• ८ वैशाख २०८१, शनिबार

जिन्दगी एक सफर (कथा)

blog

‘किरण पौडेल, यु आर रेस्ट्रिकेटेड ।’ कलेजको डिनले भन्यो । 

कुरा सुनेर मन चसक्क भयो । निधारको बीच भाग खुम्चियो । मुहारको रङ्ग बदलिएर मुटुको गति तेज भयो । पछाडि जोल्ठाएर राखेको हात फुकिएर सिधा भए । डाक्टर बन्ने सपना दुर्घटनामा परेको देखेर शरीर चिसो भएको थियो । 

‘नारा लगाउँदैमा रेस्ट्रिकेट हुन्छ सर ?’ उसले सोध्यो । 

‘तिमीले हाम्रो देशविरुद्ध नारा लगायौ । हाम्रो संविधानको खिलाफ बोल्यौ, जुन मिल्दैन र यो सैनिक कलेज हो । नियमको उल्लङ्घन गर्नेलाई यहाँ कारबाही हुन्छ ।’ 

‘म त बर्बाद हुन्छु सर,’ किरणले हात जोड्दै भन्यो, ‘डाक्टर बन्ने सपना चकनाचुर हुन्छ । एक पटकलाई माफ गरिदिनुस् ।’

‘सबै कुरा नारा लगाउनुअघि सोच्नु पथ्र्याे,’ डिनले भन्यो, ‘अब त निर्णय भइसक्यो ।’

किरण भारतको पुनेस्थित सैनिक कलेजमा चिकित्साविज्ञान पढ्दैथियो । एमबीबीएसको अन्तिम वर्ष थियो । ६ महिना मात्र बाँकी थियो । ऊ विदेशी विद्यार्थीका लागि छुट्याइएको कोटामा पढ्न नेपालबाट आएको थियो । नेपालमा पञ्चायतविरुद्धको आन्दोलन चल्दा बहुदलवादीलाई साथ दिन भारतले नाकाबन्दी गरेको थियो । यही बेला किरणको नेतृत्वमा नेपाली विद्यार्थीले कलेजभित्रै नाराबाजी गरे । कलेजले अन्यलाई नसिहत मात्र दियो तर नेतृत्वकर्ता किरणलाई भने निष्कासन । 

डिनको कार्यकक्षबाट बाहिरिँदा किशोरका पाइला भारी थिए । कलेजको परिसरभित्र बितेको साडे पाँच वर्षमा धेरैचोटि पाइला चल्यो । ती पाइलाको गति आजको जस्तो सुस्त थिएन । पहिले चिकित्सक हुने सपना र जोस् थियो । अहिले कलेजबाट निष्कासित हुँदै गर्दा सोच्नै सकिरहेको थिएन । 

निष्कासित भएको पूरै दिन र रात पूरै उदासीमा बित्यो । भोलि बिहानको घामले उज्यालो अनुभूति गराउन सकेन । चिकित्सक हुने सपना गन्तव्यनजिक पुगेर दुर्घटनामा परेको रेलजस्तै भएको थियो । दुर्घटनाका कारण लामो सफर र सङ्घर्षको औचित्य नभएजस्तै । 

अब उसले चाँडै होस्टल छाड्नुपर्ने थियो । भोलिपल्ट कलेजबाटै घरमा फोन गरेर सबै कुरा सुनायो । 

‘घर आइज पहिले,’ बुवाले नरम आवाजमा भने ‘बाँकी कुरा पछि सोचौँला ।’

‘हुन्छ बुवा,’ किरणले भन्यो, ‘म चाँडै आइपुग्छु ।’

बुवासँग बिदा मागेर सुस्त गतिमा रिसिभर टेलिफोन सेटमाथि खप्ट्यायो । यही टेलिफोन सेटबाट धेरैचोटि घरमा फोन गरेको थियो । तर यति सुस्त गतिमा रिसिभर राख्ने काम कहिल्यै भएको थिएन । ऊ आफ्नो कोठामा फर्किएर सामान मिलाउने काम ग¥यो । 

