• १५ चैत २०८०, बिहिबार

संसद अधिवेशन आह्वानपछि सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्छ : प्रवक्ता पाण्डे

blog

संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे । तस्बिर : न्युज एजेन्सी नेपाल

काठमाडौं, पुस ६ गते। सङ्घीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्ने बताउनुभएको छ। बुधबार सिंहदरबारमा न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। 

प्रवक्ता पाण्डेले राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया १५ दिन भित्र सम्पन्न गर्नेगरी कानुनमा व्यवस्था भएकाले सोही अनुसार संसद सचिवालयले एजेण्डा अघि बढाउने बताउनुभएको हो। 

उहाँले संसद भवनमा बिहीबार दिउँसो १ बजेका लागि नवनिर्वाचित सांसदको शपथ ग्रहण हुने जानकारी गराउनुभयो। बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आइसिसी हलमा सांसदको शपथ ग्रहण ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले गराउनु हुनेछ। 

उहाँले मातृ भाषामा शपथ ग्रहण गर्न चाहने सांसदले पूर्व सूचना दिएपछि मात्रै मातृ भाषामा शपथ ग्रहणको भाषा तयार गरिने बताउनुभएको छ। 

उहाँले भन्नुभयो, ‘‘शपथ ग्रहणका लागि नेपाली भाषामा लेखिएको प्रमाणपत्रको शपथको ब्यहोरा सहितको पत्र हामीले उहाँहरूलाई उपलब्ध गराउनेछौँ। त्यसपछि शपथ ग्रहणको लागि पूर्व सूचना दिएर मातृ भाषामा शपथ ग्रहणका लागि अनुवाद गरेर उहाँहरूले आफ्नो भाषामा ल्याउनुभएको छ। त्यसलाई पनि हामीले समावेश गर्नेछौँ।’’

शपथ ग्रहणपछि प्रतिनिधि सभा सदस्यले संसदीय गतिविधिमा औपचारिक रूपमा अघि बढ्न सक्नेछन्। ‘‘राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया १५ दिन भित्र सम्पन्न गर्नेगरी कानुनमा व्यवस्था भएको हुनाले त्यही अनुसार एजेण्डा अघि बढ्छ’’, उहाँले भन्नुभयो। 

प्रवक्ता पाण्डेले शपथ ग्रहणपछि संसदमा सहभागी राजनीतिक दलले संसदीय गतिविधि औपचारिक रूपमा अघि बढाउन सक्ने बताउनु भयो।