यसरी छानिन्छन् समानुपातिक सांसद

काठमाडौँ, मङ्सिर २६ गते ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना जारी छ ।  जारी मतगणनाले कुन दलको कति सिट निर्धारण हुन्छ, सबैको चासो छ ।  नयाँ पार्टीहरूले तोकिएको ‘थ्रेसहोल्ड’ कटाएर समानुपातिकतर्फ सिट पाउँछन् वा पाउँदैनन् धेरैले नजिकबाट हेरिरहेका छन् ।  
पहिलो चरणमा निर्वाचन सम्पन्न भएका अधिकांश जिल्लामा समानुपातिकतर्फको मतगणना भइरहेको छ ।  मनाङ, मुस्ताङ लगायतका जिल्लामा गणना सकिएको छ ।  प्रत्यक्षतर्फ मतगणना सकिएका सबै जिल्लामा समानुपातिक मतगणना जारी छ ।  
निर्वाचन आयोगको तयारीअनुसार बढीमा एक सातामा समानुपातिकतर्फको पनि मतगणना सक्ने लक्ष्य छ ।  मतगणनाको अन्तिम परिणाम आयोगले पाएपछि दलहरूले पाएको मतका आधारमा सिट सङ्ख्या मिलाउन आयोगले दलहरूलाई
सूचित गर्नेछ ।  
निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले मत प्राप्त भएपछि दलले पाएको मतका आधारमा सिट मिलाउन आग्रह गरिने बताउनुभयो ।  पौड्यालले भन्नुभयो, “अन्तिम मतपरिणाम आएपछि हामी सिट बाँडफाँटका लागि न्यूनतम थ्रेसहोल्ड कटाएका दलहरूलाई सिट मिलाएर पठाउन सूचित गर्छौं । ”
यसरी छानिन्छन् सांसद
समानुपातिक निर्वाचन प्रणालीमा प्रतिनिधिसभातर्फ देशलाई एकै क्षेत्र मानेर दलहरूले प्रतिस्पर्धा गर्छन् ।  त्यस्तै प्रदेशगत रूपमा भने सिङ्गो प्रदेश एक निर्वाचन क्षेत्र कायम हुन्छ ।  दुवैतर्फ निर्वाचन क्षेत्रबाट प्राप्त गरेको सदर मतका आधारमा सिट बाँडफाँट हुन्छ ।  
कुल सदर मतको तीन प्रतिशत नकटाउने दलको मत हिसाब हुनेछैन ।  प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा ६० को व्यवस्थाअनुसार सबै निर्वाचन क्षेत्रबाट आयोगले विवरण प्राप्त गरिसकेपछि आयोगले दलले प्राप्त गरेको कुल सदर मत सङ्ख्याको अनुपातमा मतपरिणाम विभाजक सूत्रका आधारमा निर्वाचित हुने सांसद सङ्ख्या तय गर्नेछ ।  दलहरूले प्राप्त गरेको कुल सदर मतलाई भाग गरी प्राप्त गर्ने सिट सङ्ख्या बाँडफाँट गर्दा कुनै सिटमा भागफल बराबर भएमा गोला हाली सिट बाँडफाँट छिनोफानो हुनेछ ।
मतपरिणाम विभाजक सूत्रअनुसार प्रत्येक दलका लागि खसेको मतलाई भाग गर्ने पद्धतिले निरन्तर भाग लगाइनेछ ।  यसअनुसार दलले प्राप्त गरेको मतपरिणामलाई धेरै भाजक अङ्कले भाग गरिन्छ ।  उल्टो क्रमबाट १, ३, ५, ७, ९ जस्ता बिजोर अङ्कले भाग गरी सिट निर्धारण गरिन्छ ।  सिट सङ्ख्या ठूलो भागफलबाट सानोलाई बाँडफाँट गर्दै तोकिएको सिट नसकिँदासम्म बाँडफाँट गरिनेछ ।  सिट बाँडफाँट गर्दा कुनै पनि दलले जतिसुकै मत प्राप्त गरेको भए पनि त्यस्तो दलले सूचीमा सूचीकृत गरेको उम्मेदवार सङ्ख्यामा सीमित रही सिटको बाँडफाँट हुन्छ ।  
एक सिटका लागि थ्रेसहोल्ड कति कायम हुन्छ भन्ने अङ्क गणित नमिल्न सक्छ ।  मत विभाजक सूत्रका आधारमा अन्तिम सिटसम्म भाग गर्दै जाँदा आउने अन्तिम सानो एकाइ एक सिट प्राप्तका लागि हुने औसत मत कायम हुन्छ ।  
थ्रेसहोल्ड नकटाउने मत के हुन्छ ?
थ्रेसहोल्ड नकटाउने दलले सिट पाउँदैनन् ।  
र, यस्ता दलहरूले पाएको मत एक हिसाबले खेर नै जान्छ ।  निर्वाचन आयोगको संस्थागत जानकारीमा मत कायम रहन्छ ।  यस्तो मत बाहेकका बाँकी मतमात्र थ्रेसहोल्ड कटाउने दलबीच मतका आधारमा बाँडफाँट हुन्छ ।  बाँकी रहेको मतलाई नै शतप्रतिशत मानी निर्धारित सिट सङ्ख्याका आधारमा दललाई सिट बाँडफाँट हुन्छ ।  
यसरी सिट बाँडफाँट गर्दा तीन प्रतिशतभन्दा कम मत प्राप्त गर्ने दलले प्राप्त गरेको मत कुल मतमा गणना हुँदैन ।  यसरी थ्रेसहोल्ड नकटाउने दलले पाएको मत खेर नै गए पनि बाँकी मत शतप्रतिशत मान्दा सिट पाउने अन्य दललाई अप्रत्यक्ष फाइदा हुन्छ ।  यसले सिट पाउन चाहिने न्यूनतम मत सङ्ख्यालाई कम गर्नेछ ।  
थ्रेसहोल्ड कति कायम होला ?
दुई चरणका निर्वाचनमा गरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कुल एक करोड पाँच लाख ८७ हजार ५२१ मत खसेको छ ।  यो बदर मतसमेत हो ।  यसअघिको ‘ट्रेन्ड’ अनुसार तीन प्रतिशत मत बदर भएमा थ्रेसहोल्डका लागि तीन लाख छ हजार हुन आउँछ ।  तोकिएको तीन लाख छ हजार मत नकटाउने दलले पाएको मत खेर जान्छ ।  
यसरी तोकिएको थ्रेसहोल्ड कटाएको अवस्थामा राजनीतिक दलले कम्तीमा चार सिट पाउन सक्छ ।  तर, प्रदेशसभाको हकमा भने तोकिएको एक दशमलव ५ प्रतिशत थ्रेसहोल्ड कटाए पनि सिट पाउने ग्यारेन्टी भने हुन्न ।  किनभने मत विभाजक सूत्रअनुसार प्रदेशका लागि तोकिएको सिट बाँड्दा थ्रेसहोल्डका लागि तोकिएको मत प्रतिशतभन्दा सिटका लागि आवश्यक मत बढी हुनसक्छ ।  
दलहरूले उम्मेदवार सिफारिस गर्दा समानुपातिक समावेशी रूपमा सिफारिस गर्नुपर्नेछ ।  प्रतिनिधिसभाका लागि देशभरको समानुपातिक समावेशी सूची तयार पार्नुपर्नेछ ।  प्रदेशको हकमा भने प्रदेशअनुसार नै फरकफरक समानुपातिक प्रतिनिधित्वको व्यवस्थाअनुसार सूची तयार पार्नुपर्नेछ ।
 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds