार कार्यक्रम शुरु भएको हो । जिल्ला विकास समिति अन्तर्गतको उक्त कार्यक्रमले गाविसमा गठित नागरिक सचेतना केन्द्रमार्फत लगानी गरेको हो । एलजीसीडीपीबाट प्रत्येक नागरिक सचेतना केन्द्रमा एक÷एक लाख रुपैयाँ बीऊ पूँजीका रुपमा उपलब्ध भएको छ । केन्द्रले ‘ऋण घुम्ती कोष’ सञ्चालन गरी सदस्यहरुलाई सुलभ ब्याजदरमा ऋण उपलब्ध गराई जीविकोपार्जनसम्बन्धी व्यवसाय सञ्चालन गरेको छ । केन्द्रद्वारा सञ्चालित ‘ऋण घुम्ती कोष’ मार्फत ऋण लिई शुरुमा २५ जनाले व्यवसाय शुरु गरेका छन् । प्रत्येक नागरिक सचेतना केन्द्रबाट ५÷५ जनाले ऋण पाएका छन् । प्रत्येकले केन्द्रबाट २० हजार रुपैयाँका दरले ऋण पाएका छन् । त्यसमा आफ्नै लगानी समेत थप गरी ५० हजारसम्मको लगानीमा व्यवसाय शुरु गरेका छन् । उनीहरुले व्यावसायिक बाख्रापालन, गाईपालन, बंगुरपालन, तरकारी खेती, अदुवाखेती लगायत व्यवसाय शुरु गरेका छन् ।
‘ऋण घुम्ती कोष’ मार्फत सदस्यहलाई ६ देखि १२ प्रतिशतसम्म वार्षिक ब्याजदरमा ऋण लगानी गरिएको छ । ऋणीले साँवा र ब्याज किस्तामा भुक्तानी गर्ने प्रक्रिया अवलम्बन गरिएको छ । यसरी किस्तामा साँवा भुक्तानी गर्ने प्रक्रियाले ऋणीलाई साँवा फिर्ता गर्न समेत सहज हुनेछ । भुक्तानी गर्ने किस्ता, समयावधि र ब्याजदर भने नागरिक सचेतना केन्द्रको आ–आफ्नै निर्णयअनुसार फरक–फरक छन् । ऋणीबाट फिर्ता भएको साँवा र ब्याज समेत गरी पुनः अर्को सदस्यलाई ऋण लगानी गरिने छ । उसले पनि व्यवसाय शुरु गर्नेछ । यो प्रक्रिया निरन्तर सञ्चालन भईरहने छ ।
आर्थिक अवस्था कमजोर भएका समुदायलाई लक्षित गरी सञ्चालित यो कार्यक्रम प्रभावकारी भएको सालघारी नागरिक सचेतना केन्द्र इभाङ–८ की संयोजक सुमित्रा राईले बताउनुभयो । ‘साहुबाट चर्को ब्याजदरमा ऋण लिनुपर्ने बाध्यताले विपन्नलाई झनै विपन्न बनाएको थियो’–संयोजक राईले भन्नुभयो–‘यस्तो एकमुष्ट लगानी गर्ने क्षमता नभएकाको लागि यो कार्यक्रम प्रभावकारी छ ।’ उहाँले वार्षिक १२ प्रतिशत ब्याजदरमा ५ किस्तामा साँवा भुक्तानी गर्ने गरी ऋण लगानी गरेको बताउनुभयो । विपन्नता स्तरीकरण (ड्याग मापन) का आधारमा सबैभन्दा पछिपरेको गाविसमा पहिलो चरणमा यस वर्षदेखि कार्यक्रम गरिएको एलजीसीडीपी क्षेत्रीय इकाई विराटनगरका प्रणय शर्माले बताउनुभयो । अन्य गाविस र नगरपालिकामा गठित नासके पनि यो कार्यक्रम चाँडै सञ्चालन गरिने तयारी भईरहेको उहाँले जानकारी दिनुभयो । सबै गाविस र नगरपालिकामा कार्यक्रम सञ्चालन भएपछि करीब एक हजार पाँच सय विपन्नको जीवनस्तरमा सुधार आउने बताइएको छ । पछाडि परेका समुदायलाई संगठित गरी सशक्तिकरणका माध्यमबाट उनीहरुको जीवनस्तर सुधार गर्ने उद्देश्यले इलाममा ५२ वटा नासकेहरु गठन भएका छन् । जसमध्ये ४३ गाविसमा एक÷एक वटा, देउमाई नगरपालिकामा दुई, सूर्योदय नगरपालिकामा तीन र इलाम नगरपालिकामा चार नासकेहरु क्रियाशील छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना