• १२ वैशाख २०८१, बुधबार

नेले बजारमा भएको आगलागीमा चार करोड ७२ लाखको क्षति

blog

आगलागी भएको नेले बजार । तस्बिर : गोरखापत्र

सन्तोष राउत

सोलुखुम्बु, पुस ६ गते । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–१ स्थित नेले बजारमा भएको आगलागीमा चार करोड ७२ लाख बराबरको क्षति भएको छ । मङ्गलबार साँझ स्थानीय बुद्धिबहादुर कार्कीको घरबाट विद्युत् सर्ट भइ सुरु भएको आगलागीमा पाँच वटा घर जल्दा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रामकिशोर शाहकाअनुसार आगलागीबाट बुद्धिबहादुर कार्की, रमेश बस्नेत, गणेश बस्नेत र कल्पना बस्नेतको घर पूर्णरुपमा जलेर नष्ट भएको छ भने प्रणय राईको घरमा सामान्य क्षति पुगेको छ ।

आगलागीबाट ढुङ्गामाटोले बनेको र टिनको छानो भएको रमेश बस्नेतको तीनतले घरसहित किराना पसल, मोबाइल पसल पूर्णरुपमा जल्दा एक करोड ५० लाख रुपियाँ बराबरको क्षति भएको हो भने बुद्धिबहादुर कार्कीको ढुङ्गामाटोले बनेको र टिनको छानो भएको तीन तले घरसहित भित्र रहेको होटल जल्दा ८० लाख बराबर रुपियाँ क्षति भएको छ ।

त्यस्तै, गणेश बस्नेतको ढुङ्गामाटोले बनेको टिनको छानो भएको तीनतले घरसहित भित्र रहेको मोबाइल पसल जलेर नष्ट हुँदा एक करोड रुपियाँ र कल्पना बस्नेतको ढुङ्गामाटोले बनेको टिनको छानो भएको तीनतले घरसहित भित्र रहेको फेन्सी पसल र मोबाइल पसल जल्दा एक करोड ४० लाख रुपियाँ बराबरको क्षति भएको प्रहरी निरीक्षक शाहले बताउनुभयो ।

त्यसैगरी प्रणय राईको तीन तले पक्की घरमा सामान्य क्षति पुग्दा दुई लाख रुपियाँ बराबरको नोक्सान भएको छ । साँझ साढे पाँच बजेबाट सुरु भएको आगो सोलुदूधकुण्ड नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीय लगायतको पहलमा राति ८ बजे पूर्ण नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।