भोलिपल्ट ऊ एक्लै कलेजबाट बाहिर निस्कियो । उसको बिदाइमा कोही साथीहरू सामेल भएनन् । सबै साथीहरू उसको छेउ आउन डराइरहेका थिए । उसले सोच्ने गथ्र्यो कि कलेजबाट बाहिरिँदा शानादार ढङ्गले बाहिरिनेछ । कलेज छोड्नुअघि कलेजले नै भव्य बिदाइ गर्नेछ । आफूभन्दा जुनियरले तस्बिर खिचाउनेछन् अनि छोड्नलाई रेलवे स्टेसनसम्म जानेछन् । तर यस्तो केही भएन । लडाइँ हारेको सिपाही झैँ एक्लो र निरस भएर कलेजबाट निस्कियो । प्लेटफर्ममा रेल कुर्दा उसलाई डाक्टर बन्ने असफल सपनाले तर्साइरहेको थियो । 

यसपालि घरमा उसको आगमनले बुवाआमालाई सदा झैँ खुसी बनाएन । किरण पनि सधैँ बिदामा आए झैँ रमाउन सकेन । यो स्वाभाविक पनि थियो । बुवा किरणमाथि कारबाही रोक्न सकिन्छ कि भनेर विभिन्न ठाउँमा धाउने र बुझ्ने काम गरिरहेका थिए । बुवा धनकुटा जिल्लाकै पहिलो डाक्टर थिए । यसकारण पनि बुवाको राजनीतिक तथा ठूला कर्मचारीसँग पहुँच थियो । साथै बुवा आफैँले भारतमा पढेकाले त्यता पनि साथीहरू थिए । 

किरण समय कटाउन बगँैचामा टहलिने गथ्र्याे । बगैँचाका फूलहरू नियाल्थ्यो । कहिलेकाहीँ घरको झ्यालमा बसेर टोलाइरहन्थ्यो । एक दिन दिदीसँग बगैँचामा बसेर चिया पिउँदै थियो । दिदी किरणलाई भेट्न विराटनगरबाट आएकी थिइन् । विराटनगरमा क्याम्पस पढाउँने दिदी कडा मिजासकी थिइन् । तर आज किरणको सामु भने नरम भएर बोलिरहेकी थिइन् । सायद उनलाई पीडामा भएको भाइलाई कराउनु हुन्न भन्ने लागेको थियो ।

‘एउटा सपना टुट्दैमा जीवन सकिँदैन ।’ दिदीले किरणको कुममा थुमथुम्याउँदै भनिन्, ‘जीवन आफैँमा सपनाहरूको शृङ्खला हो । एउटा टुटेपछि अर्काे जन्मिन्छ ।’

‘म डाक्टर हुने कुरा सामान्य सपना मात्र हैन दिदी,’ उसले घरलाई घेर्न उभ्याइएको पर्खाल नियाल्दै भन्यो, ‘म त डाक्टर हुन चाहन्थे नै । बुवाआमाको पनि यही सपना थियो । यो कुरामा तिमी पनि त खुसी थियौ ।’

‘हेर् किरण,’ दिदीले सम्झाउँदै भनिन्, ‘सबै यात्राको लक्ष्य गन्तव्यमा पुग्नु हो । तर कहिलेकाहीँ यात्रामा दुर्घटना पनि त हुन्छ । यस्तै दुर्घटना भएको ठान्नु । यस्तो बेला फेरि अर्काे यात्रा तय गर्नुपर्छ ।’

