• ७ वैशाख २०८१, शुक्रबार

सुनकोसी तेस्रो निर्माणको बाटो खुल्यो

blog

केदार तिमल्सिना 

बनेपा, पुस ५ गते ।   काभ्रेपलाञ्चोक र रामेछाप जिल्लाको सिमानामा पर्ने सुनकोसी नदीमा निर्माण प्रस्ताव गरिएको सुनकोसी जलाशययुक्त विद्युत् आयोजना निर्माणको बाटो खुलेको छ । विद्युत् विकास विभागले तयार गरेको सम्भाव्यता अध्ययन तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भएसँगै आयोजना निर्माणका लागि बाटो खुलेको हो । 

वन तथा वातावरण मन्त्रालयले विद्युत् विकास विभागले तयार गरेको वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन प्रधानमन्त्री र वन तथा वातावरणमन्त्रीको गत कात्तिक २७ गतेको मन्त्रीस्तरीय निर्णयले स्वीकृत गरेसँगै आयोजना निर्माणको बाटो खुलेको हो । 

विभागका इन्जिनियर सुवास थपलियाले भन्नुभयो, “सुनकोसी तेस्रो जलाशययुक्त विद्युत् आयोजनाको सम्भाव्यता अध्ययन तथा वातावरणीय प्रभाव मूल्याङ्कनको सबै काम सकिएर स्वीकृत भएको छ । सबै अध्ययन स्वीकृत हुनु भनेको लगानीको बाटो खुल्नु पनि हो ।” 

उहाँले आयोजनाको प्राविधिक अध्ययनतर्फ आयोजनाको ड्रइङ डिजाइन, भौगर्भिक सर्भे, टोपोग्राफी सर्भे, योजनाको लागत अनुमान, आर्थिक तथा वित्तीय विश्लेषणका साथै जैविक, सामाजिक अध्ययन गरिएको बताउनुभयो । विभागले तयार गरेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनलाई गत वैशाख महिनामा संशोधनसहित वातावरण मन्त्रालयमा पेस गरेकामा मन्त्रालयले प्रतिवेदन कात्तिक २७ गते स्वीकृत गरेको हो । 

थपलियाले विभागले पेस गरेको वातावरणीय प्रभाव मूल्याङ्कनमा मन्त्रालयले आयोजना निर्माणबाट पूर्ण रूपमा विस्थापित हुने नागरिकको पुनर्बासका लागि प्रस्ताव निर्माण/कार्यान्वयनअगावै पुनर्बास योजना बनाई लागू गर्नुपर्ने सर्त राखेको बताउनुभयो । “आयोजनाबाट प्रभावित परिवार/घरजग्गाधनीले कानुनबमोजिमको पाउनुपर्ने क्षतिपूर्तिको सम्बन्धमा प्रस्तावकले व्यवस्थापन गर्नुपर्ने उल्लेख छ,” थपलियाले भन्नुभयो । 

वातावरणीय प्रभाव मूल्याङ्कनमा आयोजनाको जलाशयमा मत्स्यपालनजस्ता आर्थिक क्रियाकलाप प्रभावित÷विस्थापित बासिन्दाको सहभागितामा सञ्चालन गर्नुपर्ने सर्त राखदिएको छ । आयोजनाको कुल लागत एक खर्ब ६० अर्ब रुपियाँ लाग्ने अध्ययनले देखाएको छ । सुनकोसी तेस्रोको सुरुको अध्ययनले ५३६ मेगावाट विद्युत् उत्पादन हुने देखाए पनि पछिल्लो अध्ययनबाट ६८३ मेगावाट विद्युत् उत्पादन हुने देखाएको छ । आयोजनाको जलाशयको लम्बाइ ४५ किलोमिटर रहने इन्जिनियर थपलियाले बताउनुभयो । 

विभागले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाको सिमाना भएर बग्ने सुनकोसी नदीअन्तर्गत काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९ को सिमाना र रामेछापको खाँडादेवी गाउँपालिका–१, लुभुघाटमा विद्युत् आयोजनाको बाँध र विद्युत्गृह तेमाल गाउँपालिका–९, तित्रेटारमा निर्माण गर्न प्रस्ताव गरेको छ । यस्तै तेमाल गाउँपालिका–९ र रामेछापको खाँडादेवी गाउँपालिका–१, लुभुघाटमा करिब ४८४ मिटर लामो र १६६ मिटर उचाइको बाँध निर्माण गरी ५७० घनमिटर प्रतिसेकेन्ड पानीलाई १.१ किलोमिटर लामो र नौ मिटर व्यास भएको सुरुङबाट तेमाल गाउँपालिका–९, तित्रेटारस्थित विद्युत्गृहमा लगिनेछ भने विद्युत् उत्पादनपछि सो पानीलाई टेलरेसद्वारा पुनः सुनकोसी नदीमा खसालिनेछ । 

आयोजना निर्माण गर्दा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाका करिब एक हजार छ सय घरपरिवार प्रभावित हुने अध्ययनले देखाएको उहाँले बताउनुभयो ।