• १२ वैशाख २०८१, बुधबार

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न सफल

blog

काठमाडौं, मङ्सिर ६ गते । गैर आवासीय नेपाली सङ्घका अध्यक्ष रबिना थापाले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने प्रयास  सफल भएको बताउनु भएको छ । 

अध्यक्ष थापाले सङ्घले लगातार नेपाल सरकार र सम्बन्धित निकायसँग गरेको पहलले मूर्तरूप लिएको बताउनु भएको हो । 

सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको सामाजिक सुरक्षा योजना कार्यविधि सार्वजनिक पनि गरेको छ । 

आप्रवासनलाई सुरक्षित र मर्यादित बनाउने पछिल्लो यो कदम प्रभावकारी हुने उहाँको भनाइ छ । सङ्घले सरकारसँग  विभिन्न चरणमा छलफल, समन्वय गर्दै आएको थियो । 

सरकारले कार्यविधि ल्याएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिक पनि सामाजिक सुरक्षा कोषमा औपचारिकरुपमा जोडिन बाटो खुलेको भन्दै थापाले सरकारले गरेको यो निर्णयले विदेशमा रहेका श्रमिकलाई राहत मिलेको बताउनुभयो ।

अध्यक्ष थापाले भन्नुभयो, ‘‘सङ्घकै तर्फबाट पटक पटक सामाजिक सुरक्षा कोष हुनुपर्छ भन्ने विषयको उठान गर्दै आएको थियो । त्यसको सम्बोधन नेपाल सरकारले गरेको महसुस हामीले गरेका छौँ ।’’

हाल, वैदेशिक रोजगारीका क्षेत्रमा विस्तार गरी योगदानमा आधारित सामाजिक सुरक्षालाई व्यापक र प्रभावकारी बनाउँदै अर्थतन्त्रको एक संवाहकको रूपमा स्थापित गर्नका लागि नेपाल सरकारसँग सङ्घले सहकार्यसमेत गरिरहेको  छ । 

अध्यक्ष थापाले आगामी दिनमा पनि नेपाल सरकारसंग सहकार्य र समन्वय गरी यो कार्यको प्रचार प्रसार, अभिमुखीकरण एवं समयसापेक्ष योजना बनाई त्यसको कार्यक्रम गर्ने लगायतका कार्यमा हामी नेपाल सरकारको सहयात्री बन्ने बताउनुभयो ।

कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले विदेशमा बस्ने नेपालीलाई योगदानमा आधारित कोषमा आबद्ध हुन आह्वान गर्नुभयो ।

कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले एनआरएनएको निरन्तर  सहकार्य र पहलका लागि धन्यवाद व्यक्त गर्नुभयो । 

का साथै आगामी दिनमा पनि सहयोग र सहकार्यका लागि आग्रह गर्नुभयो । उहाँले यस कार्यकमा सहयोग गर्नु हुने सङ्घका पदाधिकारीहरू लगायत सम्पूर्ण अग्रज तथा अभियन्ताहरू प्रति हार्दिक धन्यवाद प्रकट गर्नुभयो ।