• ११ वैशाख २०८१, मङ्गलबार

जनताको विश्वासलाई गुम्न नदिनुहोस् : कांग्रेस महामन्त्री थापा

blog

नेपाली कांग्रेस संसदीय दलको नेताका उम्मेदवार गगनकुमार थापा मतदान स्थलमा । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, पुस ६ गते । नेपाली कांग्रेस संसदीय दलको नेताका उम्मेदवार गगनकुमार थापाले जनताको विश्वासलाई गुम्न नदिनका लागि आफूलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।

बुधबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पार्टी संसदीय दलको नेताका लागि मतदान गर्न पुग्नुभएका महामन्त्री थापाले जनतासमक्ष गरेको पुस्तान्तरणरुपी विश्वासलाई खण्डित नगर्न दलका सांसदहरुसँग आग्रह गर्नुभएको हो ।

उहाँले जनताबाट निर्वाचित भएका सांसदहरुले मतदान गर्नुपूर्व जनताको विश्वासको नासोप्रति जवाफदेही र इमानरी देखाउन आग्रह गर्नुभयो । नेपाली कांग्रेसले देशप्रति गर्नुपर्ने जिम्मेवारी हृदयमा राखेर शान्त चित्तले, कुनै आग्रह, पूर्वाग्रहमा नपरिकन विवेकले मत प्रयोग गर्न आग्रह गर्नुभयो । महामन्त्री थापाले युवाहरुको र पार्टीका सांसदहरुको साथ रहेकाले आफूलाई संसदीय दलको नेतामा छानिने आत्मविश्वास प्रचुर रहेको बताउनुभयो ।

‘‘जनताबाट निर्वाचित भएर आउनुभएको प्रत्येक सांसदले मतदान गर्नुभन्दा पहिला जनताको जुन विश्वासको नासो लिएर आउनुभएको छ, त्योप्रति आफ्नो जवाफदेहिता, इमानदारी देखाउनुहुनेछ । नेपाली कांग्रेसले देशप्रति गर्नुपर्ने जिम्मेवारी हृदयमा राखेर शान्त चित्तले, कुनै आग्रह, पूर्वाग्रहमा नपरिकन विवेकले मत प्रयोग गर्नुहुनेछ ।,’’ महामन्त्री थापाले भन्नुभयो, ‘‘आत्मविश्वास प्रचुर छ । आत्मविश्वासले नै उम्मेदवार बनाएको हो । साथीहरु एक ठाउँमा उभिनुभएको छ, मेरो लागि सबैभन्दा ठूलो कुरा त्यही नै हो । म चुनाव शेरबहादुर देउवासँग लडिरहेको हो, आरजुसँग होइन ।’’

महामन्त्री थापाले कांग्रेस समानुपातिक सांसद आरजु राणा देउवाले प्रधानमन्त्री एवम् संसदीय दलको नेताका उम्मेदवार तथा पार्टी सभापति शेरबहादुर देउवाको जित सुनिश्चित रहेको छ भन्दै हुनुहुन्छ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा संसदीय दलको नेतामा आफ्नो प्रतिस्पर्धी शेरबहादुर देउवा भएको बताउनुभयो ।


कांग्रेस संसदीय दलको नेताका लागि आज ८ बजेबाट मतदान हुने भनिए पनि करिव ४५ मिनेट ढिलो गरेर मतदान सुरु भएको छ । कांग्रेस संसदीय दलको नेताका लागि पार्टीका नवनिर्वाचित ८९ जना सांसदले मतदान गर्नुहुनेछ ।