• १३ वैशाख २०८१, बिहिबार

पोखरा सडक महोत्सव : सुस्ताएको पर्यटन फर्काउने प्रयास

blog

पोखरा सडक महोत्सवबारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

काठमाडौं, पुस ७ गते । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पुस १३ देखि १७ गतेसम्म पोखरामा २४औँ पोखरा सडक महोत्सव हुने भएको छ । ‘सडकमै खाऔँ, सडकमै नाऔं, सडकमै रमाऔँ’ भन्ने नाराका साथ  रेस्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा पाँच दिने सडक महोत्सव हुन लागेको हो ।

कोरोना महामारीका कारण सुस्ताएको पोखराको पर्यटनलाई महोत्सवको माध्यमबाट फर्काउने प्रयास गरिन लागिएको बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले जानकारी दिनुभयो । उहाँले आगामी २५औँ संस्करणलाई रजत महोत्सवको रूपमा विशेष बनाउने तयारी भइरहेको जानकारी पनि दिनुभयो । 

आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि पोखराको लेकसाइडस्थित तीन किलोमिटर क्षेत्रमा महोत्सव आयोजना गर्न लागिएको पनि उहाँले बताउनुभयो । महोत्सव फिस्टेल गेटदेखि खहरे चोक हुँदै जरेवर लेकसाइडसम्म हुनेछ । महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, बोट रेस, खुल्ला भेट्रान टेनिस प्रतियोगिता, वेटर रेसलगायतका कार्यक्रम हुनेछन् ।

मुलुकको आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटन क्षेत्रले विदेशी मुद्राआर्जन, रोजगारी सिर्जना, समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्‍याउन सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ । पोखरा र गण्डकी प्रदेशको लुकेको संस्कृतिलाई सडक महोत्सवमार्फत उजागर गर्न खोजिएको रेवान पोखराका पूर्व अध्यक्ष एवं पोखरा पर्यटन परिषद्को पूर्व अध्यक्ष गोपी भट्टराईले बताउनुभयो ।

सडक महोत्सवमा करिब पाँच लाख आन्तरिक र बाह्य पर्यटकको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । महोत्सव आयोजनामा ७० लाख रुपियाँ खर्च हुने जानकारी पनि पूर्व अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । उहाँले पोखराका होटलले दैनिक ४५ हजार पर्यटकलाई सेवा दिन सक्ने र नेपाल आउने कूल पर्यटकमध्ये ४० प्रतिशत पोखरा घुम्न जाने पनि बताउनुभयो । साथै महोत्सवको अवसरमा पोखरामा पर्यटकलाई होटलहरुले २० प्रतिशतसम्म छुट दिने आयोजकले जनाएको छ । 

रेवानका केन्द्रीय अध्यक्ष अरनिको राजभण्डारीले निजी क्षेत्रको आयोजनामा हुन लागेको सबैभन्दा ठूलो सडक महोत्सवलाई सफल बनाउन सरकार र सम्बन्धित सबै पक्षको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । आयोजकका अनुसार महोत्सवमा आयोजकले बसुन्धारा पार्कमा १६ वटा विशेष स्टल राख्ने र सडकमा समेत एकसय भन्दाबढी स्टल राखिनेछ ।

महोत्सवमा आयोजक गण्डकी प्रदेशसहित सातवटै प्रदेशको प्रतिनिधिमूलक सहभागिता रहनेछ । महोत्सवलाई पर्यटन बोर्ड, पोखरा महानगर पालिका लगायत विभिन्न सङ्घ संस्थाको सहयोग रहेको बताइएको छ ।