• १६ चैत २०८०, शुक्रबार

प्रातः भ्रमण( लघुकथा)

blog

कमरेड चन्द्रकिरणले हामीलाई भूमिगत कालमा अध्यात्मवादमाथि दैनिकझैँ एकचोटि कक्षा लिएरै छाड्थे । उही माक्र्सका अन्यान्य कुरा र ‘धर्म अफिम हो’को चर्चासम्म लगेर कुरा टुङ्याउँथे । टोलमा भएको धार्मिक कार्यक्रमलाई गएर बिथोल्न भन्थे । केही नलागे पुलिस थानामा गुनासो हाल्थे । घोर नास्तिकताको उदाहरणमा सिङ्गै पार्टी पङ्क्तिमै उनी एक मात्र धर्म विरोधी चेतना भएको पदाधिकारीको हकदाबी गर्दथे । समयले धेरैथोक गरेछ कि क्या हो उमेरको नेटो कटेको धरी कमरेडले थाहै पाएनन् । निक्कै कुरामा परिवर्तन भएझैँ, सङ्घीय लोकतन्त्रात्मक गणतन्त्र आएपछि धेरथोर परिवर्तन कमरेडमा पनि आएछ । 

एक दिन प्रातः भ्रमणमा तिनै चन्द्रकिरण कमरेड कमरेडजस्तै लाग्ने मान्छे वर आइसकेर पनि केही बिर्सेझैँ फरक्क फर्के । एकाबिहानै किन मदेखि तर्के यिनी भन्ने सोच्नै नपाई हिँड्ने बाटै छेउको पीपलको बोटमा टाउकोलाई एक, दुई, तीनको गन्ती गनेझैँ छुवाएर अलिकबेर केके भुत्भुताउँदै मै भएतिर आए शुभप्रभात शुभप्रभात भन्दै । मैले पनि शुभप्रभात फर्काएँ फर्काउन त तर निक्कै दिनसम्म तिनै भूमिगतकालका कमरेड चन्द्रकिरण यिनै हुन् त भन्ने टाउकै चक्कराउने प्रश्नको तापले भने अहिलेसम्म डाम्न छाडेको छैन ।  

हेटौँडा–४ हुप्रचौर, चिल्ड्रेनपार्क सडक