• ७ वैशाख २०८१, शुक्रबार

प्रिमियर लिगका टिमलाई सफलता

blog

लन्डन, पुस ७ गते । विश्वकप फुटबल प्रतियोगिता–२०२२ को समापनसँगै विश्वका घरेलु प्रतियोगिता सुरु भएको छ। इङ्ग्ल्यान्डमा पनि मङ्गलबार राति इङ्ग्लिस लिग कप सुचारु भयो। करिब डेढ महिनाको विश्रामपछि भएको लिग कपमा प्रिमियर लिग क्लब वोल्भरह्याम्पटन, न्युक्यासल, लेस्टर र साउथाम्पटनले जित हात पारेका छन्।

राउल जिमिनेज र रायन आइट नोउरीले अन्तिम समयमा गोल गरेपछि वोल्भरह्याम्पटनले चौथो डिभिजनको गिलिङ्घमलाई २–० ले हरायो। कतार विश्वकपमा मेक्सिकोका लागि खेलेका जिमिनेजले पेनाल्टीमा गोल गर्नुभएको हो। त्यसपछि नोउरीले इन्जुरी समयमा गोल गरी वोल्भ्सको जित पक्का गर्नुभयो।

 वोल्भरह्याम्पटनका नयाँ प्रशिक्षक युलेन लोपेटिगुईलाई यो नतिजाले विजयी सुरुआत दिलाएको छ। लोपेटिगुई स्पेनका पूर्वप्रशिक्षक हुनुहुन्छ। उहाँ सेभिया र रियल म्याड्रिडको प्रशिक्षक पनि बनिसक्नुभएको छ। अब लोपटिगुईसमक्ष प्रिमियर लिगमा अन्तिम स्थानमा रहेको वोल्भ्सलाई माथि उकास्ने चुनौती छ। प्रिमियर लिग सोमबारदेखि सुचारु हुनेछ।

न्युक्यासलले अर्को प्रिमियर लिग क्लब बोर्नेमाउथलाई १–० ले हरायो। सो खेलमा बोर्नेमाउटका एडम स्थिमले गरेको आत्मघाती गोलले जितहारको छिनोफानो ग-यो। खेलको ६७औँ मिनेटमा इङ्ग्ल्यान्डको राष्ट्रिय टिमका डिफेन्डर किरन ट्रिपरको क्रस हेड गरी विफल पार्ने क्रममा स्मिथले आफ्नै गोलपोस्टमा बल छिराउनुभएको हो।

लेस्टरले तेस्रो डिभिजनको एमके डन्सलाई सजिलै ३–० ले हरायो। लेस्टरका लागि युरी टिलिमेन्स, आयोज पेरेज र भेटरान फरवार्ड जेमी भर्डीले गोल गर्नुभयो। खेलको १८औँ मिनेटमै विश्वकपमा बेल्जियमको प्रतिनिधित्व गरेका टिलिमेन्सले गोल गर्नुभएको थियो। पूर्वाद्र्धमै पेरेजले लेस्टरको अग्रता दोब्बर पार्नुभयो भने भर्डीले मध्यान्तरछि गोल गरी लेस्टरको जित पक्का गर्नुभयो।

चे एडम्सले दुई गोल गरेपछि साउथाम्पटनले लिन्कनलाई २–१ ले पराजित ग-यो। साउथाम्पटनका गोलक्षक गाभिन बाजुनुले आत्मघाती गोल गरेपछि तेस्रो डिभिजनको क्लब लिन्कनले सुरुमै अग्रता बनाएको थियो तर एडम्सले दुई गोल गरेपछि लिग कपमा स्तब्धकारी नतिजा आएन। एपी