• ८ वैशाख २०८१, शनिबार

डा. शेखर प्रस्तावक, धनराज र विश्वको समर्थन

कांग्रेस संसदीय दलको नेतामा गगन थापाको उम्मेदवारी

blog

काठमाडौं, पुस ५ गते । नेपाली कांग्रेसको संसदीय दलको नेतामा महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराउँदै हुनुहुन्छ ।

महामन्त्री थापाको प्रस्तावकमा कांग्रेस नेता डा. शेखर कोइराला तथा समर्थकमा पार्टीका उपसभापति समेत रहनुभएका सांसद धनराज गुरुङ र विश्वप्रकाश शर्मा हुनुहुन्छ ।

कांग्रेस संसदीय दलको निर्वाचन पुस ६ गते बुधबार हुँदैछ । निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।

संसदीय दलको विधानबमोजिम दलको नेता चुनिन ५१ प्रतिशत मत ल्याउनै पर्ने व्यवस्था छ । हाल कांग्रेसबाट निर्वाचित प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ गरी ८९ सांसद छन् ।

कांग्रेसका ८९ जना सांसद नै संसदीय दलको नेताको चुनावमा मतदाता हुन् ।

को हुन् गगन थापा ?

नेपाल विद्यार्थी सङ्घको राजनीतिबाट उहाँ नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा प्रवेश गर्नुभएको हो । नेपाली युवा राजनीतिक नेतामा उच्च छवि बनाउनु भएका थापा कांग्रेसका प्रभावशाली युवा नेतामध्ये एक हुनुहुन्छ ।

उहाँ वि.सं. २०३३ सालमा काठमाडौंमा जन्मनुभएको हो । कक्षा ९ मा पढ्दै गर्दा २०४६ सालको जनआन्दोलनबाट थापाको राजनीतिक क्षेत्रमा सक्रियता बढेको थियो । २०५१ सालमा त्रिचन्द्र स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भएपछि विद्यार्थी राजनीतिको नशाले उहाँलाई झन् आकर्षित गर्‍यो ।

त्रिचन्द्र स्ववियुमा सदस्यसचिव हुँदै उहाँ स्ववियु सभापति बन्नुभयो । २०५५ सालमा स्ववियु सभापति भएपछि नेविसङ्घको केन्द्रीय राजनीतिमा थापाको संलग्नता बढ्नु स्वाभाविक बन्यो ।

नेविसङ्घको उपाध्यक्ष हुँदै महामन्त्री बन्नुभयो । नेपाली कांग्रेसको निर्वाचित केन्द्रीय सदस्य हुँदै उहाँ कांग्रेसको १३ औँ महाधिवेशनमा महामन्त्री पदमा विजयी हुनुभएको हो । उहाँ मङ्सिर ४ मा भएको प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा काठमाडौं क्षेत्र नं.४ बाट विजयी हुनुभएको हो । कांग्रेसमा संसदीय दलको नेतालाई सम्भावित प्रधानमन्त्रीको रूपमा लिने गरिन्छ ।