• ७ वैशाख २०८१, शुक्रबार

तनहुँ जलविद्युत्को सुरुङ आधा सम्पन्न

blog

तनहुँ समाचारदाता 

तनहुँ, पुस ६ गते । तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङको (पानी ल्याउने) ५० प्रतिशत काम पूरा भएको छ। कुल एक हजार ४०८ मिटर लामो सुरुङ रहेको छ। सुरुङमार्ग ७०४ मिटर सम्पन्न भएको तनहुँ जलविद्युत् आयोजनाका वरिष्ठ सहायक उद्धव पौडेलले जानकारी दिनुभयो। प्याकेज दुईअन्तर्गत विद्युत्गृह जाने टनेलको भने सबै काम सम्पन्न भइसकेको छ।

करिब १९० मिटरको केबल सुरुङ, २८१ मिटरको मुख्य प्रवेश सुरुङ, ४३७ मिटरको सर्च ट्याङ्क जाने पहुँच सुरुङ र ३१४ मिटरको ड्याम जाने सुरुङ खनेर सकिएको आयोजनाले जनाएको छ।

ऋषिङ गाउँपालिका–१, झापुटारमा निर्माणाधीन १४० मेगावाट यो आयोजनाको निर्माण कार्यलाई तीव्रता दिइएको छ। पानी निस्कने सुरुङको ढलान गर्ने काम भइरहेको आयोजनाका वरिष्ठ सहायक पौडेलले जानकारी दिनुभयो। उक्त प्याकेजको ठेक्का सोङ दा–कालिका जेभीले पाएको छ। आयोजनाको प्याकेज दुईअन्तर्गत सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको छ। 

सिनो हाइड्रोपावर लिमिटेडले ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्यृतगृहको सुरुङ खन्ने काम सम्पन्न गरेको आयोजनाले जनाएको छ। विद्युत्गृहको सुरुङ खन्ने काम सन् २०२० अगस्टदेखि प्रारम्भ भएको थियो।

२०६२ सालमा पहिचान भएको १४० मेगावाट विद्युत् उत्पादन हुने नेपालकै दोस्रो जलाशययुक्त आयोजना हो। आयोजनाको क्षेत्रभित्र ऋषिङ गाउँपालिका १, ६ र ७ गरी तीनवटा वडा, म्याग्दे गाउँपालिकाको १, २, ३, ४, र ५ गरी पाँचवटा वडा, व्यास नगरपालिकाको वडा नं. ५, भिमाद नगरपालिकाको ५ र ६ पर्छन्। आयोजनाको लम्बाइ करिब १८ किलोमिटर र जलाशय क्षेत्र ७२६ वर्ग किलोमिटर रहेको छ। जलाशयको भण्डारण क्षमता २९५.१ मिलियन घनमिटर रहनेछ। 

आयोजनाको बाँधस्थल दमौलीनजिकैको दुले पहरामा १४० मिटर अग्लो र २१५ मिटर लामो कङ्क्रिट बाँध बनाइनेछ। काँहुडाँडाभित्र ११ सय ६२ मिटर लामो सुरुङ मार्गबाटसेती नदीको पानीलाई भूमिगत विद्युत्गृहमा पु-याएर विद्युत् उत्पादन गरिने आयोजनाले जनाएको छ। करिब ५० करोड ५० लाख अमेरिकी डलर लागतका लागि एसियाली विकास बैङ्क (एडीबी)ले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले आठ करोड ५० लाख र नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ।