• १३ वैशाख २०८१, बिहिबार

पर्यटन प्रवर्द्धन गर्न बागलुङदेखि पोखरा साइकल यात्रा

blog

नवीन शिशिर विक

बागलुङ, पुस ७ गते । बागलुङ र पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल यात्रा सुरु गरिएको छ । 

साइकल सिटी पोखराको आयोजना र बागलुङ नगरपालिका, उद्योग वाणिज्य सङ्घ र शालिग्राम सङ्ग्रहालयलगायतका संस्थाहरूको समन्वयमा बागलुङ सदरमुकाममा रहेको प्रसिद्ध कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍यालीको आयोजना गरिएको हो ।

र्‍यालीको गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले बागलुङ कालिका मन्दिरमा उद्घाटन गर्नुभयो । उहाँले पर्यावरणको रक्षा र पर्यटन प्रवर्द्धनका लागि र्‍यालीको महत्त्वपूर्ण सन्देश रहेको बताउनुभयो ।

साइकल यात्रा पर्यावरणको संरक्षण र मानवीय जीवनको लागि फलदायी हुने उहाँको भनाइ थियो । साइकल संस्कृति पद्धतिलाई मानवीय जीवन पद्धतिसँग जोड्न आवश्यक रहेको मन्त्री शर्माले जोड दिनुभयो । 

साइकल र्‍यालीले वातावरण संरक्षणमा चेतनामूलक सन्देश प्रवाह गर्दै बागलुङ र पोखरालाई पर्यटनका माध्यमबाट नजिक बनाउन बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले बताउनुभयो । पोखरामा हुँदै गरेको मेयरकप साइकल दौड प्रतियोगिताका अवसरमा पोखरा आउने पर्यटकलाई बागलुङसम्म आउने वातावरण बनाउन र्‍यालीका लागि अनुरोध गरिएको बागलुङ नगरपालिकाले जनाएको छ । 

‘‘यो र्‍यालीको बागलुङमा मिलेर व्यवस्थापन गरेका र्छौँ’’ बागलुङ नगरपालिकाका कार्यवाहक नगरप्रमुख कोपिला मणि शर्माले भन्नुभयो– ‘‘पोखरा आउने पर्यटकलाई बागलुङमा पनि घुम्ने ठाउँ छन् भन्ने सन्देश र्‍यालीले दिनेछ ।’’ 

र्‍यालीमा काठमाडौं, सिन्धुपाल्चोक, बाँके, रुपन्देही, सुनसरी, नुवाकोट, धादिङ, स्याङ्जा, तनहुँलगायतका जिल्लाबाट दुई सय जना यात्रीको सहभागिता छ । पोखरादेखि सिधै मुस्ताङ पुग्ने पर्यटकले यसपछि बागलुङको बाटो रोज्ने समन्वय गरेका संस्थाहरूको विश्वास छ । 

विदेशी साइकल पर्यटक तथा आन्तरिक पर्यटनलाई आमन्त्रण गर्दै ‘थोपा थोपा इन्धन बचाउ’ भन्ने नाराका साथ पोखरामा आयोजना गरिएको प्रतियोगिताको सन्देश बागलुङबाट दिइएको हो । साइकल र्‍याली बागलुङ कालिकाबाट सुरु भएको र्‍याली बजार परिक्रमापछि पर्वतको कुस्मा बजार हुँदै पोखराको विन्ध्यवासिनी मन्दिर पुगेर समापन हुनेछ । 

साइकलयात्रीलाई बागलुङ बजारमा स्थानीयले आ–आफ्नो जातीय संस्कृतिअनुसार स्वागत गरेका थिए । नेवा: समुदायले परम्परागत बाजागाजासहित यात्रीहरूलाई सगुन प्रदान गरेका थिए ।

उद्योग वाणिज्य सङ्घले पनि सार्वजनिक स्थलमा साइकलयात्रीलाई स्वागत गरेको थियो । पोखरा प्रस्थान गर्नुअघि करिब दुई सय साइकलयात्रीले बागलुङको बाङ्गेचौर–रामरेखा–ट्राफिक चोक, समिट चोक, पेन्सन क्याम्पस, उपल्लाचौर हुँदै शालिग्राम सङ्ग्रहालयसम्म परिक्रमा गरेका थिए ।