• १६ चैत २०८०, शुक्रबार

माओवादी संसदीय दलको नेतामा अध्यक्ष प्रचण्ड सर्वसम्मत

blog

गाेरखापत्र अनलाइन

काठमाडौं, पुस ७ गते । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुनुभएको छ । माओवादी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्याय ‘निर्मल’ का अनुसार पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेतामा चयन गर्ने निर्णय भएको हो ।

त्यसपछि सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले सो निर्णय अनुमोदन गरेको थियो । बैठकमा सांसदहरुले बुझाउनुपर्ने लेबीका सन्दर्भमा पनि छलफल भएको उहाँको भनाइ छ । 

राष्ट्रिय सभाको दलको नेताको रुपमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई चयन गरिएको छ । प्रतिनिधि सभाको प्रमुख सचेतकमा हितराज पाण्डे र राष्ट्रिय सभाको प्रमुख सचेतकमा बीपी अछामी र सचेतकमा गंगा बेल्वासे चयन हुनुभएको उहाँले जानकारी दिनुभयो ।

संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुदै प्रतिनिधि सभाको प्रमुख सचेतक हितराज पाण्डेले आजको बैठकले कार्याशालासहितको प्रशिक्षण गरेर व्यवस्थित गरिने निर्णय भएको जानकारी दिनुभयो ।

राष्ट्रपतिद्वारा सरकार गठनको आव्हान भएकोमा त्यसको आधारमा सरकार गठनको विषय अगाडि बढाइने र यसका लागि गठबन्धन दलका नेताहरुसँग कुराकानी गरेर अघि बढ्ने निर्णय भएको पाण्डेले बताउनुभयो । 

प्रतिनिधि सभाको दलको उपनेता र सचेतक गृहकार्य गर्दै अघि बढ्ने निर्णय भएको उहाँले बताउनुभयो । “हाम्रो गठबन्धनको बैठक बस्दैछ, त्यसैमा आवश्यक सल्लाह हुन्छ । स्वभावैले सरकारलाई व्यवस्थित गर्न पार्टीको तर्फबाट नेतृत्व गर्न छलफल हुन्छ” उहाँले भन्नुभयो ।