• १२ वैशाख २०८१, बुधबार

गमगढी–सोरुकोट सडक दुई महिनापछि सञ्चालन, बिरामीलाई सहज

blog

सडक सञ्चालनमा आएपछि सदरमुकाम गमगढीमा आउजाउ गर्न सहज तस्बिर: हरिकृष्ण ऐडी

हरिकृष्ण  ऐडी

मुगु, पुस ५ गते । गमगढी–सोरुकोट सडक झन्डै २ महिनापछि सञ्चालनमा आएको छ ।   २०७९ असोजको तेस्रो  सातामा  परेको भीषण वर्षासँगै विभिन्न ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । सोरु गाउँपालिकाको पहलमा डोजर लगाएर सडकमा खसेको पहिरो र ढुङ्गा पन्छाएपछि सडक सुचारु भएको हो ।

लामो समयसम्म सडक बन्द हुँदा सोरु गाउँपालिकाका स्थानीयलाई दैनिक उपभोग्य वस्तु ढुवानी गर्न र जिल्ला अस्पताल  गमगढीमा बिरामीलाई  आउजाउ गर्न निकै  कठिनाइ भएको थियो । सडक खुलेपछि दैनिक झन्डै एक दर्जनौँ गाडी सदरमुकाम आउजाउ गर्न थालेका छन् । सडक खुलेपछि बिरामीलाई सोरुकोट–गमगढी  आउजाउ गर्न सहज भएको सोरु गाउँपालिका–५ की खुम्मेनी रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गत असोज तेस्रो हप्तामा अविरल  बर्सातका कारणले सोरु– गमगढी  लोकमार्गमा बाडी पहिरो र ढुङ्गाले अवरोध भएपछि उपचारका लागि बिरामीलाई जिल्ला अस्पताल गमगढीमा उपचार गर्न  लैजान सारै असहज भएको थियो, अहिले सडक खुलेपछि सहज भएको छ ।’

सोरु– गमगढी लोक मार्ग खुलेपछि ‘अब खाद्यवस्तु लैजान सजिलो भएको छ,’ सोरु गाउँ पालिकाको सोरु कोटमा व्यवसाय गर्दै आएका कृष्ण बमले भन्नुभयो । उहाँले भन्नुभयो  ‘गाउँको कृषि उपज पनि सदरमुकाम र जिल्लाबाहिर जान थालेको छ ।’ उहाँका अनुसार सडक खुलेपछि सुर्खेत र नेपालगन्जका व्यापारी सोरु गाउँपालिकाका विभिन्न गाउँमा आएर सिमी, कोदो, फापरलगायत स्थानीय उत्पादन खरिद गर्न थालेका छन् ।

करिब २ महिनासम्म सडक अवरुद्ध हुँदा सोरु गाउँ पालिकामा विकास निर्माणमा प्रयोग हुने गैर स्थानीय सामग्रीहरू  सिमेन्ट, फलामे रड, पाइपलगायत निर्माणका  सामग्री ढुवानी गर्न समस्या भएको थियो सडक सञ्चालन भएपछि गाउँपालिकाभरिको विकास–निर्माणको काम सुचारु भएको सोरु गाउँपालिका वडा नं – ४ का स्थानीय  दानबहादुर बमले बताउनुभयो । 

झन्डै दुई साता डोजर लगाएर पहिरोले तहसनहस बनेको गमगढी–सोरुकोट सडक खुलाउन सफल भएको गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार गाउँ पालिकाको निर्णय अनुसार  अवरूद्ध सडकलाई कात्तिकको दोस्रो साताबाट सडक सञ्चालनमा ल्याउने गाउँपालिकाको  आन्तरिक निर्णय भए तापनि प्रतिनिधिसभा र प्रदेशसभाको  निर्वाचनको तयारीका कारणले  सडक समयमै  खुलाउन केही ढिलाइ भएको हो ।

शाहीले भन्नुभयो गमगढी–सोरुकोट सडक खण्ड स्तरोन्नति गरी कालोपत्रे गर्न प्रदेश र सङ्घीय सरकारसँग पहल गरिरहेको छु ।