• १५ चैत २०८०, बिहिबार

प्रदेश सभा गठनले पायो पूर्णता

blog

मकवानपुर समाचारदाता

हेटौँडा, पुस ५ गते । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ को अन्तिम परिणामसहितको प्रतिवेदन बागमती प्रदेशका प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरेसँगै बागमती प्रदेश सभा गठन प्रक्रियाले पूर्णता पाएको छ ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिक प्रणालीबाट निर्वाचित प्रदेश सभा सदस्यको नामावलीसहितको निर्वाचन परिणाम प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष आयोगका सचिव गोकर्णमणि दुवाडीले पेस गरेसँगै औपचारिक रूपमा प्रदेश सभा गठन प्रक्रियाले पूर्णता पाएको हो ।

बागमती प्रदेशबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम निर्वाचित हुने सदस्य सङ्ख्याको दोब्बर सङ्ख्यामा प्रदेश सभा सदस्य रहेको प्रदेश सभा गठन हुने नेपालको संविधानको धारा १७६ मा व्यवस्था गरिएको छ ।

संविधानमा भएको व्यवस्थाअनुसार बागमती प्रदेश सभामा यस प्रदेशमा ६६ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ४४ जना समानुपातिक प्रणालीबाट गरी ११० सदस्य रहेको बागमती प्रदेश सभा गठन हुनेछ । प्रदेश सभाका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भएको २० दिनभित्र प्रदेश प्रमुखले प्रदेश सभा आह्वान गर्नुपर्ने हुन्छ । प्रदेश सभाको सभामुख चयन नभएसम्म प्रदेश सभामा उमेरका हिसाबले ज्येष्ठ सदस्यले प्रदेश सभाको अध्यक्षता गर्ने नेपालको संविधानको धारा १८२ (५)मा व्यवस्था गरिएको छ । ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नुपूर्व प्रदेश प्रमुखबाट शपथ र ज्येष्ठ सदस्यले प्रदेश प्रमुखको उपस्थितिमा अन्य प्रदेश सभा सदस्यलाई शपथ गराउनुपर्ने हुन्छ । 

प्रदेश सभा सचिव हरिकृष्ण खड्काले प्रतिनिधि सभा सदस्यले आफ्नो मातृभाषामा शपथ लिएजस्तै प्रदेश सभा सदस्यले मातृभाषामा शपथ लिनसक्ने व्यवस्था गर्न सकिने बताउनुभयो । उहाँले प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको पहिलो बैठक दलहरूको सर्वदलीय बैठकबाट कार्यसूची तय गरी बस्ने बताउँदै प्रदेश सभाको बैठक सञ्चालनका लागि प्रदेश सभा नियमावली वा कार्य सञ्चालन विधि अहिलेकैलाई निरन्तरता दिने वा परिमार्जन गरी प्रयोगमा ल्याउन सकिन्छ भन्नुभयो ।  

प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र प्रदेश सभामुख र उपसभामुखको प्रदेश सभाका सदस्यहरूमध्येबाट निर्वाचन गर्ने संविधानको धारा १८२ (१) ले व्यवस्था गरेको छ । प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्दा प्रदेश सभामुख वा प्रदेश उपसभामुखमध्ये एक महिला र प्रदेश सभामुख वा प्रदेश उपसभामुख फरक दलको हुनुपर्नेछ । 

प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचनपछि प्रदेश सभामुखले कार्यभार सम्हाल्नुअघि प्रदेश प्रमुखसमक्ष र प्रदेश उपसभामुखले सम्हाल्नुअघि प्रदेश प्रमुखको उपस्थितिमा पद तथा गोपनीयताको शपथ लिनुपर्ने प्रदेश सभा नियमावली २०७४ को पहिलो संशोधनमा व्यवस्था गरिएको छ । यस्तै सभामुखले अधिवेशनको प्रारम्भमा आफू तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न बढीमा पाँच जना प्रदेश सभा सदस्यलाई मनोनीत गर्न सक्ने व्यवस्था प्रदेश सभा नियमावलीमा छ । प्रदेश प्रमुखबाट प्रदेश सभाको अधिवेशन आह्वान गरेको सूचना प्रदेश सभा सचिवले राजपत्रमा प्रकाशित गरी प्रदेश सभाका सदस्यहरूलाई अधिवेशन आह्वान गरेको सूचना दिनुपर्ने हुन्छ । प्रदेश सभा बैठकमा प्रदेश सभाका सदस्यले प्रदेश सभामुखद्वारा निर्धारित क्रम र स्थानमा आसन ग्रहण गर्नुपर्ने हुन्छ । साथै अपाङ्गता भएका सदस्यको हकमा सभामुखले निश्चित स्थान र क्रम तोकी निजका एकसहयोगी व्यक्तिसमेतलाई बस्ने अनुमति दिन सक्नेछ ।