• १५ चैत २०८०, बिहिबार

मुलुकको अभिभावक बनेर काम गर्छु : ज्येष्ठ सदस्य जबरा

blog

सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबरा । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, पुस ६ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवम् प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले पदमा रहुन्जेलसम्म मुलुकको अभिभावक बनेर काम गर्ने बताउनुभयो ।

बुधबार सिंहदरबारस्थित संसद सचिवालयमा पुगेर पदभार ग्रहणपछि ज्येष्ठ सदस्य जबराले सो कुरा बताउनुभएको हो ।

पदभार ग्रहण गर्नुअघि ज्येष्ठ सदस्य जबराले राष्ट्रपति निवासमा पुगेर ज्येष्ठ सदस्यको हैसियतले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो ।

त्यसलगत्तै सभामुखको कार्यालयमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहणपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उहाँले आफ्नो भूमिका तटस्थ र स्पष्ट हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सभामुखको भूमिका स्पष्ट छ । तटस्थ हुनुपर्छ । देशको भलोका लागि सबैको बीचमा समन्वयात्मक भूमिका निभाउनु पर्नेछ । सबैसँग समन्वय गरेर अघि बढ्नेछु । सदनको पवित्र प्रजातान्त्रिक भावना र बहुदलीय स्वरूपलाई अघि बढाउने काम गर्नेछु । केही दिनका लागि भए पनि मुलुकको अभिभावकको रूपमा देशलाई अघि बढाउन पहल गर्नेछु ।’

जबराले ज्येष्ठ सदस्यको हैसियतमा सभामुखको भूमिकालाई निष्पक्ष राख्ने बताउनु भयो । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य जबराले देशका लागि राम्रो काम गर्न सबै राजनीतिक दलबीच समन्वयात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले सदनको पवित्र प्रजातान्त्रिक भावना र बहुदलीय स्वरूपलाई अघि बढाउने काम आफूले गर्ने प्रतिबद्धता जनाउनु भयो ।

राप्रपाका पूर्वअध्यक्ष रहनुभएका ८० वर्षीय जबरा प्रतिनिधि सभामा सबैभन्दा बढी उमेरको सांसद हुनुहुन्छ । गत मङ्सिर ४ गतेको निर्वाचनबाट निर्वाचित सङ्घीय सांसदलाई बिहीबार जबराले शपथ ग्रहण गराउनु हुनेछ । संसद्ले नयाँ सभामुख चयन नगरेसम्म राणाले नै संसद्को अध्यक्षता गर्नुहुनेछ ।