• १५ चैत २०८०, बिहिबार

सर्वदलीय बैठक आह्वान

blog

मकवानपुर समाचारदाता

हेटौँडा, पुस ६ गते । बागमती प्रदेश सभा सञ्चालनको तयारीका लागि आगामी शुक्रबार सर्वदलीय बैठक आह्वान गरिएको छ। बागमती प्रदेश सभाका सचिव कृष्णहरि खड्काले सभा प्रतिनिधित्व गर्ने सात दलबाट दुई–दुई जना प्रदेश सभा सदस्यको प्रतिनिधित्व रहने गरी सर्वदलीय बैठक बोलाइएको जानकारी दिनुभयो। 

उहाँले सर्वदलीय बैठकले प्रदेश प्रमुखबाट प्रदेश सभाका ज्येष्ठ सदस्यलाई र ज्येष्ठ सदस्यले बाँकी प्रदेश सभाका सदस्यलाई शपथ ग्रहण गराउने मिति र समय तय गर्ने बताउनुभयो। संवैधानिक व्यवस्थाअनुसार प्रदेश सभाका ज्येष्ठ सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउनुपर्दछ। निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को अन्तिम परिणामसहितको प्रतिवेदन बागमती प्रदेशका प्रदेश प्रमुखसमक्ष बुझाइसकेको छ। 

बागमती प्रदेशका प्रदेश प्रमुखसमक्ष निर्वाचन आयोगले बुझाएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को अन्तिम परिणामसहितको प्रतिवेदनअनुसार यस प्रदेश सभाको ज्येष्ठ सदस्य नुवाकोट जिल्लाबाट प्रत्यक्ष प्रणालीतर्फ निर्वाचित नेकपा (माओवादी केन्द्र)का रामप्रसाद ढुङ्गाना हुनुहुन्छ। ७२ वर्षीय ढुङ्गाना नुवाकोटको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को (क)बाट निर्वाचित हुनुभएको हो। नेपाली कांग्रेसबाट समानुपातिक प्रणालीबाट निर्वाचित धादिङका शिवराज अधिकारीको समेत उमेर ७२ वर्ष रहेको छ। यद्यपि जन्म मितिका हिसाबले ढुङ्गाना प्रदेश सभाको ज्येष्ठ सदस्य देखिएको छ। 

निर्वाचन आयोगले प्रदेश प्रमुखको सचिवालयमा पठाएको विवरणअनुसार निर्वाचित प्रदेश सभा सदस्यहरूमध्ये सबैभन्दा बढी उमेरका ढुङ्गानाको जन्ममिति २००६ फागुन २ गते र अधिकारीको जन्ममिति २००७ जेठ २२ गते रहेको छ। प्रदेश सभाका सदस्यहरूको शपथपछि प्रदेश प्रमुखले प्रदेश सभाको प्रथम अधिवेशन आह्वान गर्नु हुनेछ। प्रदेश सभाका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भएको २० दिनभित्रमा प्रदेश प्रमुखले प्रदेश सभाको आह्वान गर्नुपर्ने हुन्छ।

बागमती प्रदेश सभामा ६६ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ४४ जना समानुपातिक प्रणालीबाट गरी ११० प्रदेश सभा सदस्य रहेका छन्। प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र प्रदेश सभामुख र उपसभामुखको प्रदेश सभाका सदस्यमध्येबाट निर्वाचन गर्ने संविधानको धारा १८२ (१) ले व्यवस्थागरेको छ।