• १३ वैशाख २०८१, बिहिबार

संविधान र सङ्घीयताको कार्यान्वयन भएको छ : मुख्यमन्त्री राउत

blog

धर्बेन्द्र झा 

धनुषा, पुष ६ गते । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफनो पाँच वर्षे कार्यकालमा प्रदेश सरकारले मुख्यरुपमा संविधान र सङ्घीयताको सफल कार्यान्वयनका लागि काम गरेको बताउनुभएको छ । 

आफनो पाँचवर्षे कार्यकालको अन्तिम समयमा आएर बुधबार बिहान मुख्यमन्त्री निवास मधेश भवनमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । पहिलो पटक प्रदेश सरकार गठन भएको बेला भौतिक संरचनाको साथै कानूनको अभाव भएको अवस्थामा प्रदेश सरकारले आफनो पाँचवर्षे समयमा ५५ वटा ऐन कानुन निर्माण गर्नुको साथै संविधान र सङ्घीयताको सफल कार्यान्वयनका लागि विभिन्नखालका संरचनाको निर्माण गरिएको बताउनुभयो । 

संविधानको अनुसूचीमा रहेका अधिकारहरु प्रदेशले पाओस्, त्यसका लागि प्रदेश प्रहरी ऐनसहितका विभिन्न ऐनहरु प्रदेश सरकारले निर्माण गरेर त्यसको कार्यान्वयनका लागि सर्वोच्चमा रिट दर्तासम्मका सफल प्रयासहरु पनि प्रदेश सरकारले गर्दैआएको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री राउतले भन्नुभयो, “मधेश प्रदेश पहिलो प्रदेश हो जहाँ हामीले तीन वटा विश्वविद्यालयको परिकल्पना गरेको र तीनै विश्वविद्यालय अहिले सञ्चालनमा छन् । मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठान, मधेश कृषि विश्वविद्यालय र मधेश विश्वविद्यालयले आफ्ना कार्यक्रम सञ्चालन गरिसकेको बताउँदै उहाँले शिक्षा क्षेत्रमा प्रदेश सरकारले अपेक्षित काम गरेको बताउनुभयो । 

शिक्षाको साथै प्रदेश सरकारले सामाजिक रुपान्तरणका लागि र त्यसमा पनि महिला, दलित  र उत्पीडित समुदायका लागि आवश्यक ऐन कानुन निर्माण गरी महिलालाई हरेक क्षेत्रमा ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको बताउनुभयो । महिला सशक्तीकरणका लागि छोरी बीमा, महिलालाई लोकसेवा कक्षाको तयारी, कक्षा ८ मा पढ्ने किशोरीलाई साइकल वितरणजस्ता कार्यक्रम सञ्चालन गरी प्रदेश सरकारले समाज रुपान्तरणका लागि कामकाज गरेको बताउनुभयो । 

प्रदेश सरकारले निर्माण गरेको दलित सशक्तीकरण ऐनसहितका विभिन्न ऐनका कारण समाजमा उत्पीडनमा परेका समुदाय सामाजिक विभेद हुनबाट वञ्चित हुने र तिनीहरुको अधिकार स्थापित भएको दाबी उहाँले गर्नुभयो । पाँचवर्षे कार्यकालमा आफूलाई प्रतिपक्षीले पनि निकै सहयोग गरेको उहाँले चर्चा गर्नुभयो । 

चार पटक प्रदेश सरकारले ल्याएको बजेट सर्वसम्मतिले पारित भएको र एक पटक मात्रै बहुमतको अधारमा बजेट पारित गर्नुपरेको उहाँले स्मरण गर्नुभयो । पहिलो पटक मुख्यमन्त्री बन्दा भौतिक संरचना, सरकार सञ्चालनका लागि ऐन कानुनको अभाव, कर्मचारीको अभावजस्ता विभिन्नखालका चुनौतीको आफूले सामना गर्नुपरेको बताउँदै उहाँले धेरैजसो ऐन कानुन निर्माण भइसकेकाले सरकारलाई अबका दिनमा कामकाज गर्न सहज हुने बताउनुभयो । 

सुशासन र समाज रुपान्तरणका लागि वर्तमान सरकारले गरेको कामकाज लाई निरन्तरता दिन आउने सरकारलाई आग्रह गर्दै आफ्नो पाँचवर्षे कार्यकालमा सञ्चारसहित विभिन्न पक्षवाट भएको सहयोगका लागि सबैमा धन्यवाद ज्ञापन गर्नुभयो । अव बन्ने नयाँ सरकारमा जसपा जाने नजाने विषयमा पार्टीले निर्णय लिने भन्दै सङ्घबमोजिम नै प्रदेशहरुमा पनि सरकार गठन हुने बताउनुभयो ।