• १३ वैशाख २०८१, बिहिबार

प्रदेश सदस्यको शपथ पुस ११ गते

blog

नवीन सुवेदी 

सुर्खेत,  पुस ७ गते । कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूको शपथ पुस ११ गते हुने भएको छ । संविधानको धारा १८३ (१) अनुसार प्रदेश प्रमुखले निर्वाचन परिणाम घोषणा भएको २० दिनभित्र अधिवेशन आह्वान गरिसक्नुपर्ने संवैधानिक प्रावधान अनुसार कार्यक्रमको तयारी थालिएको हो । 

सभामुख र उपसभामुखको निर्वाचन नहुन्जेल प्रदेशसभाको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने छन् । प्रदेशसभामा सबैभन्दा ज्येष्ठ सदस्यको रूपमा नेकपा एमालेका विनोद कुमार शाह हुनुहुन्छ । दैलेख निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित शाह एमालेका प्रदेश अध्यक्षसमेत हुनुहुन्छ । 

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले शाहलाई प्रदेश प्रमुखले शपथ गराउने र त्यसपछि शाहले प्रदेशसभाका अन्य सदस्यलाई शपथ खुवाउने बताउनुभयो । प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले नवनिर्वाचित सांसदहरूको शपथ ग्रहणको लागि तयारी पूरा गरिएको  जानकारी दिनुभयो । ‘हाम्रो तर्फबाट गर्ने तयारी हामीले पूरा गरिसकेका छौँ,’ बुढाथोकीले भन्नुभयो, ‘संसदीय दलहरूको कार्यालयको व्यवस्थापनदेखि संसद् भवनलाई रङ रोगन गर्ने सम्पूर्ण कार्य सम्पन्न भइसकेको छ ।’