• १३ वैशाख २०८१, बिहिबार

सिग्नेचर पुल निर्माणको काम छिटो अघि बढाउन आग्रह

blog

बुटवलका मेयर खेलराज पाण्डेय काठमाडौंमा सडक विभाग र विश्व बैंकका प्रतिनिधिसँग छलफल गर्नुहुँदै ।

छविलाल पाण्डे 

बुटवल, पुस ६ गते । बुटवलको तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका विषयमा बुटवल उपमहानगरपालिका, सडक विभाग र विश्व बैंकका प्रतिनिधिबीच छलफल भएको छ । पुलको आर्किटेक्ट डिजाइन तयार भैसकेको छ भने पुल निर्माणका विषयमा रहेका जटिलताका विषयमा बुटवल नगर प्रमुख खेलराज पाण्डेयले सडक विभाग र विश्व बैंकका प्रतिनिधिसँग छलफल गर्नुभएको हो । 

काठमाडौंमा भएको छलफलमा नगरप्रमुख पाण्डेयले बुटवलले लाभ लिनेगरी पुल निर्माणमा सहकार्य गर्न तयार रहेको बताउनुभयो । छलफलमा पुल निर्माणको काम छिटो अघि बढाउन आग्रह गरेको बताइएको छ । त्यसका लागि बुटवल उपमहानगरपालिकाले गर्नुपर्ने सहयोगका लागि तयार रहेको बताएको जानकारी दिनुभयो । 

छलफल कार्यक्रममा सडक विभागका उपमहानिर्देशक तथा वैदेशिक सहायता कार्यान्वयन महाशाखा प्रमुख रामहरि पोखरेलले अहिलेको पुल विस्थापित गरेर नयाँ पुल बन्ने भएकाले बुटवल उपमहानगरपालिकाको स्वीकृति र सहकार्यविना पुल बन्न नसक्ने बताएको नगर प्रमुख पाण्डेले बताउनुभयो । 

पोखरेलले पुल निर्माणसँगै बुटवलदेखि कपिलवस्तुको गोरुसिंंगेसम्मको सडक समेत विस्तार गरिने भएकाले बुटवल क्षेत्रभित्र हुने निर्माणमा बुटवल उपमहानगरपालिकाको सहयोग जरुरी रहेको बताउनुभएको थियो । 

छलफलका क्रममा विश्व बैंकका वरिष्ठ यातायात विज्ञ डा. हिशाम एम फाउडले बुटवलमा पुल निर्माणका क्रममा बुटवल उपमहानगरपालिकाको साथ जरुरी रहेको बताएको पनि नगर प्रमुख पाण्डेयले जानकारी दिनुभयो । 

विश्व बैंकको ऋण सहयोगमा सरकारले चितवनको नारायणी नदी र बुटवलको तिनाउ नदीमा गरी दुई वटा पुल बनाउने तयारी गरेको छ । चिनियाँ, भारतीय, स्वीस र नेपालका पुल विज्ञहरूसँगको परामर्शमा सिग्नेचर पुलको आर्किटेक्ट र स्ट्रक्चर डिजाइनको काम सम्पन्न भएको नगर प्रमुख पाण्डेयले जानकारी दिनुभयो । 

भारतमा मुख्य कार्यालय रहेको अन्तर्राष्ट्रिय कम्पनी टोटल सिनर्जी कन्सल्टिङले यो पुलको आर्किटेक्ट डिजाइन तयार पारेको छ । पुलको स्ट्रक्चर डिजाइन भने स्वीस सरकारको स्वीस डेभलपमेन्ट कोअपरेशनले गरेको हो ।