• ८ वैशाख २०८१, शनिबार

ब्यानर लेखाइमा त्रुटि भएपछि आयोजक संस्थाको आलोचना

blog

संस्थाले तयार गरेको व्यानर । तस्बिर : सामाजिक सञ्जालबाट

अविनाश चौधरी

धनगढी, पुस ७ गते । कञ्चनपुरको एक संस्था ब्यानरको कारण सामाजिक सञ्जालमा आलोचित बनेको छ । द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र (सीभीएसडब्लुडीसी) को व्यापक आलोचना भएको हो । 

सो संस्थाले तालिमका लागि बनाएको ब्यानर लेखाइमा केही त्रुटि देखिएपछि सामाजिक सञ्जालमा व्यापक टीकाटिप्पणी भइरहेको छ । ब्यानरमा ‘मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी’ तालिम लेखिएपछि संस्थाको आलोचना गरिएको छ । संस्थाले तयार पारेको ब्यानरले मानव बेचबिखन तथा ओसारपसारका लागि तालिम दिन खोजेको भन्ने सन्देश दिएको धेरैको बुझाइ छ । 

ब्यानरमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण वा रोकथाम सम्बन्धी तालिम भनेर लेखिनु पर्ने सुझाव दिएका छन् । केन्द्रले तीन दिने तालिम कञ्चनपुरको भीमदत्त नगरपालिकामा सञ्चालन गरेको छ । 

ब्यानरमा भीमदत्त नगरपालिकाको आर्थिक सहयोग भनेर लेखिए पनि महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको सहयोगमा सो संस्थाले तालिम आयोजना गरेको बुझिएको छ । नगरपालिकाले समन्वयकारी भूमिका मात्रै निर्वाह गरेको भीमदत्त नगरपालिका सूचना अधिकारी हरिसिंह धामीले बताउनुभयो । 

संस्थाको नियत गलत नरहेको र ब्यानरमा लेखिएको कुरालाई नकारात्मक रूपमा लिन र बुझ्न नहुने उहाँको भनाइ छ । ‘संस्थाको ब्यानरमा मानवीय त्रुटि भएको हो । तर, त्यसैलाई धेरै ठूलो बनाउनु पर्ने कारण केही देख्दिन’ उहाँले भन्नुभयो, ‘यसमा खाली बुझाइको फरक मात्रै भएको छ । संस्थाको नियत गलत छैन ।’ 

धामीले ब्यानरभन्दा पनि संस्थाले दिने कन्टेन्ट महत्त्वपूर्ण रहेको भन्दै उसको कन्टेन्टमा मानव बेचबिखन र ओसारपसार गर्नुपर्ने खालको कुरा नरहेको बताउनुभयो । ब्यानरमा भएको त्रुटिलाई लिएर संस्थाले माफी पनि मागिसकेको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, ‘भएको त्रुटि संस्थाले सच्याइ सकेको छ ।’