• १६ चैत २०८०, शुक्रबार

यी हुन् संसदीय दलका नेता : प्रधानमन्त्री बन्न बाटाे खुल्याे

blog

काठमाडौं, पुस ६ गते । प्रतिनिधि सभा र प्रदेश सभाको अन्तिम मतपरिणाम बुझाइसकेपछि राष्ट्रपतिद्वारा सरकार गठनका लागि आह्वान गरिएको छ । नियमित प्रक्रिया अनुसार हालसम्म छवटा राजनीतिक दलले संसदीय दलको निर्वाचनमार्फत नेता चयन गरेका छन् । 

नेपाली कांग्रेसबाहेक अन्य पाँच दलका नेता भने सर्वसम्मत चयन भएका छन् । प्रमुख दलहरुमध्ये नेकपा (माओवादी केन्द्र) को संसदीय दलको निर्वाचन हुन बाँकी छ । दलको नेता भएपछि अब प्रधानमन्त्री बन्न पनि बाटो खुला भएको छ । 

देउवा छैटाैँ पटक नेता बन्न सफल

नेपाली कांग्रेसको संसदीय दलको नेता प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा  विजयी हुनुभएको छ । कांग्रेसको संसदीय दलको नेतामा प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दिनुभएको थियो । देउवाको पक्षमा ६४ सांसदको मत र थापाले  २५ मत प्राप्त गर्नुभयो । देउवाले ३९ मतान्तरले विजयी हुनुभएको छ । कुल मत ८९ छ । 

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा देउवा डडेलधुराबाट निर्वाचित हुनुभएको थियो । देउवा २०७९ असार २९ गते पाँचौँ पटक प्रधानमन्त्री हुनुभएको हो । वि.सं. २०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उहाँ गृहमन्त्री बन्नुभयो । देउवाले पञ्चायतकालमा विद्यार्थी जीवनदेखि राजनीति सुरु गर्नुभएको थियो ।

सभापति देउवा यो सँगै छैठौँ पटक पार्टीको संसदीय दलको नेता बन्नुभएको छ । यस अघि उहाँ विसं २०५१, २०५८, २०६३, २०७२ र २०७४ मा समेत संसदीय दलको नेता निर्वाचित हुनुभएको थियो ।

एमालेमा ओली नै नेता 

नेकपा (एमाले) को संसदीय दलको निर्वाचनमा अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन हुनुभयो ।  उहाँ झापा– ५ बाट विजयी प्रतिनिधि सभा सांसद हुनुहुन्छ । 

अध्यक्ष ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएको थियो । २०७२ असोज २४ गते पहिलो पटक प्रधानमन्त्री पदमा निर्वाचित हुनुभयो । २०७४ सालमा एमाले र माओवादी सम्मिलित नेकपा सरकार हुदा उहाँ प्रधानमन्त्री बन्नुभयो ।

समाजवादीमा नेपाल 

नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन हुनुभएको छ । पार्टीका महासचिव डा. वेदुराम भुषालले केन्द्रीय कार्यालयमा बसेको बैठकले संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको जानकारी दिनुभयो । 

एकीकृत समाजवादीको दलको उपनेतामा उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र दलको सचेतकमा उपमहासचिव प्रकाश ज्वाला चयन हुनुभएको छ । 

अध्यक्ष नेता रौतहट–१ बाट विजयी प्रतिनिधि सभा सांसद हुनुहुन्छ । वि.संं. २०६६ मा प्रधानमन्त्री रहनुभएका नेपालले वि.सं. २०२६ मा कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएको थियो । यसअघि उहाँ नेकपा (माले) का संस्थापक सदस्य र नेकपा (एमाले) का पूर्व महासचिव हुनुुहुन्थ्यो । 

गत वर्ष २०७८ सालमा एमाले औपचारिक विभाजन भई नेपाल नेतृत्वको एकीकृत समाजवादी गठन भएको थियो । 

राप्रपामा लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन हुनुभएको छ । धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले सर्वसम्मत लिङ्देनलाई चयन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । 

पूर्व महामन्त्री रहनुभएका लिङ्देन गत वर्ष काठमाडौंमा सम्पन्न एकता महाधिवेशनबाट लामो समय शक्ति र नेतृत्वमा रहँदै आएका कमल थापालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । त्यसयता थापा नेतृत्वको राप्रपा नेपाल नामक नयाँ पार्टी गठन भयो । 

लिङ्देन झापा–३ बाट निर्वाचित प्रतिनिधि सभा सांसद हुनुहुन्छ । वि.सं. २०६४ मा राप्रपाका केन्द्रीय सदस्य बनेका लिङ्देन २०३९ र २०५४ मा तत्कालीन गोलधाप गाविस–३ बाट दुई पटक वडाध्यक्षमा निर्वाचित हुनुभयो ।

रास्वपामा लामिछाने 

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टीका सभापति रवि लामिछाने चयन हुनुभयो । रास्वपाका महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले काठमाडौंमा बसेको पार्टीको बैठकले सर्वसम्मत सभापति लामिछानेलाई चयन गरेको जानकारी दिनुभयो ।

२०७९ को प्रतिनिधि सभामा पहिलो पटक सहभागी भएको रास्वपा राष्ट्रिय दल बन्न सफल भएको छ । लामिछाने यसअघि चर्चित सञ्चारकर्मीको रुपमा हुनुहुन्थ्यो ।

जनमत पार्टीमा डा. राउत

जनमत पार्टीको संसदीय दलको नेतामा डा. सिके राउत सर्वसम्मत चयन हुनुभएको छ । पहिलो पटक निर्वाचनमा भाग लिएको जनमत पार्टी राष्ट्रिय दल बन्न पनि सफल भयो ।

डा. राउत सप्तरी–२ बाट विजयी प्रतिनिधि सभा सांसद हुनुहुन्छ । सो दलको उपनेतामा अब्दुल खान, प्रमुख सचेतकमा अनिता साह र सचेतकमा विनीता सिंह दनुवार चयन हुनुभएको छ । जनमत पार्टीले सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।