• १५ चैत २०८०, बिहिबार

योजनाको सम्झौता गर्न सदरमुकाम

दुई सातादेखि समितिका सदस्य अलपत्र

blog

शैलेन्द्र रोकाया 

बझाङ, पुस ५ गते । साइपाल गाउँपालिका–२ की भाना बोहरा एक वर्षको दुधेबालक च्यापेर तीन दिनको पैदल हिँडाइपछि बझाङ सदरमुकाम चैनपुरमा आइपुग्नुभएको छ, जहाँ साइपाल गाउँपालिकाको सम्पर्क कार्यालय छ। दुधेबालक लिएर बोहरा आउनुको कारण हो, योजना सम्झौता। यद्यपि सदरमुकाम चैनपुर आएको १२ दिन बितिसक्दा पनि योजनाको सम्झौता हुनसकेको छैन।

साइपाल गाउँपालिका–२, काँकरकोट खानेपानी योजनाको उपभोक्ता समितिको कोषाध्यक्ष बोहराले भन्नुभयो, “गाउँमा सिंहदरबार आएको भनिएको थियो, हामी त सदरमुकाम धाइरहेका छौँ।”

साइपाल गाउँपालिकाको काँकरकोट खानेपानी योजना, धुली खानेपानी योजना र जिमा विद्युत् नहर निर्माण उपभोक्ता समितिको पनि दुई सातासम्म सम्झौता हुन सकेको छैन। गाउँपालिकाले खास गतिलो कारण नदेखाएर आनाकानीका गरेकाले ती योजनाको सम्झौता हुन नसकेको उपभोक्ताको भनाइ छ । 

साइपाल गाउँपालिका निक्कै दुर्गम हिमाली क्षेत्रमा भएकाले सो पालिकाको सम्पर्क कार्यालय जयपृथ्वी नगरपालिकामा पर्ने बझाङ सदरमुकामको चैनपुरमा खोलिएको छ। आर्थिक वर्ष २०७९/८० को बजेटमा सङ्घीय सरकारले साइपाल गाउँपालिका वडा नम्बर १ र ४ मा खानेपानी योजना निर्माणमा लागि विशेष अनुदानमार्फत ५०÷५० लाख बजेट विनियोजन गरेको थियो । 

सुदूरपश्चिम प्रदेश सरकारले समेत सोही गाउँपालिका–१ को जिमा विद्युत् नहर निर्माणका लागि विशेष अनुदानमार्फत २५ लाख बजेट विनियोजन गरेको थियो। साइपाल गाउँपालिकाले समेत केही समयअघि कार्यपालिकाको बैठक बसेर सबै वडालाई सबै योजनाको उपभोक्ता समिति गठन गरेर कार्य अघि बढाउन भन्दै निर्णय पारित गरेर सबै वडामा पत्राचार गरेको थियो । 

गाउँपालिकाको जानकारीका आधारमा आफ्नो रोहवरमा स्थानीय बासिन्दाको आम भेलाबाट धुली खानेपानी योजना निर्माण गर्नका लागि उपभोक्ता समिति गठन गरेको साइपाल–४ का वडाध्यक्ष जयसिंह रोकायाले बताउनुभयो।  

कार्यपालिकाले निर्णय गरेपछि सम्बन्धित निर्माण स्थलमा खानेपानी योजनाको उपभोक्ता समिति गठन गरेर सम्झौता गर्नका लागि धुलीबाट उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षसहित तीन दिनको पैदल यात्रा गरेर सदरमुकाम चैनपुरमा रहेको साइपाल गाउँपालिकाको सम्पर्क कार्यालयमा पठाउँदा सम्झौता गर्न गाउँपालिकाले नमानेको समेत उहाँले बताउनुभयो । 

दुई सातादेखि सदरमुकाम चैनपुरमा बसेका स्थानीयलाई सुरुमा गाउँपालिकाले ती योजनाको उपभोक्ता समितिमार्फत गर्न नमिल्ने भन्दै टेन्डर खोल्छौँ भनेर आनाकानी गरेको थियो। त्यसैले स्थानीय उपभोक्ताले गाउँपालिकाले सम्झौता गर्न नमानेपछि गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए। 

