• १३ वैशाख २०८१, बिहिबार

तोरी खेतीप्रति किसान आकर्षित

blog

पाँचथरको फाल्गुनन्द गाउँपालिका–१, स्थित तोरी खेतीको पकेट क्षेत्र नवमीडाँडा र नर्कटेका बारीमा लगाइएको तोरी बाली । तस्बिर: नारायण तुम्बापो

नारायण तुम्बापो

फिदिम, पुस ५ गते । ‘धर्ती राम्रो तोरीको फूलले’ भन्ने नेपाली लोक आहान नै छ । यही उखान चरितार्थ हुने गरी अहिले पूर्वी पहाडी फाट तोरी खेतीले हराभरा भएका छन् । शरद् कालिन बालीको रूपमा खेती गरिने तोरी कतै फुल्दै, फल्दै त कतै पाक्दै गरेको अवस्था छ । 

तोरी खेतीले कृषि पर्यटन प्रवर्द्धन हुने गरि धर्ती राम्रो बनाई दिने मात्र होइन, यसले धेरै स्वस्थवद्र्धक खाने तेलको आपूर्ति गर्न सघाउँछ । नेपालमा मुख्य तेलहन बालीको रूपमा पहाड तथा तराईमा तोरीको खेती गरिन्छ । जस्तै माटोमा पनि सुख्खा मौसमका साथै कम तापक्रम र सिँचाइमा तोरी खेती हुने प्राविधिक बताउँछन् । यसको सम्भाव्यता पूर्वी पहाडमा अधिकतम रहे पनि यसतर्फ किसानको लगाव भने कम मात्रै रहेको पाइन्छ । आफ्नो परिवारको लागि आवश्यक तेलको खाँचो टार्न पुग्ने गरीको थोरै मात्रै किसानले थोरै नै तोरी रोपण गर्ने गरेका पाइन्छ । 


यस क्षेत्रमा हिउँदमा धेरै बाँझो रहने खेतबारीमा तोरी फलाउन सरकारबाट प्रोत्साहन गरिए अधिक लाभ लिन सकिने अवस्था छ । पछिल्लो समय अचाक्ली मूल्यवृद्धिको मार खेप्न थालेका कतिपय किसान खाने तेलमा आत्मनिर्भर हुन तोरी खेतीमा आकर्षित हुन थालेका पाइएको छ । तोरी खेती गरे पर्याप्त भिटामिनको स्रोतको रूपमा हरियो साग र गुन्द्रुक आपूर्तिमा सहयोग पनि पुग्छ । मौरी पालन प्रवर्द्धनमा पनि टेवा पुग्छ । चोटपटक, घाउ–खटिरोका साथै विभिन्न रोगको घरेलु औषधिको रूपमा तोरीको तेल उपयोग गर्ने चलन पनि छ । नेपालबाट खाने तेलको कच्चा पदार्थ आपूर्तिमा ठुलो धनराशि बिदेसिने बताइन्छ । यो रोक्न तोरी खेती प्रवर्द्धनमा सरकारले किसानलाई प्रोत्साहन गरे देशको अर्थतन्त्र मजबुत पार्नमा सहयोग पुग्ने देखिन्छ ।