• ७ वैशाख २०८१, शुक्रबार

न सबै समय, न सबै स्थान

तैपनि फेरिँदै छ राहदानी अनलाइन

blog

काठमाडौँ, पुस ६ गते । राहदानीको आवेदन फाराम अनलाइनबाटै भर्न सकिने सुविधासहित अनलाइन आवेदन सुरु भएको वर्ष नाघेको छ तर २०७८ मङ्सिर १ देखि राहदानी विभागले ल्याएको सुविधा साँच्चिकै अनलाइनका रूपमा कहिल्यै रहेन ।

अनलाइन फाराम भर्ने सुविधा भनेको इन्टरनेटको पहुँचमा रहेको जुनसुकै स्थानबाट जतिबेला पनि फाराम भर्न पाउने व्यवस्था हो तर राहदानी विभागको अनलाइन सुविधा न २४ घण्टा नै उपयोग गर्न पाइन्छ न सबै जिल्लाका लागि एकनासको नै छ । त्यसमाथि प्रतिदिन एक हजार छ सय कोटा तोकिएको छ ।

तोकेको समयमा मात्र अनलाइनको फाराम भर्न सक्ने व्यवस्थाका कारण राहदानी लिन चाहनेले निकै सास्ती भोग्नु प-यो । त्यसैले जिल्लाबाटै विद्युतीय राहदानी दिने व्यवस्थालाई सहज बनाउन विभागले आफ्नो अनलाइन सुविधाको नीति परिवर्तन गरेको छ । पुस ५ गते मङ्गलबारदेखि लागू हुनेगरी अनलाइन फाराम भर्ने समय बिहान ११ बजेबाट परिवर्तन गरेर अपराह्न साढे ३ बजे बनाएको छ ।

विभागमा भीडका कारण जिल्लाको सेवासमेत प्रभावित हुन थालेकाले विभागले नयाँ नीति अपनाएको हो । जसअनुसार विभागले पहिले जिल्लाहरूले सेवा दिएपछि मात्र आफूले अनलाइन सेवा दिने भएको हो तर नवलपरासी, रुपन्देहीलगायतका केही जिल्लामा भने हप्ताको एक दिन मात्र अनलाइन फाराम खुलाइन्छ । 

एकै पटक सबैतिर अनलाइन फाराम खुल्दा सर्भर डाउन भएपछि दूरदराजका कम समय सेवा दिने जिल्लाका सेवाग्राही मर्कामा पर्ने गरेका थिए । स्रोतसाधन र दक्ष जनशक्तिको अभावमा सबै जिल्लाले सेवा प्रभावकारी बनाउन सकिरहेका छैनन् । त्यसमाथि सर्भरको समस्याले जिल्लाका सेवाग्राही काठमाडौँ आएर विभागको अनलाइन सेवाको भर पर्न बाध्य छन् । अनलाइन सुविधाको विश्वव्यापी मर्मअनुसार विभागले सबैतिर एकैपटक सेवाको समय दिए पनि विभागमै भर्नेहरूको लर्को बढी हुने गरेको छ ।  अब विभागले अपराह्न मात्र अनलाइन फाराम भर्ने समय दिएकाले विभागभन्दा जिल्लालाई नै प्राथमिकतामा पर्ने अपेक्षा गरिएको विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवले बताउनुभयो । एकातिर विभागमा बढ्दो भीड, अर्कोतिर जिल्लाको सेवामै प्रभाव परेपछि बाध्य भएर अनलाइन फाराम भर्ने समय नै परिवर्तन गर्नु परेको हो । 

दशैँ, तिहार, छठ, आमनिर्वाचनलगायतका विभिन्न अवसरमा भएको सार्वजनिक बिदापछि विभागमा राहदानी बनाउनेको चाप उच्च भएको हो । विभागका अनुसार उच्च चापका कारण अनलाइन फाराम भर्ने विभागको वेबसाइटमै समस्या बढ्न थालेपछि समय परिवर्तन गर्नुपरेको हो । 

बिहान ११ बजे आसपासमै जिल्ला र इलाका प्रशासन कार्यालयहरूले पनि अनलाइन फाराम खुला गर्ने गरेकाले वेबसाइट नखुल्ने, खुल्न ढिला हुने जस्ता समस्या आएको विभागले जनाएको छ । जसका कारण वेबसाइटले हाइ ट्राफिक भोल्युम भन्ने सूचना बारम्बार दिन थालेपछि विभागले फाराम खुलाउने समय परिवर्तन गरेको हो । विभागका महानिर्देशक यादवले चाहिँ विभागको भार कम गर्नुसँगै जिल्ला र स्थानीय प्रशासनको कामलाई सहज तुल्याउन यसरी समय परिवर्तन गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “देशका सबै स्थानमा एकैपल्ट अनलाइन फाराम खोल्दा वेबसाइटमा भार पर्न थालेपछि न त विभागको काम हुने भयो, न त जिल्लामा नै काम हुने भयो, त्यसैले आलोपालो गरेर खुलाउँदा सबैतिर सहज हुन्छ ।” 

पहिलो दिन अपराह्न फाराम खुलाउँदा विभागले सहज भएको महसुस गरे पनि सेवाग्राहीले सास्ती खेप्नुपरेको गुनासो गरेका छन् । समय पछाडि सारेपछि विभाग परिसरमा भइरहेको ठूलो भीड कम हुँदै जानेमा आफू आशावादी रहेको महानिर्देशक यादवले बताउनुभयो तर दैनिक एक हजार छ सय जनाले मात्र अनलाइन फाराम भरेर अन्तर्वार्ताको मिति लिन पाउने कोटा नियमका कारण विभागमा भीड कम हुने सम्भावना न्यून हुन्छ । 

एकैपटक त्यति सेवाग्राहीले प्रवेश गरेपछि सर्भर अन्यका लागि बन्द हुने गर्छ । दैनिकजसो विभागबाट राहदानी लिनेको सङ्ख्या त्योभन्दा दोब्बर हुने गरेको छ । तथापि दशैँदेखि रोकिएको राहदानी बनाउनेको भीड काठमाडौँमा जम्मा भइसकेकाले मत्थर हुन समय लाग्ने विभागको अनुमान छ ।