किरणलाई दिदीको कुराले सान्त्वना मिलिरहेको थिएन । उसको चोट यति ठूलो थियो कि तुरुन्तै जाति हुनै कुनै औषधि थिएन । ऊ प्रतिक्रियाहीन भएर चियाको कप पकडिरह्यो । त्यहीबेला गेट खोलिएको आवाज आयो । नियाल्दा गेटबाट बुवा प्रवेश गर्दै थिए । बुवाको मुहार सधैँको भन्दा चम्किलो थियो । 

‘तेरो काम बन्ला जस्तो छ है ।’ बुवाले छेउमै आएर भने । 

बुवाको कुराले ऊ भित्रभित्रै खुसी भइसकेको थियो । ऊसले ठिङ्ग उभिरहेको बुवालाई पाउदेखि शिरसम्म नियाल्यो । दिदीले बुवातिर नजर सोझ्याउँदै सोधिन्, ‘केही च्यानल पत्ता लाग्यो त बुवा ?’

‘उम्,’ बुवाले छेवैको कुर्सीमा बस्दै भने ‘महाराष्ट्रको स्वास्थ्य मन्त्रालयमा, मसँगै एमबीबीएस पढेको साथी छ । उसले त्यहाँको स्वाथ्यमन्त्री र शिक्षमन्त्री दुवैसँग भेटाउँछु भनेको छ ।’

‘मन्त्रीले काम गरिदिन्छ त ?’ दिदीले सोधिन् । 

‘गर्दिन्छ रे ।’ बुवाले भने । 

‘हामी कहिले जाने त इन्ड्या ?’ किरणले उत्साहित हुँदै सोध्यो ।

‘भोलि फोन आउँछ ।’ बुवाले भने ‘त्यसपछि फिक्स्ड हुन्छ । चाँडै नै जानुपर्छ ।

केही दिनमा किरण र बुवा भारतको बम्बाई पुगे । उनीहरू त्यहाँ निर्वाचन नजिकिँदै थियो । राज्यका सबै नेताहरू चुनावी प्रचारप्रसारमा व्यस्त थिए । व्यस्ताको बाबजुद शिक्षा मन्त्रीले समय दियो । मन्त्री निकै भद्र देखिन्थे । कुर्ता पाइजामा लगाएको मन्त्रीले मोटो जुँगा पालेको थियो । घाँटीमा लगाएको रुद्राक्षको मालाअनुसार उनी धार्मिक प्रवृत्तिका थिए । 

‘आफ्नो सबै कुरा सुनाऊ त बाबु ।’ मन्त्रीले किशोरलाई भन्यो । 

मन्त्री सोफामा खुट्टा खापेर बसेका थिए । उनको शरीर सोफामा ढल्किएको थियो । सोफाकै शिरमा बायाँ मन्त्रीको ठीक सामुन्ने किरण बसेको थियो । किरणको दायाँबायाँ बुवा र बुवाका साथी बसिरहेका थिए । 

‘तिम्रो सबै कुरा सुनेँ बाबु, अहिले चुनाव चलिरहेको छ । अबको डेड महिनापछि हाम्रै सरकार बन्छ । त्यसपछि तिम्रो काम हुन्छ ।’

‘तर डेड महिनासम्म ?’ किशोरले भन्यो ।

‘डेड महिना केही हैन बाबु,’ मन्त्री बुढी र माझी औला फट्कार्दै भन्यो, ‘चुट्कीको भरमा बित्छ ।’

मन्त्रीको कुराले किशोरलाई आशावादी बनायो । बाबुछोरा मन्त्रीसँग बिदा मागेर बाहिरिए । बुवाको साथी मन्त्रीसँगै रह्यो । त्यसको भोलिपल्ट उनीहरू नेपाल फर्किए । 

रेडियो नेपालको समाचारबाट महाराष्ट्रको निर्वाचनको परिणाम सुनायो । साँझको समय बैठक कोठामा बजिरहेको फोन आमाले उठाइन् । फोनको रिसिभर टेबलमा राखेर बुवालाई इसारा गरिन् । बुवाले फोनतिर लाग्दै सोधे ‘को हो ?’ 