जिल्ला समन्वय समितिका संयोजक नरबहादुर बोहराको रोहवरमा प्रमुख जिल्ला अधिकारीसहितका स्थानीयको बैठकले गाउँपालिकामा लगाएको ताला खोल्ने र उपभोक्ताको सम्झौता प्रक्रियालाई अघि बढाउने निर्णय गरेको थियो तर सो निर्णय भएको दुई साता पूरा हुँदा पनि केही निर्वाचित जनप्रतिनिधिको दबाबका कारण कार्यालयका कर्मचारीले अझै सम्झौता गर्न नमानेको स्थानीयको आरोप छ। 

सुरुमा योजनाहरू टेन्डर प्रक्रियाबाट अघि बढाउने, नयाँ नियमावली आएको, उपभोक्ता समितिमार्फत काम गर्न मिल्दैन, उपभोक्ता समितिबाट काम गराउँदा बेरुजु आउने भन्दै झुटो कुरा गरेर आफूलाई झुक्याएको आरोप पनि स्थानीयको छ । 

साइपाल गाउँपालिकाका पूर्वअध्यक्ष राजेन्द्र धामीले भन्नुभयो, “सुरुमा अनेक बाहना बनाइयो, अहिले गाउँमा गएर फेरि अर्को उपभोक्ता समिति गठन गरेर आफ्ना कार्यकर्तालाई समेत राख्नुपर्ने भनेर गाउँपालिकामा रहेका जनप्रतिनिधिको आशय रहेको छ।” 

उहाँले बहानाबाजी गरेर आफ्ना कार्यकर्तालाई समेटेर जानका लागि अहिलेका गाउँपालिका अध्यक्ष, उपाध्यक्षले विवाद सिर्जना गरेको पनि बताउनुभयो। 

यो योजनाको मात्र नभई वडा नम्बर १ को काँकरकोट खानेपानी योजना निर्माणका लागि सङ्घीय सरकारमार्फत नै विशेष अनुदानमार्फत विनियोजित ५० लाख र प्रदेश सरकारबाट जिमा विद्युत् निर्माणका लागि २५ लाखको सम्झौता गर्न नमानेको उपभोक्ता समितिका अध्यक्ष देवेन्द्रबहादुर धामीले बताउनुभयो।

उहाँले भन्नुभयो, “सम्झौता गर्न नमानेपछि तीनवटा योजनाको सम्झौता गर्न चैनपुर पुगेका उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा अन्य उपभोक्ता मिलेर बुधबार सम्पर्क कार्यालयमा ताला लगायौँ।” 

उहाँले भन्नुभयो, “विगतका दिनमा विशेष अनुदान रकमको काम उपभोक्ता समितिमार्फत गर्दै आयौँ। अहिले जनप्रतिनिधि परिवर्तन हुनेबित्तिकै सम्झौता गर्न मान्दैनन्।”

सुरुमा उपभोक्ता समिति गठन गर पनि भन्ने उपभोक्ता समिति गठन गरेर तीन/चार दिनको पैदल यात्रा गरेर चैनपुर पुगेपछि हुँदैन भन्नुले उपभोक्तालाई दुःख दिने गाउँपालिकाको नियत देखिएको उहाँको आरोप छ।

जिमा विद्युत् नहर निर्माण उपभोक्ता समितिकी कोषाध्यक्ष ६१ वर्षीया जोग्यानी कामीले समितिको कामका लागि चैनपुर आएको दुई साता भएको बताउनुभयो। 

उहाँले भन्नुभयो, “सकिनसकी सम्झौताका लागि र खाता खोल्नका लागि चैनपुर पुग्यौँ। यहाँ कसैले हुँदैन भन्छन्। कसैले भैहाल्छ भन्छन्। हुने के हो थाहा छैन।”

उहाँले भन्नुभयो, “होटलमा बसेर अनावश्यक खर्च मात्रै भएको छ। काम गरेर खाने, हाम्रो घरको काम पनि लथालिङ्ग भएको छ।” 

साइपाल गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले उपभोक्ता समिति गठन प्रक्रियामा विवाद आएको र अर्को पक्षले गाउँपालिकामा निवेदन दिएका कारण सम्झौता प्रक्रिया रोकिएको बताउनुभयो । 

गाउँपालिकाका अध्यक्ष दुई सातादेखि काठमाडौँमा रहेका कारण अध्यक्ष आएपछि मात्र कार्यपालिकाको बैठक बसेर निर्णय गरिने उहाँले बताउनुभयो। यस विषयमा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जोशीले बिहीबार सामान्य सहमति भएर ताला खोलिसकेको र उक्त विवाद सम्बन्धित वडाका वडाध्यक्षले नै मिलाउने सहमति भएको बताउनुभयो।