• ६ वैशाख २०८१, बिहिबार

नयाँ विमानस्थलमा बुद्धको पहिलो उडान हुने

blog

काठमाडौँ, पुस ६ गते । आगामी पुस १७ गते उद्घाटनको तयारीमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बुद्ध एयरले प्रदर्शन (डेमोन्स्ट्रेसन फ्लाइट) उडान गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पोखराबाट क्षेत्रीय उडान गर्दै आएको बुद्ध एयरले पहिलो प्रदर्शन उडान गर्ने अनुमति पाएको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार बुद्ध एयरको एटीआर ७२ जहाजले बिहीबार प्रदर्शन उडान गर्न लागेको हो । त्यससँगै नयाँ विमानस्थलमा पहिलो उडान गर्ने अवसर बुद्ध एयरले पाउनेछ । बुद्धले पोखराबाट भारतमा पहिलो अन्तर्राष्ट्रिय उडानको समेत अनुमति मागेकाले त्यसबारे भारतसँग अनुमतिको प्रक्रियामा रहेको पनि भुलले जानकारी दिनुभयो । 

यान्त्रिक परीक्षण उडानको पूर्ण प्रतिवेदनका आधारमा विमानस्थलले एरोनटिकल पब्लिकेसन इन्फर्मेसन (एआईपी) सार्वजनिक गर्ने तयारी गरेको छ । एआईपी सार्वजनिक भएको ४२ दिनपछि विमानस्थल व्यावसायिक रूपमा खुला हुने उहाँले बताउनुभयो ।

विमानस्थलको समग्र अवस्थाबारे पूर्ण जानकारी समेटेर सार्वजनिक गरिने उक्त एआईपीकै आधारमा अन्तर्राष्ट्रिय हवाई कम्पनीले आफ्ना जहाज पोखरामा उडान तथा अवतरण गर्न सक्ने–नसक्नेबारे जानकारी पाउनेछन् । 

बुद्ध एयरका मार्केटिङ निर्देशक रूपेश जोशीले काठमाडौँबाट उडेको जहाज हाल सञ्चालनमा रहेको पुरानो विमानस्थलमा अवतरण हुनेछ भने त्यहाँबाट पोखराको आकाशमा एक फन्को लगाउँदै नयाँ विमानस्थलमा अवतरण हुनेछ । व्यावसायिक अन्तर्राष्ट्रिय उडानका लागि भारतसँग मागेको अनुमति प्रक्रियामै रहेको समेत उहाँले जानकारी दिनुभयो । बुद्धले यसअघि नै पोखराबाट भारतका तीन सहरमा उडान गर्ने घोषणा गरिसकेको छ । बुद्ध एयरले पोखरा–वनारस, पोखरा–दिल्ली र पोखरा–देहरादुन उडान गर्ने योजना बनाएको छ । त्यस्तै पोखराबाट धौलागिरिदेखि सगरमाथासम्मको हिमशृङ्खला दृश्यावलोकन उडान तथा काठमाडौँ र अन्य सहरमा समेत आवश्यकताअनुसार दैनिक सिधा उडान गर्ने कम्पनीको तयारी रहेको छ ।