‘इन्डियाबाट जस्तो छ,’ आमाले बिस्तारै भनिन्, ‘हिन्दीमा बोल्छ ।’

आमाको आँखा उज्यालिएका थिए । कसको फोन र किन आयो भनेर अनुमान लागिसकेको थियो । बुवाले प्रशन्न चित्तमा टेलिफोनको रिसिभर उठाए । तर कुरा गर्दागर्दै बुवाको मुहारको रङ्ग बदलियो । असहज भान्दै बुवाले फोन राखे । 

‘के भो बुवा ?’ किशोरले सोध्यो । 

‘काम गर्दिन्छु भन्ने मन्त्रीले नै चुनाव हारेछ ।’

‘हो र ?’ किरणले सोध्यो । 

‘उम्,’ बुवाले निधार समाउँदै उत्तर दिए ।

‘अब के हुन्छ ?’ आमाले सोधिन् । 

‘खै, मन्त्रीले नै हारेछ ।’

त्यसपछि सन्नाटा छायो । किशोर आफ्नो कोठामा गयो । ओछ्यानमा पल्टियो । रातभरि निदाउन सकेन । त्यसपछिका दिनमा बिस्तारै निन्द्रा पर्न त थाल्यो । तर उदासी कम भएन । ऊ दिनभरी झोक्राएर बस्थ्यो । 

बुवाको अर्काे भारतीय साथीले प्रभाइभेट कलेजबाट परीक्षा लेख्ने व्यवस्था मिलाउने कुरा गरे । यसले फेरि खुसी त ल्यायो । तर यो सम्भावना पनि चाँडै टुङ्गियो । त्यहाँ लाग्ने खर्च किशोरको परिवार जुटाउन सक्ने अवस्था रहेन । 

‘छोरा,’ धेरै प्रयासपछि बुवाले थकित स्वरमा भने ‘अब डाक्टर बन्ने सपना छोड्दे ।’

बुवाको कुरामा किशोरले केही बोलेन । मौन सहमति जनायो । केही दिन आशामा बितेका उसका दिनहरू फेरि उदासीमा ढल्कियो । ऊ घरबाहिर कतै जाँदैन थियो । एक साँझ उसले बुवाआमालाई भन्यो, ‘म घुम्न गएर आउँछु ।’

बुवाआमाको अनुमति पाएपछि ऊ ट्रेकिङमा निस्कियो । गोरखा बजारसम्म गाडीमा अनि दुई भरिया लिएर हिमालतिर लाग्यो । उसले डाक्टर हुने सपना माया मारिसकेको थियो । तर माया मार्दैमा डाक्टर हुन नपाउनुको पीडा कम हुनेवाला थिएन । पीडा भुलाउनका लागि यात्रामा निस्किएको थियो । ऊ सुदूरमा देखिने हिमाल हेर्दै पहाडमा हिँडिरह्यो । हरेक दिन निश्चित यात्रा गर्ने योजना थियो । तर चौथो दिनको यात्रा भने जस्तो भएन, एक भरियालाई ज्वरो आएर ।

‘यो खाऊ, ठीक हुन्छ ।’ उसले बिरामी भरियालाई सिटामोल दिँदै भन्यो । 

‘देउता रिसाएको हो,’ बिरामी भरियाको साथीले भने, ‘यसले के ठीक हँुदो हो ?’

‘तपाईंको साथीलाई ज्वरो आको हो पासाङ, कुनै देउता लागेको हैन ।’ किशोरले भन्यो । 

बिरामी भएको छिरिङ सिटामोल खाएर निदायो । पासाङ निकै बेचैन थियो, साथीलाई के होला भनेर । साँझ परुन्जेल ऊ बेचैन थियो । तर साथीको ज्वरो भएको देखेर ऊ पनि चिन्तारहित भयो । 

‘तपाईं त हाम्रो भगवान् हुनु भो ।’ ज्वरो ठीक भएपछि छिरिङले भन्यो । 

‘भगवान्ले औषधि दिन्छन् त ?’ किशोरले सोध्यो । 

‘त्यसो भने डाक्टर हुनु भो सर,’ छिरिङले भन्यो ।

छिरिङको कुराले किशोर मुस्कुरायो । तर ऊभित्र भने गहिरो पहिरो गयो । आफू कहिल्यै डाक्टर हुन नसक्ने कुराले फेरि पीडा बोध गरायो । 

त्यसपछि उसले छिरिङ र पासाङसँग ६ दिनसम्म यात्रा ग¥यो । यात्रामा किशोरले सुन्दर हिमाल र पहाड मात्र देखेन । त्यसको वरिपरि कठिन जीवन बाँचिरहेका मान्छेहरू भेट्यो । बाटोमा भेटिएका बिरामीलाई आफूले बोकेको औषधि पनि बाँड्दै हिँड्थ्यो । उसका लागि सामान्य औषधि थिए तर उनीहरूका लागि ठूलो काम ग¥यो । पासाङ र छिरिङले आफ्नो चुलीगाउँको कथा पनि सुनाए । अभाव र गरिबीमा बाँचेका चुलीगाउँबासी बिरामी हुँदा धामीझाँक्रीको भर पर्थे । 

‘डाक्टर साप, औषधि लिएर हाम्रो गाउँमा पनि आउनु होला ।’ पासाङले हिँड्दै गर्दा भन्यो । 

त्यसपछि पासाङ र छिरिङ दुवै जनाले यही कुरा दोहो¥याइरहे । दुवैले उनलाई सधैँ डाक्टर नै भनेर सम्बोधन गरे । डाक्टर नभन्नुभन्दा पनि मानेनन् । सुरुमा यो कुराले बिझाए पनि बिस्तारै सुन्ने आदत बस्यो । 

दस दिनमा उनीहरू फेरि गोरखा बजारमै फर्किएर आइपुगे । गोरखा बजारको होटलमा पासाङ र छिरिसँग अन्तिमपल्ट सँगै चिया खायो । चिया खाँदै गर्दा पनि उनीहरूले पुरानै अनुरोध दोहो¥याए, औषधि लिएर गाउँ आउने कुरा । 

किशोरले छुट्ने बेलामा होटलवालासँग कागज र कलम माग्यो । अनि पासाङ र छिरिङको ठेगाना टिप्यो । ठेगाना टिपेको चिर्कटो जतनसाथ वालेटमा राख्यो । 

‘हाम्रो गाउँमा अस्पताल जाने नसक्नेहरू धेरै छन्, तपाईं हेर्न जरुर आउनु होला ।’ छुट्ने बेलामा पासाङले हात जोड्दै भन्यो । 

‘म कोसिस गर्छु ।’ किशोरले हात जोड्दै भन्यो । 

गोरखाको होटलमा किशोरले अबेर रातसम्म बाटोमा देखेका दृश्यहरू सम्झ्यो । पासाङ र छिरिङको बिन्ती कानमा गुन्जिरहे । उसले बाटोमा देखेका पीडाका दृश्यले आफ्नै पीडा भुल्दै गएको थियो । जब दुनियाँमा पीडा भोग्ने म एक्लो छैन भन्ने महसुस हुन्छ, त्यसपछि पीडाबाट राहत मिल्दो रहेछ । 

यात्राबाट फर्केपछि उसले काठमाडौँ बेग्लै पायो । छोराको पीडा कम भएकोमा आमाबुवा पनि खुसी भए । ऊ अब पहिले झैँ घरमै झोक्राएर बस्न छोडेको थियो । 

‘म चुलीगाउँ घुम्न जान्छु ।’ किशोरले आमाबुवासँग भन्यो, ‘यसपालि धेरै औषधि बोकेर जान्छु ।’

