• ८ वैशाख २०८१, शनिबार

होमस्टेको प्रवर्द्धन गर्न महोत्सव

blog

होमस्टेमा आएका पर्यटकलाई स्वागत गरिँदै । तस्बिर : राजेन्द्र थापा

अविनाश चौधरी

धनगढी, पुस ६ गते । कैलालीको धनगढी उपमहानगरपालिका–१६ मा रहेको भादामा होमस्टे महोत्सव आयोजना हुने भएको छ । होमस्टेसहित मौलिक कला, संस्कृति, खानपानको प्रवर्द्धन  गर्ने उद्देश्यले थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिले होमस्टे महोत्सव आयोजना गर्न लागेको हो । महोत्सव पुस १४ देखि १७ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । 

थारु जातिको पहिचानलाई पर्यटन व्यवसायमार्फत राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पु¥याउनको लागि होमस्टे कार्यक्रम एवम् थारु होमस्टे गाउँ भादा महोत्सवको आयोजना गर्न लागेको समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले बताउनुभयो । 

चार दिनसम्म आयोजना हुने महोत्सवको करिब ५५ हजार दर्शकले अवलोकन गर्ने आयोजकले जनाएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति, थारु खानपानका परिकार, थारु सीपकला र भेषभूषा, थारु देउथानको अवलोकन तथा भ्रमण मुख्य आकर्षण रहने आयोजकले जानकारी दिएको छ । 

यसैगरी, थारु सङ्ग्रहालयको अवलोकन, काठे पिङमा रमाइलो महोत्सवको आकर्षणको रुपमा रहेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । नेपाल भ्रमण वर्षको अवसर पारेर २०६७ बाट भादा गाउँमा होमस्टे सुरु गरिएको थियो । सो गाउँमा हाल २० घरमा होमस्टे सञ्चालनमा रहेको जनाइएको छ । 

स्थापनादेखि हालसम्म करिब ३५ हजार पर्यटकले भादा होमस्टेको भ्रमण गरेको समितिले जानकारी दिएको छ । होमस्टेमा बढीभन्दा बढी पर्यटक भित्र्याउनका लागि वडा कार्यालय पनि अग्रसर रहेको वडाध्यक्ष रामलाल चौधरीले बताउनुभयो । ‘‘हामीले पर्यटन प्रवर्द्धन गर्न होमस्टेका लागि बजेटको व्यवस्था पनि गरेका छौं,’’ उहाँले भन्नुभयो ।