• १३ वैशाख २०८१, बिहिबार

रामचन्द्र पौडेल वा माधव नेपाल राष्ट्रपति बन्नुहुन्छ : अर्थमन्त्री शर्मा

blog

गाेरखापत्र अनलाइन

काठमाडाैँ, पुस ७ गते । अर्थमन्त्री जनार्दन शर्माले आगामी राष्ट्रपति नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल वा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालमध्ये एक हुने बत्ताउनुभएको छ ।

बिहीबार शपथग्रहणपछि सङ्घीय संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग बोल्दै अर्थमन्त्री शर्माले सो कुरा बताउनुभएको हो । यस्तै उहाँले आगामी सरकारको नेतृत्व नेकपा (माओवादी केन्द्र) को अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गर्ने बत्ताउनुभयो । 

उहाँले प्रधानमन्त्री अध्यक्ष प्रचण्डलाई बनाउने विषयमा भने गठबन्धनमा छलफल हुन बाँकी रहेको बताउनुभयो । उहाँले राष्ट्रपति राजनीतिक व्यक्ति हुने उल्लेख गर्दै बाहिर आएको चर्चाले अर्थ नराख्ने पनि बताउनुभयो ।

‘‘अबको सरकारको नेतृत्व हुनेवाला प्रधानमन्त्रीले गर्नुहुन्छ । जसमा मेरो तर्फबाट प्रचण्ड हुनुहुन्छ । अरूको विषयमा गठबन्धनले के भन्छ पछि थाहा हुन्छ । नेकपा माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने मेरो भनाइ हो । राष्ट्रपति राजनीतिक व्यक्तित्व हुन्छ । वरिष्ठ राजनीतिज्ञ जुन पार्टीमा हुनुहुन्छ त्यही पार्टीबाट राष्ट्रपति हुनुहुन्छ ।’’ उहाँले भन्नुभयो, ‘‘राजनीतिक व्यक्तित्व राष्ट्रपति बनाउनुपर्छ भन्ने विषयमा गठबन्धनमा छलफल भएको छ । मैले देखेको दुईजना हुनुहुन्छ । रामचन्द्र पौडेल र माधव नेपाल हुनुहुन्छ ।’’

२०६४ र २०७२ मा राष्ट्रपति पद अस्वीकार गरेको हुँ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका लागि आफू आकाङ्क्षी नरहेको प्रतिक्रिया दिनुभएको छ । शपथग्रहणपछि सङ्घीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले २०६४ साल र २०७२ सालमा आफूलाई राष्ट्रपतिको लागि प्रस्ताव गर्दा आफूले अस्वीकार गरेको बताउनुभयो । उहाँले त्यतिबेला उमेर नपुगेकाले आफूले अस्वीकार गरेको बताउनुभयो ।

उहाँले आगामी दिनमा राजनीतिले मागेको अवस्थालाई मध्यनजर गरेर आवश्यकतामा पद लिने बताउनुभयो । आवश्यक परेको खण्डमा सबै पदका लागि आफू तयार रहेको पनि उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘हामीले छलफल प्रारम्भ गरेकै छैनौँ । यो गठबन्धन कायम रहन्छ, पावर शेयरिङ सिद्धान्तको आधारमा परिस्थितिले माग गरेबमोजिम हुनेछ । राष्ट्रपतिको लागि २०६४ सालमा नै मलाई राष्ट्रपतिको निम्ति प्रस्ताव भएको थियो । त्यतिबेला मैले मेरो उमेर पुगेको छैन, भनेको हो ।’’