चुलीगाउँ पासाङ र छिरिङको गाउँको नाम थियो । उनीहरूको निर्दाेष अनुहार र कलेटी परेको ओठबाट छुटेको मुस्कान अझै पनि किशोरको मस्तिष्कबाट हटेको छैन ।

‘गाउँमा त गाह्रो हुन्छ ।’ आमाले भनिन्, ‘त्यहाँ चिनेका कोही छैनन् ।’

‘पासाङ र छिरिङ छन् नि ।’ किशोरले भन्यो । 

‘चिन्ता नगर, छोरो ठूलो भइसक्यो ।’ बुवाले सम्झाउँदै भने ।

‘ए, छोरा ठूलो पो भइसक्यो,’ आमाले जिस्क्याउँदै भनिन्, ‘मैले कसरी था पाइनछु ?’

आमाको कुरा सुनेर बुवा र किशोर दुवै मुस्कुराए तर केही बोलेनन् । त्यसको दुई महिनापछि किशोर पासाङ र छिरिङको चिलीगाउँ पुग्यो । एक साता ऊ बसेर उसले गाउँ नियाल्यो । गाउँमा अभाव र गरिबी थियो । तर गाउँलेहरू मनका धनी थिए । उसले आफूले लगेको औषधि बाँडेर फर्किदा पूरै गाउँ उठेर उसलाई बिदा ग¥यो । 

कलेजबाट निष्कासन भएको तीन दशक बितिसक्यो । यो अवधिमा किशोर धेरै पटक चुलीगाउँ पुग्यो । त्यहाँ काम गर्नका लागि उसले संस्था नै दर्ता ग¥यो– रिमोट भिलेज हेल्थ केयर । संस्थामार्फत पटक पटक चुलीगाउँमा स्वास्थ्य शिविर लग्यो । भारतमा पढ्दाताकाका डाक्टरहरू पनि किशोरसँगै यो गाउँमा पुगे । 

अब चुलीगाउँमा छिरिङ र पासाङमध्ये पासाङ मात्र जीवित छ । उनीहरू काठमाडौँ आउँदा किशोरलाई नभेटी फर्किंदैन थिए । तर उनीहरूको काठमाडौँ आउने काम चाहिँ बिरलै हुन्छ । 

‘पासाङ दाइ, म लाग्छु अब ।’ किशोरले चुलीगाउँबाट झर्दै गर्दा पासाङको घरअघि उभिँदै भन्यो । 

‘म त बाँच्दिनँ कि ?’ साठी वर्ष काटेको पासाङले भन्यो, ‘तर तपाईं चाहिँ आउँदै गर्नु ।’

‘त्यस्तो कुरा गर्ने हो ?’ किशोरले भन्यो, ‘यति चाँडै कहाँ मरिन्छ ?’

‘के भन्न सकिन्छ र ?’ पासाङले किशोरको छेउ आउँदै भन्यो, ‘तर तपाईं चाहिँ आउँदै गर्नु । जे भए पनि हाम्रो डाक्टर तपार्इं नै हो ।’

किशोरले यहाँको गोरेटोमा चुलीगाउँबासीको डाक्टर भएर धेरैचोटि उकाली ओराली गरेको छ । आज पनि पासाङसँग बिदा भएर ओह्रालो झ¥यो । तल उनका साथीहरूले पर्खिरहेका थिए । 

‘चुलीगाउँको डाक्टरसाप,’ पर्खिरहेको एक 

डाक्टर साथीले किशोरलाई जिस्क्याउँछ ‘काठमाडौँ जाने हैन त ?’

‘अघि त बढ्नु नै छ साथी,’ किशोरले ठट्टाको भावमा भन्यो, ‘जानु त प¥यो नै ।’ 

त्यसपछि किशोर ओरालो झर्न थाल्यो । अडेस लागेर बसेका साथीहरू उठे अनि किशोरसँगै झर्न थाले ।