• १६ चैत २०८०, शुक्रबार

बढी भार भएका सवारीलाई कारबाही

blog

तानसेन समाचारदाता

पाल्पा, पुस ६ गते । चुनढुङ्गा बोक्ने टिप्परको ओभरलोड (क्षमताभन्दा बढी भार) नियन्त्रण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले कारबाही अभियान सञ्चालन गरेको छ। 

ओभरलोडका कारण दुर्घटना बढेको र सडकसमेत बिग्रिएको भन्दै ट्राफिक प्रहरीले ओभरलोड नियन्त्रण गर्न अभियान चलाएको हो। जिल्लाका विभिन्न स्थानमा चुनढुङ्गा बोक्ने टिप्परले ओभरलोड बोकेको गुनासोपछि ओभरलोड सामग्री नियन्त्रणमा लिई कारबाही गरिएको छ। ढालामाथि (चुल्याएर) सामान बोक्ने टिप्परमाथि विशेष निगरानी गरेको जनाएको छ।

“चुन, ढुङ्गा ओभरलोड बोक्ने टिप्परलाई विशेष निगरानी गरेर नियन्त्रणमा लिएको र चुन, ढुङ्गा अनलोड गरेर पठाएका छौँ,” पाल्पाका ट्राफिक प्रहरी प्रमुख दामोदर मल्लले भन्नुभयो। ओभरलोड बोकेको ढुङ्गा बाटोमै झारेर मात्र पठाएको मल्लले बताउनुभयो। केही दिनको अवधिमा ढालाभन्दा माथि चुल्याएर चुन, ढुङ्गा बोक्ने ८० बढी टिप्परलाई कारबाही गरिएको छ।