• ७ वैशाख २०८१, शुक्रबार

चौथो दलको हैसियतले सरकारको नेतृत्व गर्ने हक छ : सभापति लामिछाने

blog

गोरखापत्र अनलाइन

काठमाडौं, पुस ७ गते । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको नेतृत्वका लागि दाबी गर्ने सङ्केत गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले पनि प्रतिनिधि सभामा चौथो ठूलो दलको हैसियतले सरकारको नेतृत्वका लागि ठूला दलहरूसँग छलफल चलाएको बताउनुभयो । चौथो दल भएकाले सरकारको नेतृत्व गर्ने हक आफ्नो दललाई पनि रहेको उहाँले बताउनुभयो ।  

बिहीबार प्रतिनिधि सभा सदस्य पदको शपथग्रहण गरेलगत्तै सभापति लामिछानेले सरकार बनाउने कुरा संविधानसम्मत ढङ्गले अघि बढ्ने भएकाले आफूहरू सोहीअनुसार अघि बढ्ने स्पष्ट पार्नुभयो । संसद् भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सरकार बनाउने कुरामा संसद् अनिर्णयको बन्दी नबनोस् भन्नेमा आफूहरू सचेत रहने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आम नागरिकले मतदान गरेर विश्वास गरेर पठाइसकेपछि जनमतको कदर नगर्ने भन्ने कुरै भएन ।’ 

हाम्रा नेतृत्वका सरकार बन्ने वातावरण बन्यो भने त्यसमा पनि छलफल चलाउने उहाँले बताउनुभयो । “अब कुन ढङ्गले त्यो छलफल अघि बढ्छ भन्न सक्ने अवस्था रहेन । हामीलाई प्राप्त जनमत सरकार बनाउन पुग्दैन ।” कसैलाई पनि बहुमत नआएको परिवेशमा चौथो ठूलो दलको रूपमा हामीले पनि नेतृत्व गर्न सक्छौँ उहाँले भन्नुभयो । “जनमत प्राप्त भएको ठूलो राजनीतिक दलले नै सरकार चलाउने हो । अव संवैधानिक व्यवस्थाअनुसार नै अगाडि बढ्नुपर्ने हुन्छ” उहाँले भन्नुभयो, “सरकार बनाउने कुरामा संसद् अनिर्णयको बन्दी नबनोस् भन्ने कुरामा पनि हामी सचेत हुनुपर्छ ।”

सभापति लामिछानेले अदालतमा विचाराधीन अवस्थामा रहेको आफ्नो नागरिकतासम्बन्धि विवादका विषयमा भने बोल्न नमिल्ने प्रतिक्रिया दिनुभयो । अदालतको फैसलाअनुसार नै आफूले प्रतिनिधि सभा सदस्यमा उठेको र शपथग्रहणसमेत गरेको बताउनुभयो । नागरिकता विवादको विषयमा आफूलाई अदालतले न्याय दिने विश्वास समेत व्यक्त गर्नुभयो । 

सभापति लामिछानेले भन्नुभयो, “अव अनुसन्धानमा रहेको, अदालती प्रक्रियामा रहेको विषयमा त खास बोलिरहन पर्दैन । सबै कुराहरू अधिकार प्राप्त निकायले अनुसन्धान गरिरहेका हुनाले अधिकार प्राप्त निकायले सोधेको खण्डमा म जहिले पनि उपलब्ध छु ।”